‘समर हाँक्ने समय’ भित्र घोत्लिँदा

इन्द्रकुमार श्रेष्ठ सरित (२०१९ पुस १०) नेपाली साहित्य शृंखलाको परिचित नाम हो । नेपालको सीमाभन्दा फरक स्थान बर्मामा जन्मिएर नेपाली माटोलाई पूजा गर्ने सरित् २०३० को दशकबाट निरन्तर साहित्य लेखनमा जुटिरहेका छन् । २०३५ सालमा ‘नयाँ सन्देश’ साप्ताहिक पत्रिकामा कविता छापेर आफ्नो साहित्य यात्रालाई सार्वजनिक गरेका श्रेष्ठका झण्डै एक दर्जन साहित्य कृति प्रकाशनमा आइसकेका छन् । पहिलो रचना र पहिलो संग्रह पनि कविता नै बनाएका इन्द्रकुमार केही समय अर्थात् झण्डै तीन दशक कवितामा चर्चामा रहेनन् ।

लेखिरहे तथापि उनको लेखनीले अर्कै प्रस्तुति ढाँचा अपनायो । एउटा उपन्यास, एउटा बालकथा संग्रह, एक अन्तर्वार्ता प्रस्तुत गर्दै आफूलाई कथाकार भन्नलायक बनाउने काम २०७५ सम्म आइपुग्दा नै चलिरह्यो । २०४६ सालको कवि व्यक्तित्वलाई पुनः २०७४ पुसमा जोड्दै ‘समर हाँक्ने समय’ मार्फत उनी आलोचनात्मक चेतलाई तिखो राख्दै चिनिइरहेका छन् ।

पाँचओटा कथासंग्रह प्रकाशनमा ल्याइसकेका सरित् स्वयम्मा एक कथाको पात्र जस्ता लाग्दछन् । मनभित्रका उकुसमुकुसलाई आक्रोशमय ढंगले सही सिर्जना र बोली व्यवहारमा प्रस्तुत गर्ने सरित चिनिनु भन्दाअघि अलि एकांकी र रुखा जस्तो लाग्छन् । उनको रचनाको स्वाद लिँदै जाँदा भने उनी यो समाजले निर्माण गरेको एउटा छुट्टै कलाको नमूना जस्तो गरी धेरै पाटामा खुल्न पुग्छन् । मनका भावलाई विविध शैली र शिल्पमा आकार दिनसक्ने सरित् मूलतः वैचारिक कवि हुन् । कवितासंग्रह प्रकाशनका दृष्टिले सरित् कवितालाई कम माया गर्छन् ।

तथापि उनको कविताहरू पढ्दै जाँदा एकल अनुभव समवेत स्वरमा परिणत हुन्छ, जसबाट उनी जता जे भन्छन् त्यसलाई कलात्मक आकृतिमा ढालिहाल्छन् । गद्य काव्य प्रस्तुतिमा रमाउने ‘सरित्’ नेपाली समाजको ढिलासुस्तीप्रति आक्रामक देखिन्छन् । अरूले केही ‘गरिदेला’ र ‘खाउँला’ को हाम्रो संस्कृति बदल्न आफैँ योद्धा बन्ने र समरलाई हाँक्ने काम अझ ढिलो गर्न नहुने विषयमा सचेत छन् । कर्म नै परिचयको आधार भएको तर्फ कविको अर्जुनदृष्टि रहेको छ ।

कवि ‘सरित’ ले २०४४ सालदेखि २०७२ सम्म लेखेका कवितालाई यस संग्रहभित्र समावेश गरेका छन् । यसका अतिरिक्त मिति राख्ने चाहनाभित्र नपरेका पाँच ओटा कविता २०७४ सम्मको हो भन्ने स्पष्ट बुझ्न सकिन्छ । कवि ‘सरित्’ को यस कविता संग्रहभित्र रहेका कविताले निम्नानुसारको स्रष्टा चेत प्रकटीकरण गरेको छ ।
चेत
(क) काल चेत
(ख) कला चेत

