एक वर्षमा ९९ ठूला दुर्घटना

बाँके । जिल्लामा प्रत्येक हप्ता सरदर दुई वटा सवारीसाधन ठूला दुर्घटनामा पर्ने गरेका छन् । दुर्घटनामा प्रत्येक हप्ता कम्तिमा एक जनाको मृत्यु अनि तीन जना गम्भीर घाइते हुने गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको रिपोर्ट अनुसार अघिल्लो आर्थिक वर्षमा बाँकेमा ९९ वटा ठूला दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर ६० जनाको मृत्यु भएको छ भने १ सय ७५ जना गम्भीर घाइते र ८६ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीको रिपोर्टमा उल्लेख छ ।

दुर्घटनाका प्रमुख कारणमा चालकको लापरवाही र तीव्र गति रहेको रिपोर्टमा औँल्याइएको छ । ९९ ठूला दुर्घटनामध्ये तीव्र गतिका कारण ३९ वटा, चालकको लापरवाहीका कारण ३९ वटा, ओभरटेक गर्दा सात वटा, मापसे गरेर सवारी साधन चलाउँदा पाँच वटा, खराब सडकका कारण चार वटा, छाडा चौपायाका कारण तीन वटा र यान्त्रिक कारणले दुई वटा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

अघिल्लो आवमा ट्राफिक प्रहरीले ३० हजार ५ सय ६३ सवारीसाधनलाई कारबाही गरेको छ । जसबाट १ करोड ६७ लाख ७८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको पनि ट्राफिक प्रहरीले जनाएको छ । अघिल्लो आवमा मापसे कारबाहीमा १ सय ८९ जना परेका छन् भने १ सय ७७ जना नो हर्नको कारबाहीमा परेका छन् । त्यस्तै ट्राफिक कम्युनिकेसन एप्सको मद्दतमा १ सय २३ सवारीसाधनलाई कारबाही गरिएको छ ।

त्यस्तै सबैभन्दा बढी दुर्घटना साँझ ६ बजेदेखि राति १२ बजेको बीचमा हुने गरेको र त्यसपछि दिउँसो १२ बजेदेखि साँझ ६ बजेको बीचमा हुने गरेको पनि ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीको रिपोर्ट अनुसार ९९ ठूला दुर्घटनामध्ये साँझ ६ बजेदेखि १२ बजेको अवधिमा ४३ वटा र दिउँसो १२ बजेदेखि ६ बजेको बीचमा ३५ वटा भएको छ ।

जिल्लाको ट्राफिक व्यवस्थापनमा देखिएका मुख्या समस्यामा जनशक्तिको कमी, सडक विस्तार नहुनु, वैज्ञानिक स्रोतसाधनको कमी, चालक, तथा यात्रीमा जनचेतनाको कमी, यातायात व्यवसायीमा प्रतिस्पर्धा, राजनीतिक हस्तक्षेप र फितलो कारबाही लगायतलाई औँल्याइएको छ ।

यसै गरी   सुर्खेत जिल्लामा एक वर्षमा सवारी दुर्घटनामा २९ जनाको मृत्यु भएको छ । जसमा २१ पुरुष र आठ जना महिला रहेका छन् ।

आव ०७५÷७६ मा ६५ वटा सवारी साधन दुर्घटना भएका छन् । ती दुर्घटनामा २९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय, सुर्खेतले जनाएको छ । दुर्घटनामा १ सय ८१ जना घाइते भएका छन् । दुर्घटनामा सबैभन्दा धेरै यात्रुबाहक बस परेका छन् । १५ बस, आठ ट्रक, पाँच जिप, २१ मोटरसाइकल,  आठ ट्रयाक्टर र सात ओटा अटोरिक्सा आव ०७५÷७६ मा दुर्घटना भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आव ०७५÷७६ मा डेढ करोडभन्दा बढी राजस्व संकलन भएको जनाएको छ । १ करोड ६४ लाख ५८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ । अघिल्लो आवमा ८७ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । अघिल्ला वर्षहरूको तुलनामा हालसम्मकै धेरै राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले जानकारी दिए ।

प्रतिक्रिया