विकराल समस्या बन्दै विषादी तरकारी र फलफूल

तरकारी र फलफूलको गुणस्तर परीक्षण नगरी खाँदा नागरिकको स्वास्थ्य जोखिममा पर्ने चिन्ता चिकित्सकले गरेका छन् । विषादीयुक्त सागसब्जी र फलफूल निर्वाधरूपमा आयात गर्न दिने निर्णय जनस्वास्थ्यको दृष्टिले अपराधजन्य भएको उनीहरूको दाबी छ । वरिष्ठ छाती रोग विशेषज्ञ डा. केदाननरसिंह केसीले भने, ‘रासायनिक विषादी राखिएको तरकारी एवं फलफूल सेवन गर्दा छाती र टाउको दुख्ने, जिउ चिलाउने, वान्ता हुने, दिशा लागिरहनेलगायतका समस्या देखिन्छन् । लामो समयसम्म विषादीयुक्त तरकारीको सेवनले मुटु, फोक्सो, मिर्गौलालगायत संवेदनशील अंगमा क्षति पुग्नेछ । हृदयघात, मिर्गौला फेल र क्यान्सर हुनुमा विषादीयुक्त तरकारी र फलफूल सेवन पनि हो । विषादीको जाँच नगर्नु स्वास्थ्यका दृष्टिले जघन्य अपराध हो ।’

छाती रोग विशेषज्ञ डा.कवीरनाथ योगीले भने, ‘मुलुकमा विषादी परीक्षण गर्ने विश्वसनीय संयन्त्र छैन । त्यसैले जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने खाद्यवस्तुको निर्वाध बेचविखन भइरहेको छ । एउटा लेबलभन्दा बढी विषादीको प्रयोग भएको छ भने स्वास्थ्यमा असर गर्छ । यसले युवा अवस्थामै कपाल फुल्ने, रक्तचाप र हर्मोनसम्बन्धी समस्या देखिएको छ । विकसित मुलुकले ५० वर्षअघि प्रयोग गरेको कीटनाशक औषधि अहिले नेपाल र भारतमा प्रयोग भइरहेको छ । स्वास्थ्यमा असर परेको पुष्टि भएपछि विकसित देशहरूले विषादी प्रयोग बन्द गरिसके । हामी भने प्रयोग गरिरहेका छौँ ।’

नेपाल चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले भने– ‘सरकारको निर्णयले जनस्वास्थ्यमा खेलवाड भएको छ । विषादीयुक्त तरकारी एवं फलफूल सेवनले तत्काल पेटको समस्या देखिएपछि कलेजो, मुटु, मिर्गौलामा पनि असर पर्नेछ । विषादीको मात्रा र अवस्थाको जाँच नै नगरिएका फलफूल र तरकारी खाँदा पर्ने असरबारे संघले जनतालाई सु–सूचित गराउने छ ।’

०७१ असार ४ गते नेपालमा पहिलोपटक तरकारीमा विषादी परीक्षण गरिएको थियो । त्यतिवेला आयातीत तरकारीमध्ये ४ प्रतिशतमा खानै नहुनेखालको विषादी प्रयोग भएको पाइएको थियो । कृषि विभागका अनुसार नेपालमा बर्सेनि साढे ६ सय मेट्रिक टन विषादी भित्रिन्छ । सरकारले असार २ गते निर्णय गरी ३ गतेको राजपत्रमा सूचना प्रकाशित गरेर भन्सार विन्दुमा ताजा तरकारी र फलफूल अनिवार्यरूपमा परीक्षण गरी नेपाल भित्र्याउने व्यवस्था गरेको थियो । लगत्तै भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर चासो व्यक्त गर्यो ।

