द्वन्द्वले उजाडिएकोे छेडा गाउँ

डोटीको बडीकेदार गाउँपालिका–२ को छेडा गाउँ हिजोआज सुनसान छ । साविकको बर्छैन गाविसअन्तर्गत पर्ने यो गाउँमा केही वर्ष पहिला राम्रै बसोबास थियो ।

अहिले गाउँमा न मान्छेको चहलपहल हुन्छ न त कसैको आवतजावत नै । विसं २०५९ वैशाख १९ गते उक्त गाउँमा तत्कालीन शाही नेपाली सेना र माओवादी विद्रोहीबीच भिडन्त भएर केही स्थानीय मारिए । बारीमा काम गरिरहेका उनीहरूको अनाहकमा ज्यान गएपछि बाँचेकाहरूले उक्त गाउँ छोडेका कारण सुनसान भएको हो । उक्त घटना घटेको १७ वर्ष भयो ।

विसं २०५८ फागुन ४ गते अछाम जिल्ला सदरमुकाम हानेपछि माओवादी नेता कार्यकर्ता छेडा गाउँ जम्मा हुने क्रममा थिए । उक्त सुइँको नेपाली सेना पायो । विसं ०५९ वैशाख १९ गते एकाएक गोली चल्न सुरु भयो । घटनामा माओवादीतर्फ कति हताहत भए थाहा भएन । स्थानीय उक्त घटनामा एक सयको हाराहारीमा माओवादी मारिएको अनुमान गर्छन् ।

‘माओवादीले त यसरी सेना आएर एकाएक आक्रमण गर्ला भन्ने सोचेकै थिएनन्’ स्थानीय रोजबहादुर कलेलले भने, ‘माओवादी त आफूहरू सुरक्षित भएको महसुस गर्दै थिए । सेनाले आएर एकाएक गोली हाने । माओवादीले तयारीसमेत गर्न पाएनन् । कति मरे मरे, अत्तो पत्तो छैन ।’ सेना गइसकेपछि माओवादी कार्यकर्ताहरू फेरि आएर आफ्ना घाइते कार्यकर्ताहरूलाई बोकेर लगेको र मृतकहरूलाई हतार हतारमा गाडेको कलेलले बताए ।

हलो जोत्दै गफिँदै गरेका छ जना स्थानीयमा छेडा गाउँकै चक्र मटेली पनि थिए । अन्य पाँचजनाजस्तै उनलाई पनि सेनाले लामबद्ध हुन लगायो । ‘ल तिमिहरू भाग, ज्यान बचाउ भनेका थिए सेनाले, चक्र भन्छन्, ‘तर हामीले हामी माओवादी होइनौँ यही गाउँका मान्छे हौं, भागेर कहाँ जाउँ’ भन्दा आमा छोएर गाली गर्दै गोली ठोके । हात, मुख र घाँटीमा गोली लागेका चक्रले त्यसपछि के भयो भन्ने आफूले थाहा नपाएको बताए 

‘लासहरू राम्रोसँग गाडिएका थिएनन, पछि स्याल र कुकुरले तानेर निकाले,’ कलेलले भने, ‘लामो समयसम्म गाउँ नै गन्हाइरह्यो । स्थानीयलाई बस्नसमेत समस्या भयो ।’ अहिले पनि मान्छेका हड्डीहरू देखिने गरेको गाउँलेहरू बताउँछन् । घटनाअघि १२ परिवार बस्थे छेडा गाउँमा । घटनापछि त्रसित भएका कतिपय तराईतिर बसाइ सरेर गएको स्थानिय लालबहादुर मन्नीले बताए ।

उनका अनुसार उक्त गाउँमा अहिले जम्मा तीन परिवार मात्रै छन् । अहिले उक्त गाउँ करीब करिब खण्डहर जस्तै बनेको छ । खेतीयोग्य जमिन बाँझा भएका कारण जताततै रूख र बोट बिरूवा मात्रै उम्र्रिएका छन् ।

