अस्पतालबाटै १३ दिने शिशु हराएपछि…

धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसुति विभागबाट सोमबार राति एक नवजात शिशु चोरीको खबर प्रहरीमा आइपुग्यो ।

भोक्राह गाँउपालिका–१ की बबिता मेहताको १३ दिने छोरा वार्डबाटै हराएको हो । बबिता र उनका कुरुवा भजित रोशन निदाएको समयमा शिशु हराएको थियो । बबिताले निद्राबाट थाहा पाउनेबित्तिकै सँगै सुतेको छोरा नभएपछि अस्पतालभर हल्ला खल्ला भयो । प्रहरीमा पनि खबर भयो ।

डाक्टर, नर्ससहित प्रहरीले पहिला अस्पतालभित्रै शिशुको खोजी गर्यो । सोही क्रममा डाक्टरहरुले त्याहाँ रहेका व्यक्तिमध्ये एक शंकास्पद महिलालाई फेला पारे । ती थिइन्, धरान १५ बस्ने लीला बिक । सुरुमा उनीमाथि केरकार भयो । तर लीलाले केही बताइन् बरु आफू नै अचेत भएजस्तो बहाना गरिन् ।

गर्भवती भएको साढे २ महिनामा माइती धरान आएकी उनको गर्भ ४ महिनाको हुँदा खेर गएको थियो ।माइतीबाट दिल्ली फर्किँदा श्रीमानले बच्चाबारे सोधखोज गर्ने डरले उनले शिशु चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ

त्यसैक्रममा कसैले उनको साथबाट मोबाइल भेट्टायो । उनको सो मोबाइलबाट हराईरहेको शिशु पत्ता लाग्यो । लिलाको मोबाइलमा आएको पछिल्लो नम्बरमा एक चिकित्सकले डायल गर्दा फोन उठाउनेको नजिकै बच्चा रोएको आवाज सुनेपछि लिलालाई सोधखोज गर्दा चोरी भएकै पत्ता लागेको थियो ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेका अनुसार लिला र मिना लिम्बु बिकले शिशु चोरेको बताए । दुवै जना नन्द भाउजु रहेको पनि उनले जानकारी दिए । ‘लीलाले आफ्नो भाउजू मिनालाई बोलाएर मेहताको नवजात बच्चा चोरी गरी टेम्पोमा पठाएकी रहेछ । मिनाले बच्चा बगरकोट पु¥याएकी रहेछन् । बगरकोटबाटै प्रहरीले बच्चा फेला पारेर मेहता दम्पतीलाई जिम्मा दिएका छौँ’, डीएसपी न्यौपानले भने ।

प्रतिष्ठानको प्रसूति गृहबाट बच्चा चोर्नका लागि लीला र मिना केही दिनअघिदेखि नियमित रूपमा बिरामी कुरुवाको नाटक गरेर आउने जाने गरेको रहस्य पनि खुलेको छ । बच्चा चोरी हुने राति पनि उनीहरू मध्ये लीला मेहता दम्पतीको क्याबिनमा आएर सुतेकी थिइन् । मेहता दम्पती र अरू कुरुवा सबै निदाएको मौका पारेर बच्चा चोरी गरेको रहस्य खुलेको प्रहरीले जनाएको छ । मेहता दम्पतीले आफ्नो बच्चा चोरी गर्नेहरूलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएको डीएसपी न्यौपानेले बताए ।

प्रहरीका अनुसार लीलाले आफ्नो श्रीमान् भारतको दिल्लीमा बस्ने गरेको प्रारम्भिक बयान दिएकी छन् । लीलाका सन्तान नभएका कारण आफूले छोरा बनाई पाल्ने उद्देश्यले नवजात शिशुको अपहरण गरेको प्रहरीलाई बयान दिएकी छिन् । भारतीय नागरिक चन्दन चौधरीसँग विहे गरी लक्ष्मी भारतको नयाँदिल्लीस्थित फरिदावादमा बस्दै आएकी थिइन् । गर्भवती भएको साढे २ महिनामा माइती धरान आएकी उनको गर्भ ४ महिनाको हुँदा खेर गएको थियो ।माइतीबाट दिल्ली फर्किँदा श्रीमानले बच्चाबारे सोधखोज गर्ने डरले उनले शिशु चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

डीएसपी न्यौपानेले भने ‘बच्चा खेर गएको र श्रीमानसँग सम्बन्ध बिग्रने डरले अपहरण गरेको देखिन्छ ।’ आफूहरूको सन्तान नभएकाले आफ्नै लागि बच्चा चोरी गरेको बताएपनि उनीहरूको नियतमा शंका गर्ने ठाउँ प्रशस्त रहेकाले थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया