फिल्मसिटीको चर्चा र विवाद

लमजुङ जिल्लाको बेंसीसहर नगरपालिकाको गाउँसहर, पुरानकोट, बाख्रेजगत, शीतलेश्वारालगायतका क्षेत्रको करिब पाँच हजार रोपनी क्षेत्रफल समेटेर फिल्म सिटी बनाउने गरी अघिल्लो बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्टका अध्यक्ष एवं चलचित्र निर्माता संघ अध्यक्ष आकाश अधिकारी र इटालियन कम्पनी वल्र्ड एरिया होल्डिङ एसआरएल कम्पनीका अध्यक्ष फ्रान्सिस्को सिग्नोरिल्लोबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त कम्पनीले करिव ६ अर्ब रुपैयाँ लगानी गर्ने कुरा सम्झौतामा उल्लेख छ । फिल्म सिटी निर्माणका लागि वैदेशिक लगानी आउनु स्वागतयोग्य हो । तर, थोरै जनसंख्या भएको सानो मुलुक नेपालका लागि कतिवटा फिल्म सिटी आवश्यक पर्ला ? भन्ने प्रश्न खडा भएको छ । सरकारको आफ्नै लगानीमा दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा पनि विगत डेढ वर्षदेखि फिल्म सिटि निर्माणाधीन छ । यसका लागि सरकारले करिब ३५ करोड रुपैयाँ खर्च गरिसकेको छ । भीमेश्वर नगरपालिका–९ स्थित डाङडुङेडाँडाको कम्तीमा १८९ वर्गमिटरदेखि ३१४ वर्गमिटर क्षेत्रफलमा फिल्म सिटी निर्माण सुरु गरिए पछि स्थानीय बासिन्दा धेरै नै उत्साहित थिए । त्यस क्षेत्रको जग्गाको भाउ पनि ह्वात्तै बढेको थियो । तर, लमजुङमा समेत निर्माण गर्ने सरकारको निर्णयपछि दोलखावासी निराश देखिएका छन् । संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा दोलखामा निर्माणधीन फिल्म सिटीका लागि बजेट विनियोजन नगर्नु र लमजुङमा निर्माण गर्ने गरी अर्को सम्झौता गर्नुले दोलखावासी निराश हुनु स्वाभाविकै हो ।

पर्याप्त अध्ययन तथा अनुसन्धानविना हचुवाको भरमा कतिपय निर्णय गरिँदा लगानी खेर जान्छ भन्ने कुरा मुलुकको नीति निर्माण तहमा रहनेहँले वेलैमा विचार पुर्याउनुपथ्र्यो । केही महिनाअघि सम्पन्न लगानी सम्मेलनका क्रममा सरकारले दोलखामा निर्माणधीन फिल्म सिटीलाई पनि प्याकेजमा राखेको थियो तर कोही लगानीकर्ताहरू तयार भएनन् । यता लमजुङमा भने इटालीको अन्तर्राष्ट्रिय कम्पनी आँफै तयार भयो । दोलखामा फिल्म सिटी निर्माण गर्ने निर्णय तत्कालिन सरकारले अत्यन्त हतार तथा हचुवाका भरमा गरेको रहेछ भन्ने कुरा यसले पनि पुष्टि हुन्छ । नेपालमा फिल्मसिटी निर्माण गर्ने भनेको अन्तर्राष्ट्रिय क्षेत्रका चलचित्र छायांकनका लागि पनि हो । बलिउड तथा हालिउडका चलचित्रहरू छायांकन हुने गरी फिल्म सिटीको निर्माण गर्ने हो भने नेपालको पर्यटन व्यवसायले फड्को मार्छ । यसका लागि दोलखा भन्दा उपयुक्त विकल्प खोज्नुपर्छ भन्ने सुझाव विज्ञहरूले नदिएका होइनन् । तर, पूर्ववर्ती सरकारका सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले आफू पदमुक्त हुनुभन्दा केही घण्टा अघि हतार हातर दोलखाको फिल्म सिटी निर्माण शिलन्यास गरे । शिलान्यासपछि काम अघि बढिरहेकै वेला गत पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक सार्वजनिक कार्यक्रममा भनेका थिए –‘दोलखाको डाँडामा फिल्म सिटी राख्ने कुरा उपयुक्त छैन । हप्तामा दुई दिन, दुई घण्टा घाम लाग्छ । हिरोसँग साह्रै रिस उठेका वेला हिरोइनलाई खोलामा हामफाल्ने पनि ठाउँ छैन । हिरोले बचाउनु पनि पर्यो । त्यहाँ झोलुङे पुल पनि चाहियो । गाडीमा माइत हिँडे  भनेर स्वात्त चढ्ने बाटो पनि चाहियो ।’ प्रधानमन्त्रीले नै यति भनिसकेपछि दोलखामा फिल्मसिटी निर्माणको काम तत्काल स्थगित हुनु पथ्र्यो । निर्माणको कामलाई निरन्तरता दिइनु सरकारको कमजोरी हो ।

हलिउड तथा बलिउडको चलचित्र उद्योगलाई छायांकनका लागि आकर्षित गर्ने हो भने सर्वप्रथम अन्तर्राष्ट्रिय विमानस्थलबाट एक डेढ घण्टाको सडकदूरीमा फिल्म सिटी निर्माण गरिनुपर्छ । आन्तरिक विमानस्थल निर्माण गर्न सकिने ठाउँ हुनुपर्छ । पाँचतारे होटल निर्माणका लागि लगानीकर्ता आकर्षित हुने स्थल हुनुपर्छ । तर, दोलखामा यो अवस्था छैन । लमजुङमा छनोट गरिएको स्थान पोखरामा निर्माणधीन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४० किलोमिटर दुरीमा छ । आन्तरिक विमानस्थलका निर्माणका लागि उपयुक्त समथर ठाउँ पनि छ । मध्यपहाडी लोकमार्गको काठमाडौं–पोखरा खण्डबाट १० किलोमिटर तथा पृथ्वीराजमार्गबाट ४० किलोमिटर दूरीमा छ । चितवनबाट करिब ९० किलोमिटर दूरीमा छ । विश्वकै उत्कृष्ट १० वटा पर्यटकीय गन्तव्यमध्येको एक अन्नपूर्ण सर्किटसँगै यो ठाउँ जोडिएको छ ।

प्रतिक्रिया