प्रसूति गृहको पुनर्निर्माण उदाहरणियः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको नयाँ भवनको उद्घाटन गरेका छन् । शुक्रबार बिहान अस्पतालमा आयोजित कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले भवनको उद्घाटन गर्दै जापान सरकारलाई धन्यवाद दिएका हुन् । उनले भवन निर्माण सम्पन्न भएको प्रति खुसी समेत व्यक्त गरे ।

जापानी सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा करिब १५ महिनापछि निर्माण सम्पन्न गरिएको उक्त भवनबाट एक हप्ताअघि देखिनै सेवा सुरु भएको छ । भवन निर्माणमा करिब १ अर्ब ३० करोड रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ । १२ वैशाख ०७२ को महाविनाशकारी भूकम्पले क्षति पुर्याएका संरचनाको पुननिर्माणसँगै नयाँ–नयाँ काम गरेर अगाडि बढ्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘प्रसूतिगृहको भवन निर्माण भूकम्पपछिको पुर्ननिर्माको एक उदाहरणीय काम हो ।’

भवन मात्रै नयाँ नभएर अस्पतालले अत्याधुनिक सेवा पनि प्रदान गर्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले अस्पतालको पार्किङको स्तरोन्नति तथा अस्पतालको पारिपट्टि रहेको जग्गाका विषयमा पनि सरकारको ध्यानाकर्षण भएको बताए । भूकम्पले अस्पतालको भवनमा क्षति पु¥याएपछि सेवा प्रभावित हुँदै आएको थियो । जाइकाले वीर अस्पताल र परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको नयाँ भवन सरकारलाई हस्तान्तरण गरेको हो । यी दुबै भवन निर्माणको लागि २ अर्ब २६ करोड लागेको जनाइएको छ ।

कार्यक्रममा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रसूतिगृहले महिला तथा बालबालिकाको क्षेत्रमा ठूलो योगदान पु¥याएको बताए । मन्त्री यादवले काठमाडौंबाहिर पनि अत्याधुनिक सेवायुक्त प्रविधिसम्पन्न प्रसूति अस्पताल आवश्यक रहेको बताए । उनले नयाँ भवन निर्माणसँगै प्रसूतिगृह मुलुककै एक सुविधासम्पन्न अस्पताल बनेको बताए ।

यस्तै पुननिर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएको स्वास्थ्य संस्था निर्माणको काम अहिले सम्म ५४ प्रतिशत सम्पन्न भएको जानकारी दिए । १ हजार १ सय ९७ वटा स्वास्थ्य संस्थामा भूकम्पबाट क्षति पुगेकोमा अन्तर्राष्ट्रिय दातृ निकाय तथा दातृ राष्ट्रको सहयोगमा ६ सय ४३ स्वास्थ्य संस्थाको पुर्ननिर्माण सम्पन्न भइसकेका बताए । प्रसूतिगृहको भवन उद्घाटन कार्यक्रमलगत्तै मन्त्री यादवले नवनिर्मित वीरको नयाँ उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया