नमुना विद्यालय बनाउन १ अर्ब लाग्ने

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालयले आर्थिक वर्ष ०७५÷७६ मा छनौट गरेको ८४ सामुदायिक विद्यालयको नमुना विकासका लागि करिब १ अर्ब २६ करोड रुपैयाँ आवश्यक पर्ने भएको छ ।

सरकारले विभिन्न ६९ जिल्लाका पालिकाहरूमा सञ्चालित विद्यालयहरूको प्रारम्भिक मूल्यांकनपश्चात छानिएका विद्यालयको विकासलागि सो रकम आवश्यक पर्ने भएको हो । केन्द्रले प्रत्येक विद्यालयलाई १ करोड ५० लाखका दरले रकम विनियोजन गरिने जानकारी दिएको हो ।

केन्द्रले गरेको अध्ययनका आधारमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले ती विद्यालय छनोटको निर्णय गरेका हुन । ०७३ सालबाट सुरु भएको विद्यालय क्षेत्र विकास योजनाको अवधि २०७९ र ८० साल सम्म मुलुकभर एक हजार नमुना विद्यालय विकास गर्ने कार्यक्रम अन्र्तगत चालू आर्थिक वर्षमा १ सय वटा विद्यालय छनोट गर्नु पर्ने थियो ।

सोही योजनाअनुसार गत वर्ष असार १ गते केन्द्रले जारी गरेको सूचनाका आधारमा निवेदन हालेका मध्ये निर्वाचन क्षेत्रगत रूपमा १६ वटा विद्यालय मात्रै छनोट गरिएको थियो । सोही सूचनाका आधारमा निवेदन हालेका र गत चैत ५ गते पुन सुरु गरिएको अर्को प्रक्रियामा सामेल भएका विद्यालयहरूमध्ये बाँकी ८४ विद्यालयलाई छनोट गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका महानिर्देशक बाबुराम पौडेलले आवेदक विद्यालय रहेका जिल्लामा कम्तिमा एक विद्यालय नछुटाउने विधिअनुसार काम गरिएको जानकारी दिए ।

‘शिक्षा विकास तथा समन्वय एकाइबाट प्रारम्भिक मूल्यांकन गरिएकामा अध्ययनबाट स्थानीय तहगतरूपमा उच्चतम अंक प्राप्त गर्ने विद्यालयलाई छनोट गरिएको हो’ पौडेलले भने,’विद्यालय छनोट गर्दा आवेदन परेका जिल्लालाई आधार नमानी स्थानीय तहलाई आधार मानिएको छ,’ । यथासक्य चाँडो रकम विनियोजन गरिने बताउँदै पौडेलले विनियोजित रकम नमुना विद्यालययको अवधारणा, डिपीआर निर्माणमा खर्च हुने जानकारी गराए ।

नमुना विद्यालय विकास एवम् सञ्चालन निर्देशिकाअनुसार नमूना विद्यालय विकासका लागि छनोट प्रक्रियामा आवेदन परेका दोस्रो चरणका जिल्ला तथा विद्यालयहरूमा स्थलगत अनुगमन तथा सत्यापन कार्य पछि विद्यालय छनोट गरिएको हो ।

प्रत्येक पालिकाबाट उच्चतम अंक प्राप्त गर्ने बढीमा २ ओटा विद्यालयको सक्कलै फाइल स्थानीय तहको सिफारिस सहित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउनु पर्नेमा कतिपय पालिकाबाट दुईभन्दा बढी विद्यालय सिफारिस भएकाले एक स्थानीय तहबाट एउटा मात्र आवेदन रहेका विद्यालयलाई छनोटमा प्राथमिकता दिईएको पौडेल बताउँछन् ।

सबै स्थानीय तहमा कम्तिमा एक नमुना विद्यालय पर्ने गरी क्रमशः वितरण गरिने र यस पटक छुटेका विद्यालयलाई आगामी वर्षका कार्यक्रममा सहभागी गराईने केन्द्रले जनाएको छ । यो सहित हालसम्म ३ सय ६ सामुदायिक विद्यालय नमुना विद्यालयका रूपमा छनौट भइसकेका छन् ।

नमुना माध्यमिक विद्यालयको अवधारणाअनुसार छनौटमा परेको विद्यालयको भौतिक संरचना र कक्षा कोठा व्यवस्थापन शिक्षण सिकाइका लागि अनुकूल बनाउन ट्रेनिङ हल, अडिटोरियम हल, संगीत प्रशिक्षण कक्ष, प्रयोगशाला, प्राथमिक उपचार कक्ष र छात्रछात्राका लागि पर्याप्त शौचालयको प्रबन्ध गरिनेछ । शैक्षिक गुणस्तरका लागि आवश्यकताअनुसार विषयगत शिक्षक तथा खेलकुद शिक्षकको व्यवस्था गरिनेछ । साथै, केन्द्रले शैक्षिक प्रविधिको प्रयोग, पेशागत सहयोग र गुणस्तर सुनिश्चितता गर्ने विद्यालयलाई प्रोत्साहन गर्ने बताइएको छ ।

प्रतिक्रिया