१९ जनाको मृत्यु, ७ बेपत्ता

काठमाडौं । बिहीबार रातिबाट अविरल परेको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरमा १९ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार साँझसम्म आएको जानकारीअनुसार अन्य ७ जना बेपत्ता भएका छन् ।

गृह मन्त्रालयका अनुसार भने १५ जनाको मृत्यु भएको र ६ जना बेपत्ता भएको जनाएको छ । यसैगरी १३ जना घाइते भएको पनि उल्लेख गरेको छ । देशभर ४३५ घरका १ हजार १७५ जना विस्थापित भएको खबर आएको मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । १५३ जनालाई उद्दार गरिएको पनि मन्त्रालयले जनाएको छ । वर्षाका कारण देशभरका विभिन्न ११ वटा राजमार्ग अवरुद्ध भएको र तिनलाई खुलाउने प्रयास भईरहेको छ ।

काठमाडौंको मुलपानीस्थित बाबा चोकमा पर्खाल भत्किएर घर किच्दा तीनजनाको ज्यान गएको छ । कागेश्वरी मनोहरा–६ स्थित टहरामा बस्दै आएका उनीहरूको ज्यान गएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा बारा स्थायी घर भएका ३० वर्षीया नीतु यादव, ३५ वर्षीया शर्मिला यादव र उनका १० वर्षिया छोरा कुन्दन यादव रहेका छन् ।

वर्षाका कारण पहिरोले टहरो पुरेपछि हराइरहेका उनीहरूलाई एक्साभेटरको सहायताले खोजिएको थियो । काठमाडौंका अधिकाशं खोलामा क्षमताभन्दा बढी पानी आएपछि बस्तीतर्फ पसेको छ । कलंकीस्थित बल्खु खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । महानगरीय प्रहरी परिसरका अनुसार खोलाले बगाएको ग्याँसको सिलिन्डर समाउन जाने क्रममा विनोद चौधरी बेपत्ता भएको जानकारी दिएको छ ।

काभ्रेमा पहिरोले घर भत्कँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । काभ्रेको बनेपा–३, चुनातालमा घर पुरिँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो । रामप्रसाद दंगालको घर पुरिँदा उनकी श्रीमती अन्दाजी ५५ वर्षीय गोमा र ७ वर्षीया नातिनी सुहावीको मृत्यु भएको घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव निरीक्षक विष्णु सापकोटाले जानकारी दिए । घटनामा परी उनकी बुहारी सुशीला र जेठी नातिनी अनुष्का घाइते भएका छन् ।

पहिरोले घर पुरिँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखा बाघपच्याङमा दुई नाबालक छोरासहित आमाको मृत्यु भएको हो । वर्षापछि आएको पहिरोका कारण विष्णु राईको घर पुरिँदा उनकी श्रीमती रेखा राई र दुई नाबालक छोरा बेपत्ता भएका उनीहरूको अपरान्ह शव निकालिएको थियो । शुक्रबार बिहान झण्डै तीन-चार सय मिटर माथिबाट झरेको पहिरोले घर पुरिएको थियो । पहिरोमा भागेर ज्यान जोगाएका विष्णुको पनि हातखुट्टामा चोट लागेको छ ।

भोजपुरमा अविरल वर्षाको कारण घर भत्किँदा र चर्पी बगाउँदा दुईजनाको ज्यान गएको छ । पहिरोले चर्पी बगाउँदा चर्पीसँगै टेम्केमैयुम गाउँपालिका–९ लेखर्कका जनक विकको ज्यान गएको हो भने रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका जगतबहादुर राईको घरको चुलोको गाह्रो भत्किएर ज्यान गएको हो ।

खोलाले बगाएर झापामा एक बालिकासहित दुई जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार इलाम चुलाचुली गाउँपालिका–१ का ५१ वर्षीय अञ्चल लावती र संखुवासभा घर भई हाल दमक–१० मावली आएकी छ वर्षीया बालिका एलिजा न्यौपाने रहेका छन् । घर नजिकैको कमल खोलाले बगाएर बेपत्ता भएका उनिहरुको शव अपरान्ह फेला परेको थियो ।

पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका–१ बस्ने १० बर्षका निखिल पटेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सिंग्याही खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरिरहेका उनलाई बाढीले बगाएको प्रहरीले जनाएको छ ।

मकवानपुरको थाहा नगरपालिका–३ मा महाभीर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको मृत्यु भएको छ । दम्कीबाट खोलाले बगाएको उनलाई चार सय मिटर तल पुगेपछि स्थानीयले उद्धार गरी अस्पताल पु¥याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

सिन्धुलीमा पहिरोले गोठ बगाउँदा एकजनाको मृत्यु भएको छ भने दर्जनौँ घरमा क्षति पुगेको छ । अविरल वर्षासँगै आएको पहिरोले गोठ बगाउँदा फिक्कल गाउँपालिका–१ महादेवडाँडामा एक ३५ वर्षीया महिलाको मृत्यु भएको छ । गोठमाथिबाट आएको पहिरोले बगाउँदा स्थानीय ३५ वर्षकी हेमकुमारी सुनुवारको मृत्यु भएको फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिइन् ।

ललितपुरको बागमती नगरपालिका–३ मा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बागमती–३ का ११ वर्षीय सरोज तामाङ पहिरोमा पुरिएर मृत्यु भएको हो । रामेछाप नगरपालिका–५ करमटारमा गोठ भत्किँदा ७२ वर्षीया पदमकुमारी सुनुवार मृत्यु भएको छ ।

महोत्तरी बलवा नगरपालिका–२ बदियाका ७० वर्षीय वृद्धको बाढीले बगाएर मृत्यु भएको छ । घाँस काट्न गएका हमिद मियालाई खोला तर्ने क्रममा बाढीले बगाएको थियो । धादिङमा पहिरोले घर लडाउँदा बालिकाको मृत्यु भएको छ । गजुरी गाउँपालिका–४ की ८ वर्षीया अस्मिता तामाङको मृत्यु भएको प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए । यसैगरी प्रहरीका अनुसार पाँचथर, इलाम, मोरङ, सुनसरी, महोत्तरी, रौतहट र काठमाडौंमा एक एक जना बेपत्ता भएका छन् ।

आइतबारसम्म निरन्तर पानी
सशक्त न्यूनचापीय क्षेत्रमा जलवाष्पयुक्त मौसम प्रणालीले फन्को (सर्कुलेसन) मार्दा हावासहित देशभर अविरल वर्षा भइरहेको छ । पूर्वदेखि पश्चिमसम्म सशक्त न्युनचापीय क्षेत्रमा यो प्रणाली घुमिरहँदा हावासहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । यो प्रणाली विस्तारै पश्चिम क्षेत्रमा सिफ्ट हुँदै गएको र पश्चिम क्षेत्रमा वर्षाको सम्भावना रहेको अर्यालको भनाइ छ । अर्यालका अनुसार कालो बादलसहित हल्का छड्के पानी परेको छ ।

विगत केही दिनअघिबाट मनसुन सक्रिए भए पनि बिहीबारबाट मनसुन थप सक्रिए भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसोदेखि आइतबारसम्म देशभर वर्षा जारी रहने महाशाखाले जनाएको छ । खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

साथै पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै वर्षा हुने महाशाखाले जनाएको छ । केही स्थानमा हावाहुरीको समेत सम्भावना छ । महाशाखाका अनुसार शुक्रबार सबैभन्दा बढी पानी सिमरामा ३३१.९ मिलिमिटर परेको छ । त्यस्तै, काठमाडौंमा ११५.२ मिलिमिटर, ओखलढुंगा १०१.३, धनकुटा ७५.५, भैरहवा ४३.५, ताप्लेजुङ ३२.९, दाङ २१.३ मिलिमिटर परेको छ ।

खोला मिच्दा उपत्यकामा बाढी

विहिवार रातिदेखि परेको अविरल वर्षाका कारण राजधानीका अधिकाशं खोला किनारामा रहेका बस्तीमा पानी पसेको छ । खोलाको प्राकृतिक बहावमा मानिसहरूले अवरोध सिर्जना गरी भौतिक संरचना बनाएका छन् । जसले गर्दा पानीको निकास हुने ठाउँ साँघुरिएपछि बस्तीमा पानी पसेको हो ।

