शिक्षण अस्पतालमै गरियो कलेजो प्रत्यारोपण

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले कलेजो प्रत्यारोपणमा दोस्रो सफलता पाएको छ । अस्पतालले शुक्रबार कलेजो प्रत्यारोपण गरेर सफलता हासिल गरेको हो ।

टिचिङको दोस्रो प्रत्यारोपणसँगै नेपालमा हालसम्म कलेजो प्रत्यारोपणको संख्या भने ४ पुगेको छ । यसअघि अस्पतालले करिब डेढ महिनाअघि १७ जेठमा ५८ वर्षीय पुरुषमा कलेजोको पहिलो सफल प्रत्यारोपण गरेको थियो । प्रत्यारोपणको ३ हप्तापछि बिरामीलाई स्वस्थ अवस्थामा डिस्चार्ज गरिएको थियो ।

अंग प्रत्यारोपण सर्जन डा. रमेश भण्डारी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्र्मीको टोलीले गरेको यस पटकको प्रत्यारोपणमा पनि सफलता हात पारेको हो । चिकित्सा विज्ञानमा जटिल मानिने कलेजो प्रत्यारोपणमा यसपटक डा. भण्डारी नेतृत्वको टोलीलाई भारतको नयाँदिल्लीस्थित फोर्टिस हस्पिटलका वरिष्ठ सर्जन विवेक बिजको नेतृत्वको टोलीले सहयोग गरेको थियो । प्रत्यारोपण गरिएका बिरामीको नाम गोप्य राखिएको भएपनि उनको उमेर ४४ वर्ष भएको उपचार टोलीको नेतृत्वकर्ता डा. भण्डारीले जानकारी दिए ।

उनलाई २८ वर्षीय ज्वाँईले कलेजो दान गरेका हुन् भने उनीहरू दुबै उपत्यका बाहिरका रहेको पनि डा. भण्डारीले सुनाए । शुक्रबार बिहान ७ बजेबाट सुरु भएको प्रत्यारोपण दिउँसो ३ बजे सकिएका थियो ।

यसअघिको प्रत्यारोपणमा पनि भारतकै एपोलो अस्पतालका विशेषज्ञ चिकित्सकहरूले साथ दिएका थिए । नेपालमा हालसम्म सरकारी र निजी गरी जम्मा ४ वटा अस्पतालले कलेजो प्रत्यारोपणको अनुमति पाएका छन् । जसमध्ये २ वटाले मात्र प्रत्यारोपण गराएका छन् ।

सरकारीस्तरमा भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले दुई बिरामीमा कलेजोको सफल प्रत्यारोपण गराएको थियो । तर, प्रत्यारोपण केन्द्रले यसलाई निरन्तरता दिन भने सकेको छैन । त्रिवि शिक्षणले भने अनुमति पाएको लगभग पाँच महिनाको तयारीपछि प्रत्यारोपण सुरु गरेको थियो । यो डेढ महिनाको बीचमा दुईवटा प्रत्यारोपण गरी सफलता पनि पारेको छ ।

यता दुई निजी अस्पतालले पनि कलेजो प्रत्यारोपणको अनुमति पाइसकेका छन् । दुवै अस्पताल चितवनका हुन् तर उक्त अस्पतालले हालसम्म प्रत्यारोपण सुरु गरेका छ्रैनन् । चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले केही महिनाअघि कलेजो प्रत्यारोपणको अनुमति पाएका हुन् ।

विदेशको तुलनामा नेपालमा एक तिहाइभन्दा पनि कम खर्चमा कलेजो प्रत्यारोपण हुने गरेको छ । विदेशमा प्रत्यारोपण गर्दा ७० लाख रूपैयाँभन्दा बढी खर्च लाग्ने गरेकोमा नेपालमा २० देखि २५ लाखमै प्रत्यारोपण हुन्छ । तर, प्रत्यारोपण अत्यन्त जटिल भएका कारण त्यसका लागि अत्यन्त सम्पन्न पूर्वाधारको आवश्यकताका साथसाथै कानुनी व्यवधान र दातासँग बिरामीको अंगको मेल खानुपर्ने हुँदा प्रत्यारोपणले गति लिन नसकेको विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया