युनाइटेड आगामी सिजनमा उत्कृष्ट हुनेछ

एजेन्सी, म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्कसाएरले प्रिमियर लिगको आउँदो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् । बिबिसीसँग कुरा गर्दै उनले सुरुदेखिनै आउँदो सिजन आफूले हेर्ने भएकाले पनि आफू खेलाडीको प्रदर्शनमा विश्वस्त रहेको बताए । गत सिजनको बीचमा गुनर आएका थिए ।

क्लबको खराब प्रदर्शन कायमै रहेपछि तत्कालीन प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गर्दै गुनरलाई गएको डिसेम्बर १९ मा कार्यबहाक प्रशिक्षक बनाइएको थियो । गएको २८ मार्चमा स्थायीरूपमा प्रशिक्षक बनेका गुनरले पछिल्लो सिजनमा १९ मध्ये १४ खेल जितेका थिए । म्यानचेस्टर युनाइटेड गएको सिजनमा छैटौँ हुँदै लिग टुंग्याएको थियो । जसका कारण च्याम्पियन्स लिग खेल्नबाट भने बञ्चित हुन पुग्यो ।

बिबिसीसँगको कुराकानीमा गुनरले आउँदो सिजनका लागि एलेक्सिस सान्चेज, पउल पोग्बा युनाइटेडका महत्वपूर्ण खेलाडी हुने विश्वास पनि व्यक्त गरे । उनले आफूले आउँदो लिगमा टप फोरमा पर्ने लक्ष्य दिएको बताउँदै यसका लागि खेलाडीहरूको प्रदर्शनमा भर पर्ने पनि बताए । तर उनले खेलाडीको प्रदर्शनमा शंका गर्ने ठाउँ नभएको भन्दै उनीहरूबाट आफूले र क्लबले ठूलो आशा गरेको पनि उल्लेख गरे ।

प्रतिक्रिया