किसानलाई बिउ बोका वितरण

स्याङ्जा । प्रदेश र जिल्लाबाट अनुदान नपाएका कृषकलाई स्थानीय सरकारले आधुनिक प्रविधि र उन्नन जातका बिउ बोका वितरण गरिएको छ । वालिङ नगरभित्र रहेका व्यावसायिक कृषकलाई लक्षित गरी बिउ बोका बितरण गरिएको हो ।

वालिङ नगरकार्यपालिकाले अनुदानबाट वञ्चित रहेका कृषक छनोट गर्दै १ लाख ९० हजार रुपैयाँको आधुनिक प्रविधि र बिउ बोका वितरण गरेको हो । पाँच ओटा बाख्रा फर्मलाई प्रजननका लागि बिउ बोका, तीन ओटा गाई तथा भैँसी फर्मलाई दूध संकलनका लागि मिल्क केन र तीन ओटा पशुफर्मलाई नापतौलका लागि कम्प्युटर प्रणालीको तराजु प्रदान गरिएको हो । अनुदान वितरण कार्यक्रमका वितरण गरिएको बोकाको पशु बिमासमेत गरी कृषकलाई प्रदान गरिएको छ ।

उक्त अनुदानमा बोकासहित सामग्री वितरण गर्दै वालिङ नगरपालिका उपप्रमुख एवं कृषि शाखा संयोजक कल्पना तिवारीले बास्तविक कृषकलाई नगरको सहयोग हुने बताइन् । बाँझो जमिन राखेर अनुदान माग गर्ने होइन, बाँझो जमिनमा पसिना बगाएर बास्तविक कृषक बन्नसके नगरले अनुदान तथा प्राविधिक सहयोग गर्ने बताइन् ।

‘नगरले उत्पादनसँग जोडिएका कृषकलाई हौसला प्रदान गर्ने कार्यक्रम अघि सारेको छ र सधैँ कृषकलाई सम्मान गर्छ’, तिवारीले भनिन्, ‘कृषकलाई सम्मान गर्नुपर्दछ, त्यही कृषकले दुहेको दूध मीठो हुने तर कृषकको पसिना नमीठो मान्ने व्यवहार परिवर्तन हुनुपर्दछ । ‘एक गाउँ एक उत्पादन कार्यक्रमका साथ नगरपालिका लागिपरेको भन्दै माटो, हावापानी परीक्षण गरी उपयुक्त उत्पादनतर्फ प्रतिवद्ध रहेको तिवारीकोे भनाइ थियो ।

यसैगरी सोही कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले कृषकलाई हाम्रो समाजले हेर्ने सोच परिवर्तन गर्न आवश्यक रहेको बताए । कृषिमा आत्मनिर्भर बनाउन राज्यले सकरात्मक वातावरणको सिर्जना गर्नुपर्दछ । सुवेदीले भने, ‘कामको आधारमा हुने भेदभाव अन्त्य गर्न पोसाकमा एकरूपता, प्रोत्साहन स्वरूप पुरस्कार, अनुदानका कार्यक्रम अघि सार्न आवश्यक छ ।’

कार्यक्रममा नगरपालिका सामाजिक शाखाअधिकृत पदमप्रसाद पाण्डे, कृषकहरूको तर्फबाट चित्रप्रसाद रेग्मी लगायतले नगरपालिकाले प्रदान गरेको अनुदान तथा सामग्रीको सही सदुपयोग गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा पशु विकास अधिकृत हुमनारायण श्रेष्ठले वालिङ अन्डा र मासुमा समेत आत्मनिर्भर रहेको तथ्यांक पाइएको बताए । उनले भने, ‘अब अन्डा र मासुमा मात्र होइन सबै कृषि श्रेत्रमा आत्मनिर्भर बन्नसके लाखौँ पैसा कृषिको नाममा बाहिर जाने थिएन ।’

प्रतिक्रिया