बिहान करिब ११ बजे लहरैका खेतमा गोरू जोतेर धान छर्दै गरेका व्यक्तिहरूलाई माओवादीको आशंकामा सेनाले समात्यो । उक्त घटनामा माओवादीको आरोपमा मारिनेमा ७० वर्षीय रणवहादुर चन्द र ६५ वर्षीय दलबहादुर चन्द पनि थिए । गोरू किन्न भनेर आएका बर्छैन पुड्केपानी गाउँका डबलबहादुर सार्कीले पनि सोही घटनामा मारिनुपर्यो । ‘उनी गोरू किन्न आएका थिए, गोरूको मोलमोलाइ भइरहेको थियो,’ त्यो दिन सम्झदै अर्का स्थानीय चक्र मटेनीले भने, ‘त्यही वेला सेनाले आएर हामीलाई समात्यो ।’ सेनाको गोलीबाट २५ वर्षीय लालबहादुर चन्द र १८ वर्षीय टेकबहादुर चन्दको मृत्यु भयो ।

हलो जोत्दै गफिँदै गरेका छ जना स्थानीयमा छेडा गाउँकै चक्र मटेली पनि थिए । अन्य पाँचजनाजस्तै उनलाई पनि सेनाले लामबद्ध हुन लगायो । ‘ल तिमिहरू भाग, ज्यान बचाउ भनेका थिए सेनाले, चक्र भन्छन्, ‘तर हामीले हामी माओवादी होइनौँ यही गाउँका मान्छे हौं, भागेर कहाँ जाउँ’ भन्दा आमा छोएर गाली गर्दै गोली ठोके । हात, मुख र घाँटीमा गोली लागेका चक्रले त्यसपछि के भयो भन्ने आफूले थाहा नपाएको बताए । राति करिब ८ बजे होस खुलेपछि आफू नजिकैको दुम्सीको ओडारमा गएर बसेको उनी सम्झन् ।

उपचारका क्रममा करिब दुई लाख रूपैयाँ खर्च भएको चक्रको भनाइ छ । ‘मैले कतैबाट कुनै राहत पाइनँ,’ उनले भने, ‘पटक पटक गाविस र जिल्ला धाएँ तर, कसैले मेरो पीडा सुनेन ।’ छेडा घटनाको कारण त्रासले भागेका स्थानीय बासिन्दाका घरहरू अहिले धमाधम भत्किन थालेका छन् । गाउँमा सन्नाटा छ । खेतीपाती पनि कसैले गर्दैन । पूरै गाउँ जंगलै जंगलले ढाकेको छ ।

छेडा घटनामा मारिएका लालबहादुर चन्दकी पत्नी निर्मला चन्द घटनापछि गाउँ छोडेर खडेउलीमा बस्दै आएकी थिइन् । उनी बूढी सासूआमा र एक वर्षको छोरोसँगै बस्दै आएकी थिएन् । गस्तीमा गएका शाही सेनाले माओवादी लुकेको आरोपमा निर्मलाको घरमा घेरा हाल्यो । निर्मलालाई ढोका खोलेर बाहिर आउन भनियो तर सेनाकै गोलीबाट श्रीमान् गुमाएकी निर्मलाले बाहिर आउने हिम्मत गरिनन् । ‘निर्मला घरभित्रै थिइन, उनी, सानो बाबु पनि सँगै थियो,’ चक्र भन्छन्, ‘उनले ढोका नखोलेपछि सेनाले झ्यालबाट गोली हान्यो र उनको मृत्यु भयो ।’

विसं ०६१ साल असोजमा भएको यो घटनामा छोरा प्रकाश पनि घाइते भए । उनलाई सेनाले उपचारका लागि काठमाडौं लग्यो । हाल उनी शहीद स्मृति विद्यालय सुर्खेतमा अध्ययन गरिरहेको चक्रले बताए । घरमा सहारा दिने कोही नभएपछि निर्मलाका छोरा सुर्खेतमा पढिरहेको स्थानीय बताउँछन् । निर्मलालगायतका छेडा घटना पीडितलाई कहिले र कसले राहत दिने भन्ने कुरो अन्योलमै छ ।

स्थानीय मुना मटेनीले भनिन्, ‘आफू सानै उमेरको भएकाले पहिले गोली चल्दा त मन्दिर भत्काउन लागेका हुन् भन्ने सोचेकी थिएँ तर, जब अन्धाधुन्द गोली चल्न थाल्यो, गाउँलेको भागाभाग भयो, त्यसपछि मान्छे मार्दै रहेछन् भनेर थाहा पाएँ ।’

प्रशस्त मात्रामा उब्जनी हुने र सम्म परेको जमिन भएको उक्त ठाउँमा पुनः बस्ती बसाल्न पहल गरिनुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया