काठमाडौं । बाढी, पहिरो र डुबानले देश आक्रान्त भइरहेका वेला आकस्मिक रूपमा संघीय संसद् प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकस्थगित भएको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्ष आरोपप्रत्यारोपमा उत्रिएका छन् ।
संसद् सचिवालयले बाढी पहिरो र डुबानमा उद्धारका लागि जान समय दिनुपर्ने भएकाले बैठक साउन ८ गतेसम्मका लागि स्थगित गरिएको सूचना निकालेको थियो । ‘प्राकृतिक विपत्तीमा परी मृत्यु हुनेहरूका परिवारमा सान्त्वनालगायत अन्य आवश्यक सहयोग पु¥याउन, बेपत्ता परिवारको खोजी, उद्धार र राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुमगनसमेत गर्न माननीय सदस्यहरूलाई आ–आफ्नो क्षेत्र, जिल्लामा जान समय दिनुपर्ने भएकाले प्रतिनिधि सभा नियमावली, ०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को बैठक साउन ८ गते १ बजे बस्ने गरी निर्धारण गरिएको छ’, संघीय संसद्को महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी सूचनामा भनिएको छ । यही विषयमा सत्तारुढ र विपक्षी दलबीच विवाद देखिएको हो ।
सत्तारुढ दल नेकपाले प्रतिनिधिमूलक संस्था संसद्लाई बद्नाम गर्ने र अलोकप्रिय बनाउने गरी सिंगो व्यवस्थामाथि नै गम्भीर प्रश्न खडा गर्ने काम प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको दाबी गरेको छ । कांग्रेसले भने देश नै विपत्तिमा परेका वेला बाढी र डुबानबारे छलफल गरौँ भन्दै आफूहरूले राखेको बैठक स्थगनको प्रस्तावलाई सत्तारुढ दलले सदनमा प्रवेश गर्न नदिएको आरोप लगाएको छ ।
नेकपाका सांसद योगेश भट्टराईले संसद्को अलोकप्रियता सिर्जना गरी व्यवस्थामाथि नै गम्भीर प्रश्न खडा गर्ने गल्ती कांग्रेसले गरेको दाबी गरे । उनले बाढी र डुबानको विपद्मा देश परिरहेका वेला सरकारलाई आवश्यक निर्देशन र ध्यानाकर्षण गराउनुको सट्टा कांग्रेसले संसद बन्द गरेर नागरिकको ध्यान संसद्भन्दा अन्यत्र मोड्न खोजेको टिप्पणी गरे ।
‘संसदमा छलफल गरेर सरकारलाई उद्धार, राहत, डुबान खोल्न भारतसँग पहलकदमी चाल्नका लागि ध्यानाकर्षण गराउनुपर्ने वेला संसद् बन्द गरेर जनताको ध्यान संसद्भन्दा अन्यत्र मोड्ने काम भएको छ । प्रतिनिधिमूलक संस्थालाई बद्नाम गर्ने, त्यसलाई चल्न नदिने, संसद्को अलोकप्रियता सिर्जना गर्ने र व्यवस्थामाथि नै गम्भीर प्रश्न खडा गर्नेजस्ता गल्ती भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत त्यही व्यवहारलाई आज पनि निरन्तरता दिएको छ ।’
कांग्रेसका सभापति शेरबहादुर देउवाले देश विपत्तिमा परेका वेला संसद्मा छलफल गरेर अघि बढ्नुपर्नेमा प्रतिनिधिसभा बैठक नै स्थगित गरेर केपी ओली नेतृत्वको सरकारले बदमासी गरेको आरोप लगाए । सभापति देउवाले सोमबार संघीय संसद् भवन, नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै बाढी, पहिरो र डुबानपीडितको पक्षमा संसद्मा पनि छलफल गरेर अघि बढ्नुपर्ने वेलामा सरकारले प्रतिनिधिसभा बैठक स्थगित गराएकोमा निन्दासमेत गरे ।
‘विपत्तिका वेला सिंगो संसद् एकताबद्ध भएर अघि बढ्न नेपाली कांग्रेसले संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो,’ सभापति देउवाले भने, ‘तर सरकारले देश संकटमा रहेको वेलामा पनि यो विषयमा संसद्मा छलफल गर्न नदिन प्रतिनिधिसभा बैठक अचानक स्थगित गरायो ।’सभापति देउवाले देश संकटमा परेको वेला संसद् बैठकमा यस सम्बन्धमा छलफल गर्ने संसारभरकै संसदीय प्रचलन भए पनि सभामुख कृष्णबहादुर महराले सरकारसँग डराएर प्रतिनिधिसभा बैठक स्थगित गरेको दाबी गरे ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भने प्रतिपक्षी दलको स्थगन प्रस्ताव र बैठक स्थगित हुनुको कारणबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । राजपाका सांसद लक्ष्मणलाल कर्णले स्थगन प्रस्ताव दर्ता गरेर बैठकका लागि आउँदै गर्दा बैठक स्थगित भएको बताए ।
प्रतिक्रिया