दूतावासले पत्राचार गरी तरकारी र फलफूलको पुनः परीक्षण प्रक्रिया सुरु गरी नेपालले अवरोध गरेको र यसले गर्दा व्यापारमा प्रतिकूल असर पुगेको चासो व्यक्त गरेको थियो । दूतावासले अन्तर्राष्ट्रिय वनस्पति संरक्षण महासन्धीको फाइटोस्यानेटरी (एसपिएस) नीति विषयमा अन्तर्राष्ट्रिय मापदण्ड १३ अनुसार आयातकर्ता मुलुकले निर्यातकर्ता मुलुकलाई एसपिएस प्रावधान पालना गर्नुपर्ने विषयमा पूर्वजानकारी दिनुपर्छ भनी नेपालले भारतबाट आयात गर्ने तरकारी र फलफूल विषादी जाँच गर्ने प्रयास भारतले रुचाएन र दुई देशबीच तरकारी र फलफूल तनाव सुरु भएको छ । अर्कोतिर नेपाली उत्पादन चिया, अलैँची, अदुवा, जडीबुटी, तरकारी र फलफूल इत्यादी भारत जाँदा भारतीय सीमानामा लाग्ने रोक पनि नेपालका लागि निरन्तर तनाव बनेको छ । दुई देशबीच रहेको यो व्यापारकि समस्यालाई दुई देशका लागि न्यायपूर्ण समाधान गर्न नसक्नु दूर्भाग्यपूर्ण हो भने यो दक्षिण एसियाली देशहरूको आर्थिक–कूटनीतिकरुपमा व्यापक असफलताको चिन्ह हो ।

सरकारले राम्रो निर्णय गरेको हो । कार्यान्वयन प्रयास पनि गरेको हो । तर, केही चुनौती तत्काल सम्बोधन गर्न नसक्दा सरकार पछि हट्न बाध्य भयो । खतरनाक विषादी प्रयोग भइरहेका कृषि उपज शीघ्र विश्लेषण गर्न सरकारबाट विषादीको अवशेष द्रुत विश्लेषण कार्यक्रम सञ्चालन कार्यविधि ०७१ जारी गरी हालको क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रमार्फत् काठमाडौंको कालीमाटीमा विषादी अवशेष द्रुत विश्लेषण एकाई स्थापना गर्दै २०७१ देखि नेपालमा विषादी अवशेष विश्लेषण गर्ने प्रक्रिया विधिवत थालनी गरियो ।

जसले जनमानसमा विषादीप्रति दृष्टिकोण परिवर्तनको वहावै सुरु गरायो । तत्कालीन अवस्थामा कार्यविधिको लक्ष्य भनेकै राशायनिक विषादीको असान्दर्भिक प्रयोग र जसबाट जनस्वास्थ्यमा पर्ने प्रभावविरुद्ध जनचेतना फैलाउनु थियो । नेपालमा स्थानीय थोक बजारहरूलाई लक्ष्य गरी ल्याइएको उक्त प्रविधि एकदमै सफल पनि भएको थियो । संघीय संरचनाअनुरुप केन्द्रीय कृषि प्रयोगशाला पनि स्थापना भइसकेको र दु्रत विश्लेषण सेवा प्रदेश तथा स्थानीय तहहरूमा समेत विस्तार तथा व्यवस्थित गर्न आवश्यक देखिएकाले उक्त कार्यविधि संशोधन र परिमार्जन गरी अवशेष दु्रत विश्लेषण निर्देशिका २०७५ जारी भयो र हालका लागि विश्लेषण निर्देशिका २०७५ परिमार्जन हुनु जरुरी छ ।

टलक्क टल्किने र ताजा देखिने तरकारी सबैको रोजाइमा पर्छ । तर, यस्तै तरकारीमै विषादीको मात्रा बढी हुन सक्ने विज्ञहरूको भनाई छ । बरु अलि–अलि किरा लागेको, मध्यम आकारको, बाँगोटिंगो, सामान्य चमक भएको तरकारीमा कम विषादी हुन सक्छ । बेमौसमीको दाँजोमा मौसमी तरकारी र फलफूलमा विषादी कम हुन्छ । नेपाल कृषि अनुसन्धान परिषद्, वागमती अनुसन्धान महाशाखाका प्रमुख ईश्वरीप्रसाद गौतमले भने– ‘बेमौसमी तरकारी–फलफूलमा धेरै कीरा लाग्ने भएकाले किसानले अत्यधिक विषादी हालेका हुन्छन् ।

तरकारी किनेर ल्याएपछि १–२ दिन फ्रिज वा चिसो ठाउँमा राखेपछि उपयोग गर्नु राम्रो हुन्छ । बेमौसमी कृषि उत्पादन सम्भव भए नखाऔँ, खानैपरे नूनपानीमा आधा घण्टा डुबाएपछि सफा पानीमा पखालेर खाऔँ । नूनपानीको घोलले धेरै जसो विष सोस्छ । विषादी, रासायनिक मल आदिको अनियमित, अनियन्त्रित र अवैज्ञानिक उपयोगबाट उमारिएका सागसब्जीको दीर्घकालीन उपयोगले क्यान्सरलगायत विभिन्न नसर्ने रोग लाग्छन् । शरीरको रोग प्रतिरोधक क्षमता प्रभावित गराउँछन् ।’

