गुरुपूर्णिमा,गुरुस्तर र गुणस्तर

डाक्टर, इन्जिनियर, वकिल, प्रशासक, राजनीतिज्ञ आदी उत्पादन गर्ने शिक्षण पेसालाई कम आँक्नु विवेकहीनता हो । त्यस्तै स्वयं शिक्षकबाट पनि मर्यादित शिक्षण पेसालाई उपहास हुने गरी आचारसहिता विपरित कार्य गरेर आफ्नो प्रतिष्ठा र गरिमामा खोट लगाउने काम हुनु शुभसंकेत होइन । शिक्षक र शिक्षण पेसाको गरिमालाई निस्कलंक राख्न शिक्षकको आचरण, आहारविहारको अहं भूमिका रहन्छ नै

‘गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः’
( गुरु नेै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन् अनि गुरु भनेकै भगवान शंकर हुन्, गुरु नै हुन साक्षात परब्रह्मा, यस्ता गुरुलाई म नमस्कार गर्दछु । )

वेदको रचयिता कृष्ण द्वैपायन व्यासको जन्मेको आषाढ पूर्णिमाको दिनमा गुरु हरूको समझना र पूजा गरेर मनाइँदै आएको छ । गुरुलाई देवता र पिता समान सम्मान दिने हाम्रो संस्कार र संस्कृति जगजाहेर छ । पौराणिक काल देखि नै गुरु अर्थात शिक्षकको महिमा अतुलनीय रहंदै आयो । संस्कृतमा गु भनेको अन्धकार र रू को अर्थ उज्यालो अर्थात अज्ञानरूपी अन्धकार बाट चेतनास्तर वृद्धि गरी उज्यालोतिर लानु हो । वर्तमानमा गुरु भन्नाले पुरेत र शिक्षक-प्रशिक्षकलाई बुझाउँछ । यहाँ गुरुलाई शिक्षकको रूपमा प्रस्तुत गरिएको छ ।

वर्तमानमा कतिपय शिक्षकले सम्मानभन्दा पनि सम्पत्तिलाई महत्व दिने प्रचलन हावी भएकोले शिक्षण पेसा अन्यको तुलनामा उपेक्षित हुन गएको गुनासो गर्नेको कमी छैन् । डाक्टर, इन्जिनियर, वकिल, प्रशासक, राजनीतिज्ञ आदी उत्पादन गर्ने शिक्षण पेसालाई कम आँक्नु विवेकहीनता हो । त्यस्तै, स्वयं शिक्षकबाट पनि मर्यादित शिक्षण पेसालाई उपहास हुने गरी आचारसंहिताविपरीत कार्य गरेर आफ्नो प्रतिष्ठा र गरिमामा खोट लगाउने काम हुनु शुभसंकेत होइन । शिक्षक र शिक्षण पेसाको गरिमालाई निस्कलंक राख्न शिक्षकको आचरण, आहारविहारको अहं भूमिका रहन्छ नै । गुरुपूर्णिमालाई फूलमाला खादाको सामान्य सम्मानको कर्मकाण्डी मात्र नबनाएर शैक्षिक गुणस्तरलाई उन्नत बनाउन शिक्षक, विद्यार्थी र व्यवस्थापनले प्रण गर्ने दिनको रूपमा मनाउन सके मात्र सार्थक हुने छ ।

गुरुस्तर गुणस्तर एकअर्कामा अन्तरसम्बन्धित छन् । भनाइ पनि छ, कुनै पनि विद्यालय शिक्षक भन्दा राम्रो हुन सक्दैन् । अर्थात शिक्षक राम्रो भए विद्यालय पनि स्वतः राम्रो हुन्छ । शिक्षणसिकाइ क्रियाकलापलाई उपलब्धिमूलक बनाउन शिक्षकको पेसागत दक्षता तथा उनीहरूको निष्ठापुर्वक समर्पणको भावनाले प्रमुख भूमिका खेल्दछ । साधानस्रोतको उपलब्धता तथा त्यसको वैज्ञानिक व्यवस्थापनलाई गुणस्तरीय शिक्षणको लागि नजरअन्दाज गर्न सकिन्न । गुणस्तरीय शिक्षाको लागि शिक्षण सिकाइ क्रियाकलाप पनि गुणस्तरीय हुनुपर्दछ । जसको लागि प्रतिभाशाली जाँगरिलो पेसाप्रति समर्पित शिक्षक अपरिहार्य हुन्छ । शिक्षण पेसामा प्रवेश गरिसकेका जनशक्तिलाई हौसला प्रदान गर्न उनीहरूमा भएको मैजुदा ज्ञान सीपलाई परिस्कृत र पारंगत गर्दै सक्षमता ल्याउन समयानुकुल तालिम तथा प्रशिक्षण निरन्तर हुनु आवश्यक छ ।

