काठमाडौँ । यस वर्षको ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ राष्ट्रिय समाचार समिति (रासस) का प्रकाश सिलवालसहित १० जना पत्रकारलाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघले केन्द्रीय बालकल्याण समितिको सहकार्यमा प्रदान गर्दै आएको सो पुरस्कारबाट राससका सिलवाल, नागरिक दैनिकका हिमाल लम्साल (संयुक्त उपत्यका) र खगेन्द्र अधिकारी (उपत्यका बाहिर, ताप्लेजुङ) लाई प्रदान गर्ने निर्णय गरेको हो ।
रेडियोतर्फ उपत्यकामा रामकुमारी खड्का (रेडियो उज्यालो एफएम) र उपत्यका बाहिरबाट रुमा रिजाल (रेडियो सप्तकोशी एफएम) लाई प्रदान गर्ने भएको छ । त्यस्तै टेलिभिजनतर्फ धनवीर दाहाल, रुकुम (नेपाल टेलिभिजन), कोपिला पोखरेल, कपिलवस्तु (बुद्ध आवाज टेलिभिजन), धनमाया भुसाल, नवलपरासी (जनता टेलिभिजन) संयुक्त–उपत्यका बाहिर र कार्यक्रम प्रस्तोतातर्फ सामुदायिक रेडियो प्रसारक संघ (सिआइएन) र कान्तिपुर एफएमका शर्मिला खनाललाई प्रदान गरिने भएको छ ।
पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासंघ, केन्द्रीय बालकल्याण समिति र प्रेस काउन्सिल नेपालको संलग्नतामा गठित छनोट समितिले यही असार १७ गते बसेको बैठकले उक्त १० जना पत्रकारलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । छनोटका लागि गत वैशाख २६ गतेदेखि जेठ १५ गतेसम्म प्राप्त भएका २८ आवेदनको अध्ययन तथा छानबिन गरी रेडियो, छापा, टिभी र कार्यक्रम प्रस्तोतालाई दिने भएको हो ।
छनोट समितिले आवेदनमा सामग्रीको प्रस्तुति र भाषा, विषयवस्तुको छनोट तथा गहनता, विषयको सान्दर्भिकता, खोज तथा अनुसन्धान पत्रकारिता प्रयोग एवं व्यक्तिगत विवरण र अनुभवलाई मूल्याङ्कनको आधार बनाएको थियो ।सो पुरस्कार यही असार २९ गते महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा मगरले प्रदान गर्नेछन् । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।
प्रतिक्रिया