भोजपुर । प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा परी प्रहरीका जवान सञ्जीव राई र विप्लव समूहका ओखलढुंगा इन्चार्ज नीरकुमार राईको मृत्यु भएको हो ।
भोजपुर नगरपालिका–७ हटिया लाइनको एक होटलमा झडप भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । मृतक दुवै जना एक अर्कासँग परिचित रहेको र केही समय धक्कामुक्की भएपछि गोली हानाहानको अवस्थामा पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । बुधबार बिहानै चिया नास्ताका लागि नीरकुमार पाँचधारे होटलमा बसिरहेका थिए ।
प्रहरीलाई सो क्षेत्रमा केही विप्लवका नेता कार्यकर्ता रहेको सूचना आएको थियो । सोही सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकका जवान सञ्जीव राई, सोमनाथ भट्टराई र सुरेन्द्र माझी खटिएका थिए । नीरकुमार भएको पाँचधारे होटलमा प्रवेश गरेर प्रहरीले उनीसँग केहीबेर कुराकानी गरेको प्रत्यक्षदर्शी बताउँछन् ।
कुराकानीकै क्रममा नीरकुमारले शरीरमा लुकाएको पेस्तोल निकाली इलाका प्रहरी कार्यालय लेटाङमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान संजीवको कोखामा गोली प्रहार गरी घाइते बनाए । घाइते संजीवले पनि जवाफी फायरमा विप्लव समूहका नीरकुमार पनि घाइते भएको स्थानीयप्रत्यक्षदर्शीले बताए ।
नीरकुमार घाइते अवस्थामा भाग्न खोज्दा त्यहाँ खटिएका अन्य दुई प्रहरीले पक्राउ गर्न खोजेपछि लछारपछार भएको थियो । लछारपछारको क्रममा जिल्ला प्रहरी कार्यालय भोजपुर सञ्चारमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान भट्टराई र माझी पनि घाइते भएका छन् । प्रहरी जवान भट्टराइको बायाँ कुमको हड्डी भाँचिएको छ भने माझीको अवस्था सामान्य रहेको बताइएको छ । प्रहरीले घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लगिएको थियो ।
उपचारका क्रममा प्रहरी जवान संजीवको ९ बजेर १५ मिनेटमा र नीरकुमारको ९ बजेर २० मिनेटमा ज्यान गएको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले बताए । घटनास्थलबाट विप्लव समूहसँग रहेको ठूलो चाइनिज पेस्तोल एक थान, म्याग्जिन एक थान र त्यसमा लाग्ने ६ राउन्ड गोली प्रहरीले बरामद गरेको छ । विप्लव समूहका ४–५ जना कार्यकर्ताहरू भागेर फरार भएपछि उनीहरूको खोजीका लागि व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ । घटना जिल्ला प्रहरी कार्यालयबाट करिब सात सय मिटरको दुरीमा रहेको छ ।
प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार अहिले भोजपुर सदरमुकामको सुरक्षा व्यवस्था कडा पारिएको छ । मृतक प्रहरी जवान र विप्लव कार्यकर्ताको शव जिल्ला अस्पतालमा राखिएको छ । एक घाइते प्रहरीको भोजपुर अस्पतालमै उपचार भइरहेको छ । भिडन्तमा मारिएका निरकुमार आइतबार मात्रै भोजपुर आएका थिए ।
उनी आफ्नो कार्यक्षेत्र ओखलढुंगा फर्कने क्रममा रहेका थिए । तर, आफ्नी श्रीमतीलाई भेट्न भनेर उनी रोकिएका थिए । नीरकुमार र सञ्जीवको सोही वडामा दुई सय मिटरको फरकमा डेरा छ । सञ्जीव लामो समय भोजपुर प्रहरीमा सादा पोशाकमा कार्यरत थिए । उनीहरू आपसमा परिचित रहेका थिए । एक सालयता नीरकुमार ओखलढुंगामा पार्टी गतिविधिमा सक्रिय थिए । कहिलेकाहीँ भोजपुर आइरहन्थे । श्रीमती डेरामा भएका कारण भेट्न आउने गरेका थिए । उनी पूर्वमाओवादी लडाकु समेत हुन् ।
प्रतिक्रिया