मत-विमत

नेपाली कांग्रेससामु चुनौतीका चाङ

डा. डिआर उपाध्याय २०७६ साउन १ गते ६:४५ मा प्रकाशित

सफलता नै सफलताको विरासत बोकेको नेपाली कांग्रेस यतिवेला पंगु र भूमिकाविहीन हुनुमा नेतृत्वलाई बाहेक अरूलाई दोष दिन मिल्दैन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चार वर्षे कार्यकाल आगामी फागुन मसान्तमा पूरा हुँदैछ । तर, उनी कार्यकाल थप डेढ वर्ष बढाउने मानसिकतामा रहेको संकेत केही समयअघि बसेको केन्द्रीय कार्य समितिको बैठकमै दिएपछि महाधिवेशन समयमै गराउने पक्षधरहरू विरोधमा उत्रिएका छन् 

देशमा प्रजातन्त्रदेखि लोकतन्त्रसम्मका प्रत्येक आन्दोलन, जनआन्दोलन र क्रान्तिको नेतृत्व लिँदै आएको नेपाली कांग्रेससामु विगत केही समयदेखि चुनौतीका चाङ खडा भएका छन् । राजनीतिक सुझबुझ र अदम्य साहसका धनी विश्वेश्वरप्रसाद कोइराला, निस्वार्थी, निडर लौहपुरुष गणेशमान सिंह, हाँसीहाँसी तानाशाहहरूका कर्तुत उजागर गर्ने सन्तनेता कृष्णप्रसाद भट्टराई र राजसंस्थालाई लल्कार्न सक्ने गिरिजाप्रसाद कोइरालाको अतुलनीय इतिहास बोकेको नेपाली कांग्रेस अहिले आएर शिथिल बन्दै गएकोमा कसैको दुईमत हुन सक्दैन ।

खासगरी, संविधान कार्यान्वयनका क्रममा सम्पन्न तीनै तहको निर्वाचनमा कम्युनिष्ट गठबन्धनबाट लज्जाजनक हार बेहोरेपछि नेपाली कांग्रेसको तेज र ऊर्जामा ठूलो ह्रास आएको छर्लङ देखियो । मुलुककै लोकतन्त्रको पहरेदारी गर्ने नेपाली कांग्रेसको नेतृत्व पंक्तिले सो पराजयको जिम्मेवारीबोध गरेर कुनै उदाहरणीय कदम उठाउने पहलसमेत गरेन ।

पार्टीभित्रका असन्तुष्ट प्रभावशाली नेताहरू पनि केवल कर्मकाण्डी मौसमी विरोधपछि साम्य बन्न पुगे । हालै छिमेकी मित्रराष्ट्र भारतमा सम्पन्न लोकसभामा करिब करिब नेपालमा नेपाली कांग्रेसले जस्तै पराजय बेहोरेको भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पार्टीकी सर्वमान्य नेतृ एवं आफ्नी आमा तथा पार्टीका अन्य प्रभावशाली नेताहरूको दबाबका बाबजुद पद परित्याग गरेका छन् । सिंगो भारतीय राजनीतिमा र कांग्रेस पार्टीमा गान्धी परिवारको लामो समयदेखि वर्चश्व कायम रहेको छ । राहुल गान्धीले पदबाट राजीनामा नदिए पनि उनको नेतृत्व एवं कार्यक्षमतामा खासै प्रश्नचिन्ह पार्टीभित्र लाग्ने थिएन ।

तर उनले कांग्रेसको पराजयको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष पद त्याग गरे । नेपाली कांग्रेसको नेतृत्व तहमा अहिले मात्र होइन पहिला पनि यस्तो कमजोरी देखिएको हो । दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरणको माग र मुद्दा लामो समयसमम जोडतोडका साथ उठ्यो । तर नेतृत्व हस्तान्तरणको कुरा त परै जाओस् दोस्रो पुस्तालाई नेतृत्वका लागि सक्षम बनाउने अभ्यास गराउन समेत नेतृत्व पंक्तिले तदारुकता देखाउँदैन । अनेकौं सम्भावना बोकेका जुझारू युवानेता नेपथ्यमा जान बाध्य हुने परिस्थिति सिर्जना हुने गर्दछ । यसबाट नेपाली कांग्रेस त कमजोर हुन्छ नै, मुलुकको लोकतान्त्रिक मूल्यमान्यतालाई सशक्त तुल्याउने सर्वसाधारणको चाहनामा पनि प्रतिकूल प्रभाव परेको अहिले देख्न सकिन्छ ।