हनुमन्ते, बल्खु खोला, बागमती, मनोहरा खोलामा बाढी आएको छ । कलंकीको मैत्रीनगर र खसीबजार क्षेत्रका घरहरू डुबानमा परेका छन् । बाढीको कारण कलंकीमा रहेका मालपोत कार्यालय, ट्राफिक कार्यालय तथा प्रहरी कार्यालय पनि डुबानमा परेको छ । सडक, घर जलमग्न भएपछि जनजीवन कष्टकर बनेको छ । खसीबजार र मैत्रीनगरका घरहरूको पहिलो एकतल्ला डुबेको छ ।

कुलेश्वर क्षेत्र पनि डुबानमा परेपछि सेनाको उद्धार टोली खटिएको थियो । कुलेश्वरमा रहेका कुलेश्वर अपार्टमेन्ट, म्याट्रो अपार्टमेन्ट र ओरियन्टल कोलोनी डुबानमा परेपछि नेपाली सेनाले रबर बोट (डुंगा) लगेर स्थानीयबासीको उद्धार गरेको थियो । स्थानीयबासीका अनुसार कुलेश्वर क्षेत्रका अधिकांश घरमा पानी पसेको छ । पहिलो तल्ला पुरै डुबेपछि स्थानीयको उद्धारमा सेना र प्रहरी पुगेका हुन् । बाढी पसेपछि स्थानीयका सामान डुबेका छन । बाढीले ग्यासका सिलिन्डर, भाँडाकुँडा र अन्य सामान बगाएको छ ।

अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी भक्तपुरका बस्तीमा पस्न थालेपछि डुबानमा परेका छन् । बाढी भक्तपुर नगरपालिकाको सूर्यविनायक राम मन्दिर, बाराहीस्थान, मध्यपुरथिमिको राधेराधे, शंखधर चोक, सूर्यविनायक नगरपालिकाको बालकोट, चारदोबाटोलगायत क्षेत्रबाट बाढी बस्तीमा पसेको छ । शंखधर चोकबाट दधिकोट जाने पुल पनि भासिएको छ । मध्यपुरथिमि नगरपालिकाका बिस्कुट कारखाना, तरकारी बजारलगायत क्षेत्र डुबानमा परेका छन् ।

उद्दारमा खटिन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल बर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्दार गर्न र सम्भावित क्षति न्युनीकरण गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी केहि स्थानमा तत्काल बहाव खुलाउने काम भएको र अन्य स्थानमा पनि प्रयास भइरहेको बताएका हुन् ।

शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रालयगत प्रगति तथा समीक्षा कार्यक्रममा बोल्ने क्रममा उनले विपदमा परेकाको उद्दार र राहतमा कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जनाए । उद्दार र राहत कार्यलाई प्रभावकारी बनाउन समन्वयात्मक रुपमा परिचालित हुन पनि निर्देशन दिएका हुन् । प्रकोप क्षेत्रमा उद्दारका आवश्यक उपकरण, आवश्यक परेका ठाउँमा हेलिकप्टर र सुरक्षाकर्मी परिचालन भएको प्रधानमन्त्री ओलीले जनाए । साथै सम्भावित र जोखिम क्षेत्रका सर्वसाधारणलाई सचेत रहनका लागि सुचना प्रणालीलाई चुस्त बनाइएको प्रधानमन्त्रीको भनाइ छ ।

सम्पुर्ण स्थानीय तह र जनप्रतिनिधीलाई पनि पीडितको उद्दारमा खटिन प्रधानमन्त्रीले आग्रह पनि गरेका छन् । बाढी र पहिरोबाट ज्यान गुमाउनेका परिवारप्रति समवेदना प्रकट गर्दै उनले यस घडीमा एक अर्काको सहयोगमा जुट्न सबैलाई आह्वान समेत गरेका हुन् ।

प्रतिक्रिया