पेट्रोलियम पाइपलाइनबाट तत्कालीन लाभ

सम्झौता भएको करिब १६ वर्षपछि नेपाल भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणको काम सम्पन्न भएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म ६९ किलोमिटर लामो पेट्रोलियम पाइपलाइनको परीक्षण सफल भएको छ । गत बुधबार एक हजार लिटर डिजेल प्रवाह गरेर परीक्षण गरिएको हो । नेपाल आयल निगम र भारतीय आयल निगमबीच नेपाल–भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणका लागि ०६० सालमा सम्झौता भएको थियो । तर, निर्माणको काम भने ०७४ सालदेखि मात्रै सुरु भएको हो । दुई वर्षभित्र निर्माण सक्ने लक्ष्यका साथ काम अघि बढे पनि १८ महिनामै काम सम्पन्न हुनु यो आयोजनाको सुखद पक्ष हो । कुल ६९.२ किलोमिटर लामो पाइपलाइनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्छ । उक्त पाइपलाइनमा ३६ लाख लिटर तेल मौज्दात रहन सक्छ  । पाइपलाइनबाट तत्काल प्रतिघन्टा दुई लाख लिटर डिजेल आयात गर्न सकिन्छ ।

मोतिहारी अमलेखगञ्ज क्रस बोर्डर पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न हुनु मुलुकका लागि निकै ठूलो उपलब्धि हो । यसबाट मुलुकलाई ठूलो राहत हुने निश्चितजस्तै छ । पहिलो कुरा त ढुवानी भाडा मात्रै वार्षिक एक अर्ब रुपैयाँ बराबर हुने तथ्यांक नेपाल आयल निगमले निकालेको छ । दोस्रो कुरा, ढुवानीका साधनहरूद्वारा सडकमा हुने क्षति तथा सडक जामको समस्या हट्ने छ । तेस्रो कुरा, एक दुई दिन सडक अवरुद्ध हुँदा पेट्रोलियम पदार्थको हाहाकार हुने अवस्था धेरै हदसम्म टर्नेछ । चौथो कुरा, सामान्य माग राखेर आन्दोलन गर्दा पनि पेट्रोलियम ढुवानी अवरुद्ध पारेर राज्यलाई घुँडा टेकाउने प्रवृत्तिको समूह निस्तेज हुनेछ । पाँचौँ कुरा, पेट्रोलियम चुहावटमा धेरै हदसम्म कमी आउनेछ । तर, समस्या अझै बाँकी नै छन् । विराटनगर, नेपालगञ्जलगायतका क्षेत्रका लागि अमलेखगञ्जबाट ढुवानी गर्नुभन्दा भारतबाटै ढुवानी गर्नु छिटो र सस्तो पर्ने अवस्था छ । अर्थात् प्रदेश २, ३ र गण्डकीबाहेक अरू प्रदेशका लागि त्यति धेरै उपलब्धि दिँदैन । हुन त करिब ७० प्रतिशत पट्रोलियम खपत यी तीनवटा प्रदेशले मात्रै गर्छन् । अब अमलेखगञ्जसम्म आएको उक्त पाइपलाइनलाई कम्तीमा चितवनसम्म विस्तार गर्न ढिलाइ गर्नु हुन्न ।

पेट्रोलियम पाइपलाइन निर्माण हु“दैमा हौसिइहाल्नुपर्ने अवस्था भने छैन । मुलुकको दीर्घकालीन हित तथा आर्थिक विकासका लागि पेट्रोलियम आयातको विकल्प नखोजी सुखै छैन । पेट्रोलियम पदार्थ आयातमा भइरहेको वृद्धि यथावत रहने हो भने मुलुक आर्थिकरूपमा आत्मनिर्भर बन्ने सम्भावना रहन्न । उदाहरणका लागि मुलुकमा वार्षिक एक खर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात हुन्छ । हरेक वर्ष आयातको दर २० प्रतिशतले बढी रहेको छ । पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्य बढ्नासाथ नेपालका अर्थतन्त्र नै संकटमा पर्ने अवस्था छ । यसैगरी, पेट्रोलियम पदार्थको प्रयोगले निम्त्याउने वायुप्रदूषणको समस्या सानो छैन । हामीसँग दुईवटा उत्तम विकल्प छन् । पहिलो विकल्प जलविद्युत् हो । दोस्रो विकल्प सौर्य ऊर्जा हो । यी विकल्पतर्फ जान कत्ति पनि ढिलाइ गर्नु हुन्न । पछिल्ला वर्षहरूमा जलविद्युत् उत्पादन उत्साहजनक रूपमा वृद्धि भइरहेको छ । अबको तीन वर्षभित्र मुलुकमा कम्तीमा तीन हजार र पाँच वर्षभित्र पाँच हजार मेगावाट जलविद्युत् उत्पादन भइसक्ने उर्जा मन्त्रालयको प्रक्षेपण छ । मुलुकमा ८० हजार मेगावाट जलविद्युत् उत्पादन हुन सक्ने क्षमता छ । उत्पादित बिजुली निर्यात गर्नुभन्दा पेट्रोलियम गाडी विस्थापित गरी विद्युतीय गाडी सञ्चालनको अभियान सुरु गर्नुपर्छ । साथै, विद्युतीय रेल निर्माणतर्फ केन्द्रित हुनुपर्छ । यसैगरी, सौर्य ऊर्जा उत्पादनको दृष्टिले पनि नेपालको भूगोल निकै उपयुक्त मानिएको छ । नेपालमा सौर्य ऊर्जाको क्षमता कति हो ? भन्ने कुरा यकिन नभए पनि रूख उम्रन नसक्ने चट्टानी पहाड, घरका छाना तथा नदीका बगरहरूमा सोलार प्यानल राख्ने हो भने पनि १५–२० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया