बिपी कोइराला तथा प्रजातान्त्रिक समाजवाद

आफू प्रधानमन्त्रीका रूपमा मुलुकको कार्यकारी प्रमुख भई सकेपछि उहाँको अध्यक्षतामा बसेको योजना आयोगको बैठकमा नेपाल किसान र मजदुरको देश भएकोले जबसम्म किसान र मजदुरको उत्थान र विकास गर्न सकिँदैन तबसम्म यो मुलुकको विकास र राजनीतिक परिवर्तनले मूर्तता पाउन सक्दैन भन्दै विकासका योजना बनाउँदा तिनै किसान र मजदुरलाई आत्मसात गरेर योजना बनाउन निर्देश गर्नुृृभएको थियो 

दूरदर्शी राजनेता बिपी कोइराला राष्ट्रवादी समाजवादी चिन्तकका रूपमा राजनीतिकवृत्तमा स्थापित नाम हो । विश्व राजनीतिक परिवेशलाई अत्यन्त सूक्ष्मतम् दृष्टिकोणसम्म पुगेर विश्लेषण गर्न सक्ने र त्यसको सान्दर्भिकतालाई नेपालको भू–राजनीतिक धरातलमा विविध आयामसहित स्पष्ट प्रयोग गर्ने खुबी भएका नेताका रूपमा बिपी कोइरालालाई लिन सकिन्छ ।

उहाँमा अन्तरनिहित बहुआयामिक प्रतिभाको सोपानको अलग पाटोको प्रतिनिधित्व साहित्यिक व्यक्तित्व र आख्यान साहित्यमा अलग धारका अग्रज श्रष्टाका रूपमा नेपाली साहित्याकाशमा उच्चमूल्यांकन गरिन्छ । सुम्निमा, तीनघुम्ती, मोदिआइन तथा हिटलर र यहुदीजस्ता औपन्यासिक कृृति तथा जेलजर्नल आत्मवृत्तान्तलगायत उहाँका कीर्तिहरूले राजनीतिक वैचारिकताको आत्मबोध, यौन मनोविज्ञानको विश्लेषण तथा सामाजिक रूपान्तरण र मनोसामाजिक सांस्कृतिक द्वन्द्वलाई वैचारिक धरातलमा सटिक प्रस्तुति गरेको पाइन्छ । जीवन र जगतका मूल्य र मान्यतालाई राजनीतिक विचार र साहित्यिक पक्षबाट उजागर गर्न सक्ने विलक्षणता बिपी कोइरालामा राजनीतिक विचार तथा सिद्धान्त र साहित्यिक सिर्जनाका प्रतिविम्ब बग्रेल्ती देखिन्छन् ।

महामानव बिपी कोइरालालाई नेपाली राजनीतिमा अग्रज समाजवादी चिन्तक तथा पथपर्दशकका रूपमा लिइन्छ । सही मानेमा बिपी विश्व समाजवादी आन्दोलनका अग्रणी व्यक्तित्व हुनुहुन्थ्यो । लोकतान्त्रिक समाजवादको अभ्युत्थानमा बिपीको नेतृत्वदायी भूमिका दक्षिण एसिया तथा सिँगो एसियाका लागि मार्गदर्शक हुन सकेको छ । जसले गर्दा उहाँलाई नेपाली कांग्रेसका अग्रणी नेता तथा जननायकका रूपमा मात्र स्थापित नगरेर समसामयिक विश्व राजनीति र विशेषतः दक्षिण एशियाको अग्रज लोकतान्त्रिक समाजवादी नेताको रूपमा उभ्यायो ।

बिपीले आफ्नो प्रजातान्त्रिक सरकारको नेतृत्वका समयमा कुशल परराष्ट्र नीति अवलम्बन गर्नुभएको थियो । उहाँको कार्यकालमा देशले असंलग्न परराष्ट्र नीतिलाई निर्देशक सिद्धान्तका रूपमा लियो । जसको फलस्वरूप नेपालले दुई ठूला छिमेकी भारत तथा चीनलगायतका विश्वका सबै मित्रराष्ट्रहरूसँग यसै नीतिका आधारमा कुटनीतिक सम्बन्ध स्थापना र विस्तार गर्न सकियो । सगरमाथाको आधिकारिकताका सन्दर्भमा उठान भएको राष्ट्रिय हित प्रवद्र्धनका सवालमा चीनसँग दरो रूझानका साथ सगरमाथा नेपालको भएको तथ्यलाई उहाँले आफ्नो चीन भ्रमणमा समयमा राख्नुभयो र त्यसलाई चीनको सरकारले सहजरूपमा लियो ।

तत्कालीन समयमा एक नियमित पत्रकार भेटघाट कार्यक्रममा बिपी कोइरालाले भन्नुभयो ‘नेपालले सधैँ असंलग्न परराष्ट्र नीतिलाई अपनाउने छ । कतिपय विषयमा नेपालको भारतसित मत भिन्नता रहे पनि तिब्बतका बारेमा नेपाल र भारतको धारणामा फरक छैन । तिब्बत चीनकै एक भाग हो भन्ने कुरालाई नेपालले पनि स्वीकार गरिसकेको छ । (गोरखापत्रः ८ आषाढ २०१६)

शितयुद्धको चरम अवस्थाको विश्व परिवेशमा राजनीतिक घटनाक्रमहरूको विश्लेषण गरिएको खण्डमा विश्व कम्युनिस्ट खेमा र पुँजीवादी खेमामा ध्रुवीकरण भएको अवस्था थियो । तत्कालीन समयमा पुँजीवादी प्रजातान्त्रिक खेमाको नेतृत्व संयुक्त राज्य अमेरिका र साम्यवादी कम्युनिस्ट खेमाको नेतृत्व तात्कालीन साम्यवादी देश सोभियत संघले गरेको थियो ।

त्यस समयमा विश्व राजनीतिक परिवेश यस्तो चरम वैचारिक राजनीतिक ध्रुवीकरणको अवस्थाबाट गुज्रिरहेको थियो कि कुनै पनि राष्ट्र–राज्यले आफ्नो राजनीतिक विचार, आर्थिक नीति तथा विकास र सामरिक सुरक्षाका फरक रणनीति र वैदेशिक नीतिका अलग मान्यता बोकेका विश्वव्यापी दुई खेमाका सदश्यका रूपमा सामरिक सुरक्षा तथा आर्थिक विकास र रूपान्तरणका लागि प्रयत्न गर्नु नितान्त स्वाभाविक र आवश्यक थियो ।

यस्तो विषम तथा अतिसंवेदनशील राजनीतिक कालखण्डबाट गुज्रिरहेको अवस्थामा बिपीले माथिका प्रमुख राजनीतिक तथा वैचारिक गुटभन्दा पृथक पहिचान, राजनीतिक आस्था र सिद्धान्तलाई अनुशरण गरी चरम साम्यवादी कम्युनिस्ट वैचारिकधारा र खुल्ला पुंजिवादी धारभन्दा पृथक विचारको उदार समाजवादी विचारधाराका मुल्य र मान्यतालाई अघि बढाउनुभयो । उदार समाजवादी नीति तथा त्यसै नीतिको जगमा उभिएको आर्थिक विकास र सामाजिक रूपान्तरणका कार्यक्रमलाई बिपीको जनमुखी सरकारले प्राथमिकताका साथ लागू गर्ने कार्यको थालनी पनि गरेको हो ।

जननिर्वाचित बिपी कोइरालाको छोटो समयको सरकारले उहाँकै समाजवादी चिन्तन र नीतिअनुसारको राज्य व्यवस्था सञ्चालन र विकासलाई अघि बढाउन सक्यो । जनताविच बिपीका आर्थिक विकासका नीतिगत कार्यक्रम तथा त्यसैको जगमा उठेको सामाजिक, सांस्कृतिक परिवर्तनका कार्यहरूले नेपालको विकासमा नयाँ बिहानीको सुरुआत गर्न सकेको थियो । तर हठात् रूपमा बिपी कोइरालाको लोकप्रिय जनउत्तरदायी सरकार तत्कालीन राजा महेन्द्रको उच्च महत्वाकांक्षा तथा राजनीतिक शक्तिआर्जन र प्रत्यक्ष प्रयोग गर्ने मनसायले प्रेरित भई २०१७ साल पौष १ को गैरप्रजातान्त्रिक कदमका कारण अवसान गरियो ।

जसको परिणाम स्वरूप दलविहीन चरित्रको निर्दलीय पञ्चायतको नाममा देश पुनः राजनीतिक स्वतन्त्रता शून्य व्यवस्थातर्फ विमुख भयो । बिपीको आदर्श र विचारधारालाई पञ्चायती व्यवस्थाको नाममा निस्तेज तथा तेजोवध गर्ने कार्यले करिब तीन दशकसम्म निरन्तरता पायो । नेपाली कांग्रेसको नेतृत्वमा तथा जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको अगुवाइमा तत्कालीन संयुक्त वाममोर्चाको सहकार्यमा ०४६ सालको ऐतिहासिक जनआन्दोलनपश्चात् देशमा फेरि बहुदलीय व्यवस्थाको पुनस्र्थापना भयो ।

लोकतान्त्रिक समाजवादले आफ्नो वैचारिक आधार खडा गर्ने क्रममा धेरै आरोह अवरोहलाई पार गर्दै आएको छ । लोकतान्त्रिक समाजवाद रूपी नदी प्रवाहमा शनैः शनैः काल्पनिक समाजवाद, वैज्ञानिक समाजवाद, फेवियन समाजवाद तथा विकसित आधुनिक समाजवादजस्ता धारहरू मिसिएका छन् जसको धरातलमा यस विचारधाराको दार्शनिक आधार र स्वरूप निर्माण भएको छ । लोककल्याणकारी राज्यको अवधारणालाई मूर्तता दिने सवालमा समाजवादका विविध मूल्य र सारको फ्युजका रूपमा लोकतान्त्रिक समाजवादलाई लिन सकिन्छ ।

पाश्चात्य जगतका समकालिक चिन्तक सेन्ट साइमन, चाल्र्स फोरियर तथा बेलायती समाजवादी चिन्तक रोबर्ट ओवेनले सर्वहारा वर्गको उन्मुिक्त र उत्थानका लागि पुँजीपति वर्ग र श्रमिक वर्गका बीचमा हितको संरक्षण हुनसक्ने वैचारिक आधार प्रस्तुत गरे, जसलाई कुनै न कुनै रूपमा माक्र्स र एंगेल्सले आफ्नो कम्युनिस्ट विचार र माक्र्सवादी चिन्तनका वैचारिक बहस चलाएका थिए । लोकतान्त्रिक समाजवादको सारभूत महत्वपूर्ण पक्ष वर्गसमन्वयको आधार यिनै समाजवादी चिन्तक तथा दार्शनिकहरूले तयार गरेका हुन् ।

वर्ग समन्वय तथा उदार आर्थिक विकासका आयामलाई महत्व दिएर लोकतान्त्रिक समाजवादले तेस्रो विश्वका अति कम विकसित तथा विकासोन्मुख देशमा राजनीतिक व्यवस्थाको आधार र समग्र आर्थिक सामाजिक रूपान्तरणका लागि नविन विचारधाराका रूपमा काम ग¥यो । यस दिशामा नेपालको समूल आर्थिक राजनीतिक इतिहासको विश्लेषण गरिएको खण्डमा उदार समाजवादी विचारका नीति तथा कार्यक्रमले नेपाली जनताको आर्थिक उत्थान, सामाजिक रूपान्तरण तथा विकासका लागि कुनै न कुनै रूपमा योगदान दिई आएको छ , जसलाई कसैले पनि नजरअन्दाज गर्न सकिँदैन ।

यसै सन्दर्भमा विश्वका लोकतान्त्रिक समाजवादी विचार र सिद्धान्त अंगिकार गर्ने विभिन्न मुलुकका राजनीतिक दल तथा संगठनहरूले सोसलिस्ट इन्टरनेसनलको स्थापना गरे र नेपाली कांग्रेस पार्टीले पनि यसको सक्रिय सदस्यका रूपमा सोसलिस्ट इन्टरनेसनलमा आफ्नो पहिचान र भूमिकालाई अघि बढाउँदै लग्यो । तत्कालीन समयमा बिपीले नेपाली काँग्रेस पार्टीको सभापति तथा नेताका रूपमा यस अन्तर्राष्ट्रिय संगठनमा आफ्नो नेतृत्वदायी क्षमता र विशिष्ट कार्यशैलीको पहिचान दिनसक्नु भएको थियो ।

विश्व व्यवस्थामा देखिएको चरम गुटबन्दी तथा अलग राजनीतिक वैचारिक प्रभावबाट पृथक् पहिचान दिने उदार समाजवादी विचार बोक्ने यस अन्तर्राष्ट्रिय मञ्च सोसलिस्ट इन्टरनेसनलको संस्थागत विकासमा बिपीको महत्वपूर्ण भूमिका रह्यो । नेपाली कांग्रेसले यस अन्तर्राष्ट्रिय संस्थामा आफ्नो सहभागिता र भूमिकालाई निरन्तरता दिँदै आएको छ । तर मुलभूत कुरा लोकतान्त्रिक समाजवादी चिन्तनधारा र विचारलाई व्यवहारको कसीमा कत्तिको तिखार्न सकिएको छ र लोकतान्त्रिक समाजवादी सिद्धान्तको सान्दर्भिकतालाई आत्मसात् गर्ने दिशामा कत्ति कार्य भए यस्ता कुराले अहं महत्व राख्दछ ।

आफू प्रधानमन्त्रीका रूपमा मुलुकको कार्यकारी प्रमुख भई सकेपछि उहाँको अध्यक्षतामा बसेको योजना आयोगको बैठकमा नेपाल किसान र मजदुरको देश भएकोले जबसम्म किसान र मजदुरको उत्थान र विकास गर्न सकिँदैन तबसम्म यो मुलुकको विकास र राजनीतिक परिवर्तनले मूर्तता पाउन सक्दैन भन्दै विकासका योजना बनाउँदा तिनै किसान र मजदुरलाई आत्मसात गरेर योजना बनाउन निर्देश गर्नुृृभएको थियो । बिपी कोइरालाले अघि सार्नुभएको वैचारिक मान्यता आजपर्यन्त पनि समय सान्दर्भिक छ ।

आजको समसामयिक परिवेशमा विकास, परिवर्तन तथा राजनीतिक स्थायित्वका लागि बिपीले आजभन्दा ६ दशकअघि प्रतिपादन गर्नुभएको लोकतान्त्रिक समाजवादी आर्थिक नीतिको अनुप्राणिकता सान्दर्भिक रहेको विश्लेषण गर्न सकिन्छ । वर्तमान केपी ओली नेतृत्वको सरकारले पनि समाजवाद उन्मुख आर्थिक विकासको खाका अघि बढाएको सन्दर्भमा नेपालको समृद्धि र विकासका लागि अचुक अस्त्र भनेकै गरिबी, असमानता तथा विकासका अवसरबाट वञ्चित जनताको आर्थिक विकास तथा सामाजिक रूपान्तरण हो, जसमा लोकतान्त्रिक सरकारले ध्यान दिनुपर्दछ ।

प्रतिक्रिया