शिक्षकलाई पेसाप्रति समर्पित र जाँगरिलो बनाउने खालका रणनीति अवलम्वन गर्न राज्य चुक्नु हुन्न । नियमित र पारदर्शी अनुगमन निरीक्षणका आधारमा पुरस्कार र दण्डको व्यवस्थाले शिक्षकमा जाँगर, उत्साह र ऊर्जा थप्ने काम गर्छ । शिक्षक स्वयंले पेसागत उत्कृष्टता हाँसिल गर्न समग्रमा नौ नि (निष्पक्षता, निष्ठता, निर्भिकता, निस्कलंकता, निस्वार्थता, नियमितता, नीतज्ञता, निसंकोचता, र्निदिष्टता) जस्ता आधारभूत गुणलाई आत्मसात् गरेर व्यवहारमा उतार्नु पर्दछ ।

विद्यालयलाई विद्यार्थीका लागि मात्रै सिक्ने थलो नभएर शिक्षकको ज्ञानको दायरालाई फराकिलो बनाउने गरी सिक्ने थलोको रूपमा विकसित गरिनुपर्दछ । शिक्षक ज्ञान, सीप, अभिवृद्धिबाट कहिल्यै बुढो हुँदैन अत निरन्तर नवीन कुरालाई सिक्ने सिकाउने भावनाबाट प्रेरित हुनुपर्दछ । शिक्षणसिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन शिक्षकको अहं भूमिका हुने हुँद उनिहरूको कार्यगत क्षमता, लगनशीलता तथा पेसाप्रति समर्पणमा उर्जा थप्न पेसागत सुरक्षा र सम्मानको पनि उत्तिकै खाँचो रहन्छ ।

शिक्षण पेसामा प्रवेश गर्न तथा पेसागत सुरक्षाको लागि कतिपय अवस्थामा व्यवस्थापन समिति प्रति उत्तरदायी हुनुपर्ने बाध्यता छ । व्यवस्थापन समितिका पदाधिकारी लगभग सबै प्रत्यक्ष रूपमा कुनै न कुनै राजनीतिक दलको सदस्यता लिएको कारणबाट शिक्षकप्रति गरिने व्यवहारमा निष्पक्षता हुन चुकेको गुनासो सुन्न पाइन्छ । शिक्षक तथा कर्मचारीको वृद्धिविकासमा पराक्रम गर्नेभन्दा परिक्रमा गर्नेको हैसियत बढेको तितो सत्य हो ।

यसरी शिक्षकको पेसागत मर्यादामा विनाकारण पूर्वाग्राही ढंगबाट आँच पु¥याउने व्यवस्थापन पदाधिकारीलाई सचेत पार्न तथा आफ्नो तीन वर्षे कार्यकालको लागि विद्यालय विकासको कार्ययोजना बनाउन अभिमुखीकरण गोष्ठी सञ्चालन गर्नुपर्दछ । जानीजानी पदिय हैसियतलाई दुरूपयोग गर्नेलाई कानुनी दायरामा ल्याउनसके शिक्षकमा स्वभिमानीपूर्वक आफ्नो पेसागतधर्म निर्वाह गर्न उत्साही बनाउने छ । शिक्षक नियुक्ति प्रक्रियाको लागि केन्द्रियस्तरमा संवैधानिक शिक्षकसेवा आयोग र शिक्षकको कानुनी उपचारको लागि छुटै न्यायालयको व्यवस्था भएमा शिक्षक पदको गरिमा अझ बढ्नेछ ।

