घाना बाहिरियो

एजेन्सी, इजिप्ट । घाना अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ को खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबार भएको खेलमा घानालाई ट्युनिसियाले पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको हो । जितपछि ट्युनेसियाले अन्तिम ८ मा स्थान पक्का गरेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो । ट्युनिसियाका गोलकिपर फारूक बेन मुस्तफाले नायकत्व प्रर्दशन गर्दै घानाका कालेब एकबनको पेनाल्टी रोकेका थिए ।

बाजदी किचिडाको क्रसमा ताहा यासीन खनेसीले ७३औँ मिनेटमा गोल गर्दै ट्युनेसियालाई सुरूआती अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ईन्जुरी समयमा रामी बेदोईले आत्मघाति गोल गरेपछि घाना खेलमा फर्किएको थियो । ट्युनिसियाले अब सेमिफाइनल प्रवेशका लागि फिफा वरियताको १ सय ८औँ नम्बरमा रहेको माडागास्करसँग प्रतिस्पर्धा गर्नेछ ।

कंगोलाई पेनाल्टी सुटआउटमा हराउँदै मदगास्कर अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा पुगेको थियो । पहिलो पटक प्रतियोगितामा सहभागिता जनाको मदगास्करले कंगोलाई पेनाल्टीमा ४–२ ले हरायो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । मदगास्करले दुबै पटक खेलमा अग्रता लिएपछि कंगो खेलमा फर्किएको थियो ।

नवौँ मिनेटमा इब्राहिम आमादाले गोल गर्दै मदगास्करलाई अग्रता दिलाए । तर २१औं मिनेटमा सेड्रिक बाकाम्बुले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । ७७औँ मिनेटमा फानेभा एड्रियाट्सिमाले गोल गरेर फेरि मदगास्करलाई अग्रता दिलाए । ९०औँ मिनेटमा एबेम्बाले गोल गरेपछि खेल बराबरीमा पुग्यो । आधा घण्टाको अतिरिक्त समयमा गो हुन सकेन र खेल खेल पेनाल्टीमा पुग्यो ।

पेनाल्टीमा कंगोका टिसेरान्ड र बोलासीको प्रहार गोलमा परिणत नहुँदा मदगास्कारका सबै खेलाडीले गोल गरेका थिए । अल्जेरिया पनि क्वार्टर फाइनलमा पुग्न सफल भएको छ । इजिप्टको काइरोमा भएको खेलमा अल्जेरियाले गिनीलाई ३–० ले हरायो । अल्जेरियाको जितमा युसेफ बेलाइलीले २४औँ मिनेटमा, रियाद मेहरेजले ५७औँ मिनेटमा र एडम अउनासले ८२औँ मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया