उपन्यासमा शकुनि चर्चा

काठमाडौं । राजेन्द्र थापाद्वारा लिखित उपन्यास ‘शकुनि’ बजारमा आएको छ । महाभारतको विवादास्पद पात्रको विषय समेटेर लेखिएको यो पुस्तकको शुक्रबार कालिकास्थानस्थित सर्वनाम थिएटरमा विमोचन गरियो । कार्यक्रममा उपस्थित लेखक तथा पाठकले दशर्कदीर्घाबाटै यो उपन्यास सार्वजनिक गरेका हुन् ।

उपन्यासलाई मात्र मञ्चमा राखेर गरिएको कार्यक्रममा शरच्चन्द्र वस्ती र राजकुमार बानियाँले पुस्तकमाथि टिप्पणी गरे । भाषाविद् वस्तीले ‘शकुनि’ उपन्यासको जटिल परीक्षामा राजेन्द्र थापा उत्तीर्ण भएको जिकिर गरे । उनले भने, ‘शकुनिका माध्यमबाट वर्तमान युगको चित्रण गर्न सफल उपन्यासले नयाँ प्रश्नहरू जन्म गराएको छ ।’

उनले लामो समयदेखि साहित्य लेखनमा सक्रिय थापाले यस कृतिमार्फत पौराणिक चरित्रलाई उत्खनन् गरेको बताए । यस्तै अर्का वक्ता राजकुमार बानियाँले ‘शकुनि’ आख्यानात्मक तवरमा लेखिए पनि गैरआख्यान स्वाद पाइने विचार व्यक्त गरे । उनले भने, ‘आत्मपरक शैलीमा लेखिएको उपन्यासले विवाद सिर्जना गर्ने आधारहरू छोडेको छ । शकुनि पढेर पाठकले आफैँ निष्कर्ष निकाल्न सक्ने ठाउँ रहेको छ ।’

लेखक थापाले भने सीमान्तकृत विजित पात्रको आँखाबाट उपन्यास लेख्न खोजेकाले आजको समाज र सामाजिक मुद्दालाई शकुनिले उठान गरेको दाबी गरे । उनले दक्षिण एसियामा नै शकुनिको चरित्रलाई बुनेर आख्यान नलेखिएको स्थितिमा आफूले सिंगो उपन्यास लेख्न साहस गरेको जिकिर गरे । यसअघि ‘खेलौना’ र ‘द्रौपदी’ उपन्यास प्रकाशित गरिसकेका थापाको यो तेस्रो उपन्यास हो । गीत र मुक्तकमा विशेष ख्याति कमाएका थापाको ‘फिर्ता चाहियो’ कथासंग्रह प्रकाशित छ । इन्डिगो इन्कले प्रकाशन गरेको उपन्यासको मूल्य ४ सय ४९ रूपैँया रहेको छ ।

प्रतिक्रिया