शिक्षकको पेसागत दक्षतालाई विद्यार्थीको उपलब्धीसँग दाँजेर सोही अनुसार पुरस्कार र दण्डको व्यवस्था पारदर्शिरूपमा गर्न सके गुणस्तरीयता कायम गर्न होस्टेमा हैंसे हुनेछ । विद्यार्थीले ६ घण्टा मात्रै विद्यालयमा बिताउने र बाँकी १८ घण्टा घरपरिवारमा नै बिताउने साथै बालबालिकाको लागि घर परिवार पहिलो विद्यालय भएकोले त्यहाँको वातावरण पनि पढ्ने तथा शैक्षिक सामग्रीको पर्याप्ततालगायत अन्य पक्षको छलफल र सहकार्य गर्न शिक्षकले अभिभावकसँग निरन्तर सम्पर्क राखी चिरन्जीवि सौहार्दता कायम राख्नाले पनि शैक्षिक उपलब्धिलाई उच्च बनाउन टेवा पुग्न जान्छ ।

विद्यालयको शैक्षिक कार्यक्रमलाई व्यवस्थित गदैैै सबै शिक्षकको सल्लाह र सहमतिमा वार्षिक शैक्षिक क्यालेण्डर बनाइनुपर्दछ । त्यसको अनुसरण भए नभएको अनुगमन निरीक्षण प्रअ तथा व्यवस्थापनले गर्नुपर्दछ । विद्यमान ऐन नियममा भएअनुसार कम्तीमा १८० दिन विद्यालय खोली पठनपाठन गर्ने वातावरण बनाउन सञ्चालक र सेवाग्राही सजग रहनुपर्दछ । त्यस्तै विद्यालयमा अनुशासित एवं मर्यादित वातावरण बनाउन आचारसंहिता बनाई लागू गरिनुपर्दछ । विद्यालयलाई बन्द हडतालमुक्त क्षेत्र घोषणा गरी त्यसको कडाइका साथ पालना गर्न समर्थन जुटाउनुपर्दछ ।

विद्यालयको हरेक कार्यक्रम विद्यार्थीको हितलाई उच्च प्राथमिकता दिएर बनाइनुपर्दछ । विद्यार्थी घरबाट भागेर विद्यालय आउने चित्ताकार्षक रोचक रतिने खालको वातावरण हुनुपर्दछ । शिक्षाकर्मीहरू विद्यार्थीप्रति उत्तरदायी हुनुपर्दछ । उनीहरू नै रोजगारदाता हुन भन्ने यथार्थलाई बिर्सनु हुँदैन, किनकी विद्यार्थी भएको कारणले विद्यालय खुल्ने र शिक्षा क्षेत्रमा रोजगार सिर्जना हुने भएकोले विद्यार्थीलाई प्रमुख रोजगारदाताको रूपमा व्यवहार गरिनुपर्दछ । विद्यार्थी वनस्पतिको एकदाना बिउ जस्तै हो त्यसैले यदि उपयुक्त मलजल हावापानी पाएमा फस्टाउँछ । त्यस्तै विद्यालयमा पनि बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने वातावरण बनाउनसके भोलिको योग्य नागरिक बनाउन सकिन्छ । विद्यार्थीलाई माछा मारेर खुवाउनुको सट्टा माछा मार्न सिकाउने स्वावलम्बी पौरखी खालको शिक्षा दिइनुपर्दछ ।

शिक्षकहरूलाई जाँगरिलो बनाउन मनोवैज्ञानिक, सामाजिक, आर्थिक, शारीरिक, राजनीतिक रूपमा सचेत, सबल सन्तुष्ट बनाउनुपर्दछ । त्यस्तै शिक्षाको हरेक क्षेत्रमा व्यक्तिभन्दा विधिको शासन, नेताभन्दा नीतिको मार्गदर्शन, दाताभन्दा डाटालाई नीति निर्माणमा प्रधानता दिँदै नौ ‘अ’ अभिभावक, अध्यापक, अध्ययनार्थी(विद्यार्थी), अध्ययन विषय र विधि, अनुशासन ,अपनत्व, अनुदान, अनुगमन ( निरीक्षण ) र अनुसन्धानलाई मध्यनजर राखेर योजना र कार्यक्रम कार्यान्वयन गर्न सकेमा शिक्षण पेसाको गरिमा बढाउन सकिन्छ ।

प्रतिक्रिया