(क) काल चेत
कविले झण्डै तीन दशक भित्रका कविता प्रस्तुत गर्दा कवि मनमा पैदा भएका कालगत चेत अर्थात समयलाई चिन्ने र समयलाई सम्बोधन गर्ने कार्य कविता भित्रै भएको छ । ‘जंगबहादुरको सालिकले अझै तर्साइरहेछ’ जस्ता कविता यसको साक्ष्यको रूपमा रहेको छ । कविले आफूलाई वर्गको पक्षधरको रूपमा त्यतिवेलैदेखि चिनाइसकेका मात्र होइन दमन र उत्पीडन विरोधमा एउटा विद्रोही गीत पनि गाएको स्पष्ट छ;
विचारको अनन्तमा खारिएर
भाँच्नु छ अवरोधको बार
त्यसैले वर्गसंघर्षमा होमिन सक्ने
चेतना र दृढ विश्वासका
दह्रा खम्बाहरू ठड्याउनुपरेको छ । (पृ. २७)
जनमत पत्रिकामा प्रकाशित यस कविताको स्वरलाई हेर्दा कवि निरंकुशतालाई उखेल्न आफ्नो आवाज जोडले अक्षरमार्फत व्यक्त गर्न पुग्छन् । २०४६ सालको परिवर्तनपश्चात् पनि जनताका नाममा शासन गर्नेहरूले जनताको टाउकोलाई नै गिर खेलेको तथ्य उनका कविताहरूले पेस गरेका छन्;
यो बाँझो जीवनलाई गोडेर
केही क्षण अजम्बरी बाबरी भएर
सबैका लागि फुल्न पाए पनि हुन्थ्यो
रहरहरूका भारी बिसाउन
निश्चित चौतारीहरू नभेटेपछि (पृ. ३६)
जुन इच्छा चाहनाले परिवर्तन भयो त्यसको वास्तविक रूप त्यति चित्तबुझ्दो नभएकाले कवि जिम्मेवार हुन आग्रह गर्न पुग्दछन् । जनादेश पत्रिकामा प्रकाशित ‘केवल एउटा युगपुरूष’ले पनि एउटा सम्मुनत समाज निर्माण गर्ने युगपुरूष अर्थात् असल नेतृत्वकर्ताको चाहना व्यक्त गरेको छ;
हामीलाई चाहिएको छ
केवल वर्गरहित समाजको निर्माता
केवल एउटा युग पुरूष (पृ.४५)
त्यसैगरी, २०४६ सालको परिवर्तनपश्चातको विकृतिविरुद्ध निर्मित समवेत स्वरको रूपमा २०५२ देखि सुरू भएको जनयुद्धले पुनः आशा जगाएको र कसैलाई त्रसित बनाएको विषय बोध पनि कविताभित्र राम्ररी आएको छ । क्रमशः राजनीति चेतना विकसित भएकोतर्फ कविको रचनामा प्रस्तुत प्रमाण पर्याप्त नै देखिन्छ ।
आगोसँग खेल्दै
बारुदसँग मितेरी लाउँदै
स्वप्निल आँखा र स्नेहालु मनमा
सपना फक्रिने सपनाको चाङ सजाएर
सपना भीरतिर दगुर्यो
दमन शोषण सहँदै पनि आफूलाई बचायो । (पृ. १४२)
कविले गणतन्त्रको निम्ति भएका प्रयास मात्र होइन तत्पश्चातका गतिविधिमा वैचारिक हस्तक्षेप नपुगेको प्रति ध्यानाकर्षण गराएका छन् । कविले आफूलाई एउटा सच्चा द्रष्टाका रूपमा पहिले उभ्याएर द्रष्टाभाव मौलिक रूपमा स्रष्टाभावमा पोखेका छन् । कवितामा खबरदारी छ । ‘पाषण प्रेम’ कवितामा कवि आक्रोश व्यक्त गर्न पुग्दछन् । खस्कँदै गएको मानवीय प्रेम र भावलाई कविले आफ्नो कविताको सामल बनाएका छन् । निरन्तर प्रगति चाहनेका निम्ति यस कवितामा गलत पक्षविरुद्ध लड्नु पर्ने भाव पैदा गरिदिन्छन् कवि,
समय बित्ने क्रममा युग बित्यो;
तर ऊ बदलिएको छैन
रातै अबिर दलेर वरिपरि
रातो अक्षता छरेर वरिपरि (पृ. १८३)
समय–समयको आवाजलाई कविले उन्दै र बुन्दै माला स्वरूप रचनावली नै बनाइदिएका छन् । हुन सक्छ उनका यी खारिएका कविताहरू मात्र हुन् । निर्मल परिवर्तनकारी भाव पोखिएको कवितालाई क्रमिक रूपमा हेर्दा उनका कविताहरूमा काल चेतना सशक्त छ । एउटा कवि त्यतिवेला मात्र बाँच्न सक्छ जसले समयलाई राम्ररी देख्न र लेख्न सक्छ ।
(ख) कला चेत
के विषय, कहिलेको सन्दर्भ मात्र साहित्यले बोलेर पुग्दैन । कविताले त झन् त्यसलाई लय र अन्तरलयमा राम्ररी ढाल्नुपर्दछ । संकलन भित्रका सबै कविता गद्य लयमा संरचित छन् । विचार र भावनाको तीब्र आवेगलाई पोख्ने कविहरूले प्रारम्भ गरेको गद्य लेखन अर्थात गद्य कविता यात्रालाई राम्ररी समातेर आफ्नो विचार पोख्ने माध्यम बनाएका छैनन् । एउटै कविताभित्र कला चेत प्रस्तुत गर्न कालखण्डको सिलसिलालाई समेत प्रस्तुत गरिदिएका छन् । ‘उद्घाटित दृश्यावली’ कवितामा कवि यसरी पोखिन्छन्;
स्वीकृति विना अस्वीकृति विना
जीवनमा सपना फुल्न आउँछन्
कहिले रत्नपार्कमा, कहिले ठमेलमा
कहिले गोंगबुमा त कहिले कुनै अट्टलिकामा
सपनाहरू बिक्छन् र नजन्मिँदै मृत्युवरण गर्छन् । (पृ. १८५)
कवि राजनीति विषयमा मात्र आक्रामक छैनन् । राजनीति विकृतिको उप–उत्पादनका रूपमा विकसित बेरोगजारी समस्याले सताएका शिक्षित÷अशिक्षितहरू कसरी विसंगत यात्रामा पुगेका छन् प्रस्तुत गरिदिन्छन् । निकै प्रतीकात्मक, द्वर्थीभाव कविताले बुझाउँछ । जति हामी गहिरिन्छौँ त्यति जिम्मेवार भाव बोक्छ कविता । कला विचारमा र विचार कलामा चिनिन्छ अनि प्रकटित हुन्छ । हो त्यही दृश्य र भोगाइ उनका कविताहरूमा परिपक्व बनेको देखिन्छ ।
गद्य कविताप्रति धेरैको अरुचि हुन सक्छ सायद यस्ता कविताको अभावमा गद्य कविताले अस्मिता जोगाउन पनि सक्दैन । ‘रोटीको भाग’ कवितामा कवि त्यसैगरी आफ्ना विचार प्रस्तुत गर्न पुग्दछन्,
ढिलै भए पनि यिनैले बुझ्ने
देश र जनताको सपना यिनैले हो सिउने
सिउनुपर्छ तीनै जनाले फाटेको मन (पृ. १४९)
क्षणिक हिसाबले हेर्दा राजनीति नेतृत्व र गहन हिसाबले हेर्दा वैचारिक प्रतिनिधित्व पनि यस कवितामा झल्किएको छ । अभावको बदलामा भाव खोज्न विसंगतबाट संगतपूर्ण यात्रा तय गर्न धैर्य गर्नै पर्छ । आवश्यक छ त्यो परिपक्व बन्ने अभ्यास र पूर्वाभ्यास ।
दिनको अँध्यारोमा घाम खोज्दै
रातको अँध्यारोमा जून खोज्दै
भीर र पाखा सम्याउने खन्ती उचाल्दै
अथक श्रम बहिरहन्छ यात्रामा (पृ. ८९)

