गुप्ताको लोभ लाग्दो फूलखेती

पाल्पा । तानसेन नगरपालिकाको प्रभासस्थित रक्साहामा गरिएको व्यावसायिक फूलखेतीप्रति यतिवेला सबै लोभिएका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका निवासी राजेशकुमार गुप्ताले नर्सरीमा दुई दर्जनभन्दा बढी फूलको व्यावसायिक उत्पादनले फूलखेतीप्रति लोभिएका छन् । प्लास्टिक घरभित्र रंगी विरंगी फूल फुलिरहेका दृश्यले त्यहाँ पुग्ने लालयित हुन्छन् ।

प्रायः मानिस फूलसँग झुम्मिन रुचाउँछन् । फूल टिपिहाल्ने, त्यसको सुगन्ध लिन मानिस निकै चाहन्छन् । सहरी क्षेत्रमा बढ्दो आवास निर्माणले हरियाली हराउँदै गएको छ । मानिस हरियाली गुमेपछि घरको आसपासका क्षेत्रमा रंगी विरंगी फूल रोपेर सुन्दर बनाउन चाहने कारणले फूलको नर्सरी सबैको आकर्षणको केन्द्रका रूपमा बदलिएको हो ।

फुलिरहेको फूल घर वरपर तथा घरभित्र गमलामा फूल रोपेर हरियाली बनाउनेको संख्या बढ्दो छ । गुप्ताले पाल्पामा उत्पादित फूलखेतीबाट वार्षिक १० देखि १२ लाखसम्म आम्दानी गर्ने बताए ।  वि.सं २०७० मा २० लाख लगानीमा १३ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक फूलखेती सुरु गरेको उनले सुनाए । नर्सरीमा फूलको किनबेच मात्र हुँदैन, फूलखेती अध्ययन भम्रण टोलीसमेत नर्सरीमा टहलिने काम हुन्छ । नर्सरीमा उत्पादित फूल जेरिनियम, पिटोनिया, पेन्जी, सयपत्री, गोदावरी, कुविजा, भर्विना, देनथस, डालिया, लालुपाते, लिलियम, गेजनिया, हंशराज, काउली फूल, सालवियालगायतका दुई दर्जन बढी फूलहरू उत्पादन गरिन्छ ।

यस नर्सरीमा चार जनाले स्थायीरूपमा मासिक पारिश्रमिक पाउँछन् । १० जनाले दैनिक ज्यालादारी रूपमा रोजगारी पाएका गुप्ताको भनाइ छ । फुर्सदको समयमा सुतेर बस्ने महिलाले दिनभर काम पाएपछि घरखर्च जुटाउन समस्या हटेकोे छ । दिनभर काम गरेपछि पैसा सजिलै पाउने भएपछि महिला खुसीका साथ फूलखेतीमा झुम्मिएका हुन् । फूल खेतीबाट प्रशस्त आम्दानी गर्न थालेपछि पैसा कमाउन विदेश पलायन हुनुपर्छ भन्ने मान्यतालाई विस्थापित बनाएको छ । जग्गा भाडामा पाल्पा नर्सरी नामक संस्थाले यस क्षेत्रका फूलखेती गर्नेका लागि बिरुवा उत्पादन गर्ने स्थलमा अध्ययन भम्रणले चहलपहल बढ्दो छ । पाल्पाको हावा पानी राम्रो भएकाले फूल उत्पादन राम्रो हुँदै गएको छ ।

उत्पादित फूलका बिरुवा बुटवलमा संकलन हुँदै आएको छ । बुटवलबाट पाल्पामा उत्पादित फूलका बिरुवा नेपालगञ्ज, पोखरा, काठमाडौंलगायतका स्थानमा माग बढ्दो छ । जिल्लाका भैरवस्थान, तानसेन, रामपुर क्षेत्रमा फूल खपत बढ्दो छ तर, कृषि ज्ञान केन्द्रका अनुसार पाल्पा नर्सरीबाहेक जिल्लाका अन्य क्षेत्रमा व्यावसायिक फूलखेती हुँदैन । कृषि ज्ञान केन्द्र र स्थानीय तहमा फूलखेतीका लागि प्रोत्साहन गर्ने कार्यक्रम छैन । जिल्ला कृषि विकास कार्यालयमा मदनपोखराका नरेन्द्र पाण्डेयले पुष्पखेतीका लागि फर्म दर्ता गरे पनि फूलखेती सञ्चालनमा आउन सकेन ।

कृषि ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले पुष्पखेतीका लागि व्यावसायिक बनाउन सकेको अवस्थामा राम्रो आय आर्जन गर्न सकिने बताए । उनले पुष्पखेतीका लागि दश जनाको समूहमा तालिम सञ्चालन गर्न माग आएमा प्रदेश सरकारसँग कार्यक्रम तथा बजेट माग गरी तालिम सञ्चालन गरिने जानकारी दिए ।

प्रतिक्रिया