काठमाडौं । थाइल्यान्डको बैंककमा आयोजना हुने थाइल्यान्ड ओपन कराँते च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक नवीन उप्रेतीले सातदोबाटोमा विदाइ गरेका छन् । आषाढ २५ देखि २९ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोलीको नेतृत्व खेलकुद विज्ञान प्रतिष्ठानका उपनिर्देशक तुलसी कुमार महर्जनले गर्ने छन् । प्रशिक्षकमा रामकृष्ण खड्गी रहेका छन् । यस्तै एसियन प्यासिफिक कराँते रेफ्रि रविन्द्र मानन्धरले निर्णायकको भूमिका निर्वाह गर्ने छन् । टोलीमा खेलकुद विज्ञान प्रतिष्ठानकी सहलेखापाल ईरा कार्की पनि रहेकी छिन् । मन्टि कुमार मंडलले व्यवस्थापकको रूपमा टिममा छन् ।
च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरूमा विमला नेपाली (व्यक्तिगत काता), अनिष लामा (सिनियर कुमिते), राजकुमार श्रेष्ठ (सिनियर काता) र दीपक बि.क. (काता र कुमिते) रहेका छन् । यस्तै संजु देशार (यु १४ काता र कुमिते), रश्मि पाण्डे (कुमिते), कुशुम तामाड (कुमिते र काता), हृषभ राज गिरी (जुनियर कुमिते), सूर्य विक्रम भण्डारी (क्याडेट कुमिते) तथा अश्मिता राई (कुमिते) रहेका छन् । अश्मिता राष्ट्रिय टिममा परेकी खेलाडी हुन् ।
टिमहरूलाई शुभकामनासहित बिदाई गर्दै नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक उप्रेतीले सानका खेलाडीहरूले विगतमा पनि मुम्बईमा आयोजना भएको कराते च्याम्पियनसिपमा टिम च्याम्पियन तथा थाइल्यान्डमानै भएको च्याम्पियनसिपमा उच्च प्रर्दशन गर्दै राष्टको नाम उच्च राख्न सफल भएको भन्दै उक्त इतिहासलाई पुनः दोहोराउनेमा आफू विश्वस्त रहेको बताए । उनले खेलाडीहरूले अनुशासनमा रहेर प्रतिस्पर्धा गर्न र खेलाडीहरूलाई अनुशासनमा राख्न प्रशिक्षक तथा टिम लिडरलाई निर्देशन दिए ।
प्रतिक्रिया