अफ्ताबमाथि एक वर्ष प्रतिबन्ध

एजेन्सी, इस्लामावाद । अफगानिस्तानको क्रिकेट बोर्डले एकदिवसीय विश्वकप क्रिकेटका दौरानमा अभद्र व्यवहार गरेको भन्दै राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य तथा तीव्र गतिका बलर अफ्ताब अलामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा एक वर्षको प्रतिबन्ध लगाएको छ ।

अफगानिस्तानले विश्वकपका दौरानमा नै अभद्र व्यवहार गरेको भन्दै अलामलाई विश्वकप भइरहेको समयमा नै स्वदेश फर्काएको थियो । उनको स्थानमा साइद अहमेद शिरजाडलाई टिममा राखिएको थियो। अफगानिस्तान क्रिकेट बोर्डले ‘आइसिसीको आचार संहिता विपरीत काम’ गरेको भन्दै उनलाई स्वदेश फर्काइएको तत्कालीन समयमा स्पष्टिकरण दिएको थियो । बोर्डले अफ्ताबमाथि २ साता अनुसन्धान गर्दै उनी दोषी पाएको बताएको छ ।

उनले साउथ ह्याम्टनको एक होटलमा महिला पाहुनामाथि अभद्र व्यवहार गरेको बोर्डको ठहर छ । त्यस्तै, उनले भारत र पाकिस्तानबीचको खेलमा खेलाडी बस्न नमिल्ने भिआइपी रूममा कब्जा गरेको जनाइएको छ । त्यहाँ आफूसँगै साथीलाई पनि लगेर राखेपछि उनी थप विवादमा फसेका थिए । खेलाडीको कार्ड दुरुपयोग गरेर निषेधित क्षेत्रमा गएपछि सुरक्षाकर्मीले त्यहाँ नबस्न आग्रह गरे पनि उनले बेवास्ता गरेका थिए । तर, उनका साथी भने बाहिर निस्किएका थिए । दायाँ हाते बलर अफ्ताबले अफगानिस्तानका लागि विश्वकपमा ३ खेल खेलेका थिए । उनले न्युजिल्यान्डविरुद्ध ३ विकेट र भारतविरुद्ध १ विकेट लिन सफल भएका थिए ।

प्रतिक्रिया