सर्वोच्चले मगायो अग्नि सापकोटाको फाइल

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री अग्नि सापकोटाको फाइल मगाएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगमा रहेको उनी विरुद्धको उजुरीको फाइल मगाउन सर्वोच्चले आदेश दिएको हो ।

व्यक्ति हत्या अभियोगमा पूर्वमन्त्री अग्नि सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी परेको थियो । काभ्रेको अर्जुन लामा हत्याको घटनामा सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त घटनाको उजुरी सत्य निरुपण तथा मेलमिलाप आयोगमा दिएको भए उक्त निवेदनको प्रतिलिपि मगाउन आदेश दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले आयोगमा निवेदन दिएको भए त्यसको प्रतिलिपि मगाउन आदेश दिएको छ ।

२०६२ साल वैशाख १६ गते तत्कालीन विद्रोही माओवादीको अपहरणमा परेका लामाको दुई महिनापछि शव भेटिएको थियो । उनको हत्यामा संलग्नताको आरोपमा तत्कालीन माओवादी नेता अग्नि सापकोटासहित विरुद्ध रिट काभ्रे जिल्ला छत्रेवाझ गाविस–५ दाप्चाकी मृतककी पत्नी पूर्णिमाया लामाले हत्या गरेको भन्दै जाहेरी दर्ता गरेकी थिइन् । लामाकी पत्नीले ७ मंसिर २०६९ मा जिल्ला अदालत काभ्रेमा सो जाहेरी दर्ता गराएकी थिइन् ।

सो मुद्दा पुनरावेदन हुँदै सर्वोच्चसम्म आइपुगेको हो । सर्वोच्च अदालतमा यसअघि २०७२ चैत १२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासले टुंगो लगाउनुपर्ने आदेश दिएको थियो ।

अर्जुन लामालाई काभ्रे छत्रेवाझ गाविसस्थित श्री कृष्ण माध्यामिक विद्यालयको प्रांगणबाट २०६२ वैशाख १६ मा अपहरण गरेर लगी २०६२ असारको दोश्रो हप्ता बुढाखानी गाविसको चार किल्लाक्षेत्रमा पु¥याई हत्या गरेको रिटमा उल्लेख छ ।

प्रतिक्रिया