ठूलो विभाजनको विडम्बनामा परिसकेको नेपाली कांग्रेस एकजुट हुन सफल त भयो तर गुट–उपगुटको पीडाबाट मुक्त हुन सकेन । अहिले कांग्रेसका कतिपय केन्द्रीय सदस्यले समेत पार्टीभित्र आन्तरिक किचलो र नेतृत्वबीच हानथाप रहेको सार्वजनिक कार्यक्रममै स्वीकार गर्ने गरेका छन् । यो अझ बढ्ने स्पष्ट देखिन्छ । हुन त लोकतन्त्रप्रति समर्पित राजनीतिक दलभित्रको यो स्वाभाविक चरित्र हो । तर गुट–उपगुटले सिंगो पार्टी तथा देशको लोकतान्त्रिक मूल्यमान्यता माथि नै असिना वर्षा गराउने गरी दाउपेच चल्नु दुर्भाग्यपूर्ण हो ।

अहिले नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई लिएर संस्थापन र असन्तुष्ट पक्षबीचको खिचातानी बढ्दै गएको छ । यही असार २२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकमा यो अवस्था देखियो । सो बैठकमा महाधिवेशन समयमै गराउने एजेन्डा समावेश गराउन संस्थापन पक्षले असन्तुष्ट पक्षद्वारा बैठक बहिष्कारको धम्कीपछि मात्रै तयार हुनुले यो विवाद अझै चुलिने संकेत देखिएको छ ।

अर्को बैठक असार २७ गते बसेर फेरी साउन ७ गतेसम्मका लागि स्थगित भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चार वर्षे कार्यकाल आगामी फागुन मसान्तमा पूरा हुँदैछ । तर, उनी कार्यकाल थप डेढ वर्ष बढाउने मानसिकतामा रहेको संकेत केही समयअघि बसेको केन्द्रीय कार्य समितिको बैठकमै दिएपछि महाधिवेशन समयमै गराउने पक्षधरहरू विरोधमा उत्रिएका छन् । त्यसपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले महाधिवेशनको प्रक्रिया सुरु गर्न सभापति देउवामाथि दबाब सिर्जना गर्न थालेका छन् ।

नेपाली कांग्रेसको विधानले असाधारण परिस्थितिमा कार्यकाल एक वर्ष थप गर्न पाउने व्यवस्था गरेको छ । तर अहिले त्यस्तो असाधारण परिस्थिति रहेको देखिँदैन । वि.सं. २०७८ मंसीरमा स्थानीय तहको निर्वाचन हुने भएकाले समयमै महाधिवेशन गराएर नेपाली कांग्रेसको महाधिवेशनताकाको आन्तरिक किचलो त्यतिवेलासम्म मत्थर भई सशक्त रूपमा पार्टी निर्वाचनमा जाने अपेक्षा गर्न सकिन्छ ।

जसबाट लोकतन्त्रलाई थप बल प्राप्त हुनेछ । नेपाली कांग्रेसका असन्तुष्ट नेताहरूका अनुसार संस्थापन पक्षले काम नगरी बसेर विशेष परिस्थिति भन्दै कार्यकाल बढाउन खोज्नु ठीक होइन । यस तर्कलाई कमजोर भन्न मिल्दैन । गत चुनावहरूमा नेपाली कांग्रेसको लज्जास्पद पराजयको पृष्ठभूमिमा त कांग्रेसको महाधिवेशन समयमै गराउनु झनै अपरिहार्य भएको छ ।

जनताको साथ र समर्थन घटेका कारण कांग्रेसको भूमिका कमजोर भएको हो कि ? भन्ने प्रश्नको उत्तर खोज्ने हो भने पनि त्यस्तो अवस्था देखिँदैन । चुनावको मत परिणमलाई हेर्ने हो भने कांग्रेस प्रतिको जनसमर्थन घटेको देखिँदैन । ०६५ को संविधानसभा निर्वाचनमा २३ प्रतिशत मत प्राप्त गरेको कांग्रेसले ०७० सालको संविधानसभा निर्वाचनमा ३० प्रतिशत मत प्राप्त ग¥यो । गत निर्वाचनमा ३४ प्रतिशत मत प्राप्त ग¥यो । तर उल्लेखनीय रूपमा मत बढ्दै गर्दा पनि भूमिकाका हिसाबले कांग्रेस दयानीय देखिनु भनेको नेतृत्वको कमजोरी हो ।

सैद्धान्तिक रूपमा अन्योल भएकोले कांग्रेसको भूमिका कमजोर भएको हो कि ? भनेर विश्लेषण गर्ने हो भने पनि यर्थाथता त्यस्तो छैन । अहिले मुलुकमा जुन प्रकारको शासन व्यवस्था छ त्यो नेपाली कांग्रेसको स्थापनाकाल देखिकै लक्ष हो । नेपाली कांग्रेसको त्यही लक्ष्यमा मुलुकका सबै पार्टीहरू आइपुगेका छन् । अर्थात नेपाली कांग्रेसले स्थापनाकाल देखि जुन सिद्धान्तका लागि लडाइँ गरेको थियो त्यो सिद्धान्त यतिवेला मुलुकका सबै पार्टीहरू आएका छन् । मुलुकमा नेपाली कांग्रेसको राजनीतिक सिद्धान्त तथा आर्थिक सिद्धान्त लागु हुनु तर नेपाली कांग्रेसको भूमिका कमजोर हुनु भनेको नेतृत्वकै कमजोरी हो ।

मुलुकको शासन संचालनको बागडोर पाएको वेला अथवा राजनीतिक नेतृत्व गर्ने अवसर पाएको वेला चुकेका कारण अहिले नेपाली कांग्रेसको भूमिका कमजोर भएको हो कि ? भनेर विश्लेषण गर्ने हो भने पनि यर्थाथता त्यस्तो देखिँदैन । विगत ७५ वर्षको इतिहास हेर्ने हो भने पछिल्लो तीन वर्षबाहेक नेपाली कांग्रेस आफ्नो जिम्मेवारी तथा भूमिकामा कहिल्यै असफल भएको देखिँदैन । देउवा वाहक नेपाली कांग्रेसका हरेक प्रधानमन्त्री तथा हरेक सभापतिहरूले नयाँ इतिहास रचेका छन् । मुलुकमा युगान्तकारी परिवर्तनको नेतृत्व गरेका छन् । विपि काइरालाले के गरे ? भन्ने कुरा यहाँ उल्लेख गरिरहनु पर्दैन ।

सुवर्णशमशेर राणाले मुलुकबाट जमिनदारी प्रथा उन्मुलन गरे, समाजवादी ढाँचाको आर्थिक सिद्धान्त दिए । कृष्णप्रसाद भट्टराईको नेतृत्वमा पञ्चायती व्यवस्था उन्मूलन भयो । एक वर्षभित्रै नयाँ संविधान ल्याएर आम निर्वाचन गरायो । गिरिजाप्रसाद कोइरालाको पालामा गणतन्त्र आयो, संविधानसभाको निर्वाचन सम्पन्न भयो । सुशील कोइरालाको पालामा संविधानसभाद्वारा नयाँ संविधान निर्माण भयो, जुन काम सम्पन्न गर्न कम्युनिस्ट नेतृत्वका चार–चार वटा सरकार असफल भएका थिए । सफलता नै सफलताको विरासत बोकेको नेपाली कांग्रेस यतिवेला पंगु र भूमिकाविहीन हुनुमा नेतृत्वलाई बाहेक अरूलाई दोष दिन मिल्दैन ।

यसबीच वर्तमान केपी शर्मा ओली सरकारमाथि गुठी विधेयक र मिडिया काउन्सिल विधेयकका कारण अधिनायकवादको आरोप लागिरहेको परिप्रेक्ष्यमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सशक्त रूपमा प्रस्तुत हुनुपर्ने सर्वसाधारण जनताको अपेक्षालाई साकार पार्न पनि नेपाली कांग्रेस नयाँ ढंगबाट प्रस्तुत हुनुपर्ने आवश्यकता छ । हुन त ओली नेतृत्व वा कम्युनिस्ट गठबन्धन नेतृत्वको सरकारलाई लोकतन्त्रको मर्ममै प्रहार नगरेसम्म पाँच वर्षसम्म चलाउन दिनुपर्ने पक्षमा रहेका कांग्रेसका केही प्रभावशाली नेताको धारणा पनि अनुचित होइन । यसो गरिए कांग्रेस सत्ताका लागि मरिमेट्ने पार्टी नभएको सन्देश जनतामा पुग्ने र आगामी निर्वाचनहरूमा सो पार्टीलाई ठूलो फाइदा हुने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय