पोसाक भत्ता मिल्यो, बढेन तलब

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयको बालबिकास कक्षामा अध्यापन गराउने वैष्णवी वैद्यलाई इसिडी शिक्षक र विद्यालय कर्मचारीलाई पोसाक भत्ता बापत १० हजार उपलब्ध गराउँने सरकारी निर्णयले थोरै खुसी त दियो ।

तर, फुरुङ्ग भएर पेसामा लाग्ने उर्जा भने थप्न सकेन । कारण, मासिक ६ हजार तलब । बिहान १० बजेदेखि साँझ चार बजेसम्म स साना बालबालिकालाई क ख रा सिकाउँने मात्रै नभई, आमा सरह स्याहार गर्ने इसिडी शिक्षकको तलब र कामबीच निक्कै लामो दुरी कायम छ ।

न्यून पारिश्रमिकमा करिब १ सय ५० बालबालिकालाई अध्यापन गराउनु चुनौतीपूर्ण भएको बताउँदै वैद्यले, सरकारले पोसाक भत्ता दिने निर्णय गरेसंगै तलब बढाउँने निर्णय गर्नुपर्ने बताउँछिन । ‘सरकारले प्रदान गरेको ६ हजार तलबले न्यूनतम आवश्यकता पनि पूरा हँुदैन । हामीलाई विद्यालय स्वयंमले आन्तरिक स्रोत जुटाएर १४ हजार ७ सय तलब प्रदान गर्ने गरेको छ । यद्यपि, थुपै्र इसिडि शिक्षक ६ हजार तलबमा मात्रै काम गर्न बाध्य छन ।’उनले, सरकारले बालबालिकाको भविष्य कोर्ने इसिडी शिक्षकलाई सम्मान जनक तलब दिन नसकेको गुनासो गरिन् ।

बुढानीलकण्ठ नगरपालिका स्थित महांकाल जनजागृती माविमा अध्यापन गराउँदै आएकी इसिडी शिक्षीका गंगा थापाको पनि उस्तै गुनासो छ । विद्यालयको बालबाबिकास कक्षामा अध्यापन गराउँन थालेको १० वर्षमा उनको तलब बढेर ६ हजार पुग्यो । हाल, नगरपालिकाले थप तीन हजार र विद्यायलको आन्तरिक स्रोतबाट केही रकम थप गर्दा उनको तलब १५ माथि पुग्छ । तर, देशभरका हजारौँ इसिडी शिक्षक अन्त्यन्त कम पारिश्रमिकमा काम गर्नुपरेको उनले गुनासो गरिन् ।

सोही विद्यालयको पियन तहमा कार्यरत ताराकुरारि राई मासिक ७ हजार ५ सयमा काम गर्छिन । राइलाई सरकारले यस निर्णयले केही खुसि दिएतापनि सन्तुष्टता पनि दिलाउन सकेको छैन । कम्तीमा पनि, सामान्य जीवनयापन गर्न सक्ने सम्मको तलब प्रदान गर्नुपर्ने उनीजस्तै थुप्रै इसिडी शिक्षक र विद्यालय कर्मचारीको माग छ ।

मासिक ६ हजार सरकारी तलबमा काम गर्ने वैद्य, राई, थापा मात्रै हैन ।देशका ३० हजार इसिडी शिक्षक र ३४ विद्यालय कर्मचारीको उस्तै कथा छ । मेहनतअनुसार पारिश्रमीक नपाएको भन्दै पटक पटक आन्दोलन गरेतापनि सुनुवाई हुनु सकेको छैन । विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेल र कलंकीस्थित ज्ञानोदय माध्यमिक विद्यालय प्राधानाध्यापक नातिकाजी महर्जन इसिडी शिक्षकको मर्का सरकारले नबुझेको गुनासो गर्छन । विद्यालयको आन्तरिक स्रोतबाट तलब प्रदान गर्दै आएको बताउँदै दुबै प्रधानाध्यापले सरकारले इसिडी शिक्षक र कर्मचारीलाई आधारभुत आवश्यकता पुर्ति गर्नसक्नेसम्मको तलब प्रदान गर्नुपर्ने बताएका छन् ।

यता, शिक्षामन्त्रालयका प्रवक्ता वैकुन्ठ अर्यालले चालु आर्थिक वर्षबाटै सबै इसिडी शिक्षक र विद्यालय सहयोगीलाई दश हजार पोसाक भत्ता प्रदान गरिने जानकारी दिए । ‘सबै पालिकामा पोसाक भत्ता बापतको रकम निकासा गर्ने कार्य सुरु भइसकेको छ । साथै, अन्य सरकारी स्रोतमा कार्यरत कर्मचारी जस्तै इसिडी शिक्षक र विद्यालय कर्मचारीको पनि तलब पढाउँने प्रक्रियामा मन्त्रालय रहेको छ ।’अर्यालले अघि भने ‘दुवै तहका कर्मचारीलाई यथासिघ्र चाँडो पोसाक भत्ता पाउँनुका साथै तलब वृद्धिको निर्णय हुनेमा ढुक्क हुन आग्रह गर्दछु । ’

गत असार १२ गतेको मन्त्रिपरिषदको वैठकले इसिडी शिक्षक र विद्यालय कर्मचारीलाई अन्य कर्मचारी र शिक्षकसरह १० पोसाक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रतिक्रिया