पुस्तकमा पोखरामा पाइने चरा

चरा क्षेत्रको अध्ययन अनुसन्धानमा लागेका तीन युवाको पोखरा उपत्यकाका चरा ‘बर्डस अफ पोखरा भ्याली’ पुस्तक बजारमा आएको छ । पोखरा पंक्षी समाजका सल्लाहकार हठन चौधरी, अध्यक्ष मनशान्त घिमिरे र सचिव हेमन्त ढकालले पोखरा र आसपासमा आफ्नो लामो समयको चरा अध्ययनलाई समेटेर सचित्र पुस्तक प्रकाशन गरेका हुन् । अंग्रेजी भाषामा लिखित पुस्तक १४० पृष्ठमा समेटिएको छ । पुस्तकमा पोखरा उपत्यकाको नक्सासहित यहाँका मुख्य चरा हेर्न सकिने तालतलैया तथा स्थान विशेषको चर्चा गरिएको छ ।

पुस्तकमा पोखरा आसपासमा ठूलो संख्यामा चरा पाइने स्थानका रूपमा फेवा ताल, रानीवन एवं विश्व शान्ति स्तूप, बेगनास ताल, रूपा ताल, खास्टे, न्युरेनी र गुँदे ताल, दिपाङ ताललाई चित्रित गरिएको छ ।  त्यस्तै, घाचोक गिद्ध रेस्टुरेन्ट, दोभिल्ला, ठूलाखर्क, सराङ्कोट, बनपाले डाँडा र कन्ननी डाँडालाई मुख्य चरा हेर्न सकिने स्थानका रूपमा उल्लेख छ । नौ वटा ताल, जंगल र पहाडी भूगोलका कारण पोखरा उपत्यकाका विभिन्न प्रजातिका चराको वासस्थान र फिरन्ते प्रजातिका चराका लागि अन्यत्र जाने गन्तव्य बिन्दु भएको पुस्तका लेखक एवं पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए ।

‘झण्डै १० वर्षअघिदेखिका चरा क्षेत्रको अध्ययन अनुसन्धानलाई पुस्तकमा समेट्ने प्रयास गरिएको छ,’ उनले भने, ‘चरा क्षेत्रको अध्ययन अनुसन्धानका साथै चरा पर्यटन रूचाउने पर्यटक र गाइड सबैका लागि पुस्तक बहुउपयोगी बन्ने विश्वास लिएका छौँ ।’  नेपालमा हालसम्म ८ सय ८६ प्रजातिका चरा पाइएको तथ्यांक रहेको जानकारी दिँदै उनले पोखरा उपत्यकामा ४ सय ६७ प्रजाति पाइएको जानकारी दिए । विश्वमा नेपालमै मात्रै पाइने चरा काँडे भ्याकुर पोखरा उपत्यकाका विभिन्न स्थानमा सजिलै अवलोकन गर्न सकिने जानकारी दिँदै उनले यस क्षेत्रमा ४२ वटा मांशाहारी प्रजाति भएको बताए ।

रामसारमा सूचीकृत तालमा विभिन्न प्रजातिका चरा पाउने गरिएको बताउँदै उनले पोखरामा पाइने सबै जातका चरालाई पुस्तकमा समेटिएको जानकारी दिए । पुस्तकमा पोखरा आसपासमा रहेका अति संकटापन्न, संकटापन्न र संकटको नजिक रहेका चरा उल्लेख गरिएको छ । जसअनुसार अति संकटापन्नमा देव हाँस, डंगोर गिद्ध, सानु खैरो गिद्ध, सुन गिद्ध, लामो ठुँडे गिद्ध र बगाले बगेडी छन् भने संकटपन्नमा तोप बाज, सेतो गिद्ध, गोमायु र महाचील छन् ।

त्यस्तै, संकटको नजिक रहेका चरामा रणमत्त महाचील, बोक्सी चील, कालीकण्ठे सारस, कैलोटाउके हाँस, लोभीपापी गरूड, वन चाहा, लघु महाचील, जीवाहार महाचील र राग महाचील रहेको उल्लेख गरिएको छ । नेपालमा आउने पर्यटकमध्ये आठ प्रतिशत विदेशी पर्यटक चरा हेर्नकै लागि आउने गरेकामा पाँच प्रतिशत पोखरामा आउने गरेको अध्यक्ष घिमिरेले बताए । ‘विशेष गरी पोखरा उपत्यकामा चरा हेर्नका लागि हिउँदको समय उपयुक्त हो,’ उनले भने, ‘हिउँदको समयमा हिमाली क्षेत्रमा पाइने चरा जाडो छल्नका लागि यहाँ हुँदै तराईसम्म पुग्ने गर्दछन् ।’ साइबेरिया, मंगोलिया, तिब्बतलगायतका स्थानबाट पनि हिउँदको समयमा पोखरा उपत्यका आसपासका चरा आउने गरेको उनले जानकारी दिए ।

चरा पर्यटनप्रति पछिल्ला समयमा आकर्षण बढिरहेको बताउने पुस्तकका अर्का लेखक एवं पोखरा पंक्षी समाजका सचिव हेमन्त ढकालले चरा हेर्न आउने पर्यटकका साथै चरा गाइड पुस्तकबाट धेरै लाभान्वित बन्ने बताए । ‘पुस्तक लामो समयको अध्ययन अनुसन्धानपछि प्रकाशित गरिएको हो,’ उनले भने, ‘पोखरा उपत्यकामा पाइने चराका सम्बन्धमा लेखिएको यो पुस्तक गण्डकी प्रदेशकै पहिलो पुस्तक हो, यसले आगामी दिनमा थप अध्ययन अनुसन्धानलाई पनि विशेष फाइदा पु¥याउने छ ।’


चराको संरक्षण एवं अनुसन्धानमा क्रियाशील पोखरा पंक्षी समाजको सक्रियतामा सन् २०१५ यता प्रत्येक शनिबार पोखरा आसपासका विभिन्न स्थानमा चराको अवलोकन गर्ने अभियान नै सञ्चालन गरिएको छ । हालसम्म २०० भन्दा बढी स्थानमा पुगी त्यहाँ पाइने चराको अवलोकन गरिएको जानकारी दिँदै समाजका अध्यक्ष घिमिरेले यसले चरा र तिनका प्रजाति पहिचानमा महत्वपूर्ण सहयोग पु¥याएको बताए ।

प्रतिक्रिया