पालक, गोलभेडा, भण्टा, भेडे खुर्सानी, काउली, बन्दा, लौका, सागलगायत तरकारीमा विषादी बढी हुन सक्दछन् । बेमौसमी तरकारीमा रोग–कीरा बढी लाग्ने भएकाले किसाले धेरै मात्रामा विषादी छर्ने गरेको पाइएको छ । बजारमा राखिएको गोलभेडामा बाहिर सेतो–सेतो दाग देखियो भने त्यो एक–दुईदिन अघि विषादी हालेर बेच्न ल्याएको बुझ्नुपर्छ । सीमापारिबाट आएको भण्टालाई टल्किने र लामो समयसम्म ताजा राख्न विषादीको झोलमा डुबाइएको हुन्छ ।

यस्ता भण्टा नखानु नै राम्रो । रायोलगायतका सागमा पनि डाएथेन–४५ फगिसाइडको झोल हालिएको हुन्छ । तरकारीको बोक्रा ताछ्दा केही मात्रामा विषादी कम हुन्छ । तर, भित्रपट्टी भएको विषादी जाँदैन । धेरैजसो विषादीको अवशेष तरकारी, फलफूल आदिमा ७ देखि १५ दिनसम्म रहन्छ । जर्नल अफ एग्रिकल्चर एन्ड फुड केमेस्ट्रीमा प्रकाशित एउटा अनुसन्धानअनुसार बेकिङ सोडालाई पानीमा हालेर फलफूल र सब्जीलाई एक मिनेटसम्म डुबाएर राख्दा पनि विषादीको असरमा कमी आउँछ । बेकिङ सोडामा सोडियम कायोकार्बोनेट हुन्छ, जसले थायवेन्डाजोल र फस्फेटलाई सजिलै सफा गर्न सक्छ । अन्य विषादीलाई यसले सफा गर्न सक्दैन ।

अहिले खुब चर्चा हुने गरेको छ, राशायनिक मल र विषादीको विकल्प नै नभएको हो त ? हामीकहाँ तरकारी र फलफूल मात्र होइन, दूध तथा माछासामुसमेत स्वस्थकर देखिँदैन । नाफामुखी व्यवसायका कारण गाई–भैँसीलाई टक्सिनको सुई लगाएर बढी उत्पादन गर्ने, बोइलर कुखुरालाई पनि छिट्टै बढाउन सोही प्रक्रिया अपनाउने, माछा लामो समय ताजा राख्न हानिकारक रसायन हाल्ने गरेको पाइन्छ । यी सबैको सम्बन्ध बालबालिकासँग बढी हुने हुनाले यसलाई संवेदनशील विषय मानिनु पर्दछ । गोबर तथा कम्पोस्ट मल हालेर तरकारी फलुञ्जेल पर्खने धैर्य हामीले गुमाइसकेका छांँ, हामीलाई रसायन र विषादी हालेर छोटो समयमै फल खाने बानी परिसकेको छ ।

यस्तो जटिलतामा आमउपभोक्ताले सरकारलाई दबाब दिएर कृषिसम्बन्धी विद्यमान फितलो नीतिमा परिवर्तन गराउनु नै उत्तम विकल्प हुनु आउँछ । स्थानीयस्तरमा उपलब्ध गोबर, गहुँत, खरानी, कम्पोस्ट मल, औषधिजन्य, वनस्पति आदिबाट विषादिरहित तरकारी तथा फलफूल उत्पादन गर्न सकिंदैन ? कुनै वेला कृषिमा आत्मनिर्भर हामी आज किन आफ्ना खेतबारी तथा करेसाबारी बाँझो राखेर परनिर्भर बन्दै छौँ ? विदेशबाट आयात गरिने खाद्यान्नको गुणस्तर परीक्षण गर्न नसके पनि सरकारले स्वदेशमै स्वस्थकर खाद्यान्न उत्पादन नीति कार्यान्वनय गरेर उक्त आयातलाई विस्थापन गर्न सक्दैन ? सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगले ध्यानाकर्षण गर्दै विषादी प्रयोग भएका तरकारी र फलफूलमा प्रतिबन्ध नै लगाउनुपर्ने सुझाब दिएको छ भने विकराल बन्दै गएको विषादी तरकारी र फलफूललाई रोक लगाउनु नै सामयिक ठहर्दछ ।

प्रतिक्रिया