शिक्षकको आवरणमा अपराध

शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका समाचार वेला वेला आउने गरेको भए पनि मृत्यु नै भएका समाचार भने आएका थिएनन् । तर कञ्चनपुर जिल्लामा यस्तो दुखद घटना घटित भएको छ । भीमदत्त नगरपालिका वडा नं १७ स्थित महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको शिक्षकको पिटाइबाट मृत्यु भएको छ । प्रहरीका अनुसार उनलाई यही असार १७ गते चारजना शिक्षक मिलेर निर्घात घुटपिट गरेका थिए । कुटपिटबाट छात्र कलौनीको छाती, टाउकोमा चोट लाग्नुका साथै दायाँ खुट्टा भाँचिएको थियो । उनलाई तत्कालै उपचारका लागि भारतको भोजिपुरा अस्पताल लगियो भने परिवारजनले कुटपिटमा संलग्न प्रधानाध्यापक यशोदा जोशी तथा शिक्षकहरू लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्रीविरुद्ध ज्यान मार्ने उद्योग गरेको जिकिर गर्दै निवेदन दियो । यस्तो अपराधमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्नेमा प्रहरीले गम्भीर रूपमा लिएन । उता उपचाररत छात्र कलौनीको मंगलबार अस्पतालमै निधन भयो । उनको निधन भएको थाह पाएलगत्तै प्रहरीले कुटपिटमा संलग्न चारैजना शिक्षकलाई पक्राउ गरेको छ । यो घटनापछि भीमदत्त क्षेत्रमा तनाव सुरु भएको छ । कुटपिटको जिम्मेवारी एकजना शिक्षकलाई लिन लगाएर बाँकी तीनजनालाई उम्काउने प्रयास भइरहेको आशंकाका साथ पीडित पक्षले दबाब सुरु गरेका छन् ।

शारीरिक आक्रमण पशुको स्वभाव हो, मानिसको स्वभाव होइन । शिक्षा तथा चेतना जागृत नभएको वेला मानिस मानिसबीच शारीरिक आक्रमण हुन्थ्यो, तर चेतनाको विकाससँगै शारीरिक आक्रमणले समस्या समाधान गर्ने होइन कि झन् वृद्धि गर्छ भन्ने कुरा मानिसले बुझ्दै गए । यस विषयमा समाजमा जागरण पनि सुरु भयो । आजको युगमा शारिरीक आक्रमणलाई निन्दनीय र कायरताको प्रतिक मानिन्छ । शारिरीक आक्रमण दानवियता हो भन्ने विषयमा समाजलाई सन्देश दिने भनेको शिक्षकले हो । तर, हाम्रो देशमा अझै पनि शिक्षकहरू नै शारीरिक आक्रमणमा उत्रने घटना रोकिएका छैनन् । विद्यार्थीबाट गल्ती हुनु स्वभाविकै हो । किनकि उ सिक्नका लागि विद्यालय गएको हुन्छ । सिकाउने दायित्व शिक्षकको हो । शिक्षकको पेसा भनेकै सकारात्मक पाठ सिकाउनु हो । विद्यार्थीले गल्ती गरेको अवस्थामा सम्झाउने बुझाउने अनेक माध्यम छन् । शारीरिक दण्ड दिइरहनु आवश्यक छैन । सम्झाउँदा बुझाउँदा पनि केही लागेन, पटक–पटक हेलचक्र्याइँका साथ गल्ती दोहोर्याइरह्यो भने अविभावक सँग सल्लाह गरेर सामान्य शारीरिक दण्ड दिने प्रचलन नभएको होइन । विकसित मुलुकमा यो प्रचलन ठ्याम्मै छैन, कानुनद्वारा नै वर्जित छ । बाबु आमाले समेत शारिरिक दण्ड दिन पाउँदैनन् । तर, भारत नेपाललगायत दक्षिण एसियामा पटक पटक हेलचक्रयाइँ गर्ने विद्यार्थीमाथि सामान्य शारिरिक दण्ड दिने गरिन्छ, यद्यपि, सरकारले निषेध गरेको छ । तर, अंगभंग नै गरी कुटपिट गरिएका धेरै घटना सतहमा आउने गरेका छन्, हुँदा हुँदा शिक्षकको कुटपिटबाट विद्यार्थीको मृत्यु नै भएको छ । एक्काइसौं शताब्दिको यो युगमा यहा“भन्दा दुर्भाग्य घटना अब के हुन सक्छ ?

कञ्चनपुरमा भएको यो घटनालाई सरकारले निकै गम्भीरताका साथ लिनुपर्छ । विद्यार्थीले गल्ती गर्नुको मुख्य कारण शिक्षकको कमजोरी हो । असल शिक्षकले पढाएका विद्यार्थीले गल्ती दोहोर्याउँदैनन्, हेलचेक्रयाँइँ गर्दैनन् । विगतमा शिक्षकद्वारा विद्यार्थी कुटिने घटना धेरै भएका छन् । यस्ता शिक्षकलाई तत्काल बर्खास्त गरिएको भए कञ्चनपुरमा यो दुःख घटना हुँदैनथ्यो कि, शिक्षकहरू सर्तक हुन्थे कि ? भन्ने टिप्पणी शिक्षा क्षेत्रका विज्ञहरूले गरेका छन् । खासगरी पछिल्लो समयमा शिक्षकहरू आफ्नो मूल जिम्मेवारी प्रति विमुख भएका छन् । पढाउनभन्दा राजनीति तथा अरू व्यवसायतिर ध्यान दिने, विद्यार्थीलाई कुटपिट गरेर तर्साउने प्रचलन बढेको छ । यसलाई गम्भीर समस्याका रूपमा लिनुपर्छ ।

प्रतिक्रिया