४ सय ३४ हलिया पुनःस्थापन

दार्चुला । नेपाल सरकारले मुक्त हलिया पुनःस्थापन कार्यक्रमका लागि दार्चुलामा हालसम्म झण्डै पौने नौ करोड बजेट खर्च गरेको छ । आर्थिक वर्ष ०६९-७० देखि हालसम्म पौन नौ करोड बजेट विनियोजन गरी मुक्त हलिया पुनःस्थापना कार्यक्रमतर्फ खर्च भएको जिल्ला मालपोत कार्यालय दार्चुलाले जनाएको छ ।

आर्थिक वर्ष ०७०-०७१ बाटमात्रै कार्यक्रम लागू भए पनि बजेट भने आर्थिक वर्ष ०६९÷०७० विनियोजन गरिएको थियो । दार्चुला जिल्लामा आर्थिक वर्ष ०७०-०७१ देखि मुक्त हलिया पुनःस्थापन कार्यक्रमअन्तर्गत अनुदान दिन सुरु भएको थियो । आर्थिक वर्ष ०६९-०७० मा ५ लाख ६८ हजार ६ सय ६७ रुपैयाँ, आर्थिक वर्ष ०७०-०७१ मा ९५ लाख ६३ हजार ७ सय ५७ रुपैयाँ ८२ पैसा बजेट विनियोजन गरेको थियो ।

यस्तै आर्थिक वर्ष ०७१-०७२ मा ५० लाख ६४ हजार ५ सय ६९ रुपैयाँ ४९ पैसा बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष ०७२-०७३ मा १ करोड ६ लाख ७७ हजार ५ सय ६४ रुपैयाँ, आर्थिक वर्ष ०७३-०७४ मा १ करोड ४ लाख ७९ हजार ७ सय ६३ रुपैयाँ बजेट विनियोजन गरेको जिल्ला मालपोत कार्यालय दार्चुलाका सूचना अधिकारी नरबहादुर ठगुन्नाले बताए । आर्थिक वर्ष ०७४-०७५ मा ३ करोड ६३ हजार ९७ हजार ८ सय ७३ रुपैयाँ, आर्थिक वर्ष २०७५-०७६ मा १ करोड ४९ लाख ९३ हजार ७ सय १३ रुपैयाँ ५० पैसा बजेट विनियोजन गरेको छ ।

यसगरी ७ वर्षसम्मको अवधिमा दार्चुला जिल्लामा उक्त कार्यक्रमका लागि ८ करोड ७७ लाख ४५ हजार ९ सय ७ रुपैयाँ ८१ पैसा बजेट खर्च भएको जिल्ला मालपोत कार्यालयका सूचना अधिकारी नरबहादुर ठगुन्नाले बताए । ७ वर्षसम्म सञ्चालित मुक्त हलिया पुनःस्थापन कार्यक्रम सकिएको छ । नेपाल सरकारले सञ्चालन गरेको मुक्त हलिया पुनःस्थापन कार्यक्रमबाट जिल्लामा रहेका सबै मुक्त हलियाहरू पुनःस्थापन भएपछि कार्यक्रम सम्पन्न भएको जिल्ला मालपोत कार्यालय दार्चुलाका सूचना अधिकारी ठगुन्नाको भनाइ छ ।

०६५ भाद्र २१ गतेदेखि नेपाल सरकारले मुक्त हलिया घोषणा गरी मध्यपश्चिम र सुदुरपश्चिमका विभिन्न १२ जिल्लामा मुक्त हलिया पुनःस्थापन कार्यक्रम गरेको गरिएको थियो । मुक्त हलिया पहिचान कार्यक्रम अन्तर्गत दार्चुला जिल्लाका ४ सय ५९ जना मुक्त हलिया पहिचान भएको जिल्ला मालपोत कार्यालयका सूचना अधिकारी ठगुन्नाले बताए ।

०७०-०७१ बाट सुरु भएको मुक्त हलिया पुनःस्थापन कार्यक्रमअन्तर्गत दिइने अनुदानबाट हालसम्म आर्थिक वर्ष ०७५-०७६ सकिदासम्म ४ सय ३४ जना मुक्त हलियाहरू पुनःस्थापन गरिएको उनले बताए । दार्चुला जिल्लामा मुक्त हलिया पुनःस्थापन कार्यक्रमबाट पुनःस्थापना भएकामध्ये ६१ जनाले जग्गा खरिद तथा घर निर्माण, ३१ जनाले घर निर्माण र ३ सय ४२ जनाले घर मर्मत गरेका छन् ।

पुनःस्थापन लगतको सूचीमा नाम रहेकाहरू २५ जनाको नाम भने पुनःस्थापन लगतबाट नै नाम हटाइएको सूचना अधिकारी ठगुन्नाको भनाइ छ । नाम लगतकट्टा हुनेहरूमा हालसम्म पटक–पटक सूचना जारी गर्दासमेत सम्पर्कमा नआएका, दोहोरो नामावली भएकाहरू, जनता आवास कार्यक्रमबाट अनुदान पाएका र मूल हलिया पति, पत्नी दुवैको मृत्यु भएकाहरू रहेको जिल्ला मालपोत कार्यालयले जनाएको छ ।

जनता आवासबाट अनुदान पाई पुनःस्थापन लगतबाट नामावली लगतकट्टा भएका मुक्त हलियाहरूले पनुस्थापन सुविधा नपाउने भए पनि आगामी दिनमा नेपाल सरकारले मुक्त हलिया लक्षित कार्यक्रमबाट भने लाभ लिन सक्ने सूचना अधिकारी ठगुन्नाको भनाइ छ ।

प्रतिक्रिया