सार
कवि एकैदिन र एकैछिनमा परिवर्तन संस्थागत नहुने कुरामा जानकार छन् । त्यति मात्र होइन युग र सभ्यतालाई हाँक्ने योद्धाहरूले निरन्तरको प्रयासबाट मात्र सफलता प्राप्त गर्न सक्छन् । थाक्नु हुँदैन यात्रामा र हार्नु पनि हुँदैन । आन्दोलन सकिएको छैन, समय झन् क्रूर बन्न सक्छ । समयसँग बहने होइन, योजनामा समयलाई हिँडाउने काम हुन सके मात्र हामीले छलाङ् मार्न सक्छौँ । समय बुझेर मान्छे रुन्चे होइन साहसी बन्छ । जीवनभित्र विसंगत पक्ष छ चिनेर नै हटाउन सकिन्छ ।

परिवर्तन र परिवर्तनको संस्थागत पुँजीकृत निर्मितिबाट मात्र समाजलाई निरन्तर अगाडि बढाउन सकिनेतर्फ कविको दिल र दिमाग पुगेको कुरा काव्य सिर्जनाले पुष्टि गरेको छ । युग युद्ध मैदानमा जित खोजिरहेको छ । त्यो जितका निम्ति आजको समय चेतना पैदा गर्ने समय हो त्यो नै आधार हो विजयको । ‘समर हाँक्ने समय’ कवितासंग्रहलाई संक्षिप्तमा चेतना प्रसारण र अभिव्यक्तिको माध्यमभन्दा न्याय हुन्छ । यस कृतिमार्फत कविले समकालीन प्रगतिवादी भनिएका औसत कविहरूभन्दा केही खुड्किलो माथि रहेको पुष्टि गरिदिएका छन् । अस्तु !

प्रतिक्रिया