कृत्रिम ताल बन्ने तयारीमा तावाभञ्ज्याङ

खोटाङको साकेला गाउँपालिका–३ खिदीमाको पर्यटकीयस्थल तावाभञ्ज्याङमा बन्न लागेको कृत्रिम तालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने तावाभञ्ज्याङमा रहेको खाली ठाउँमा १ नं प्रदेशकै नमूना तथा ठूलो कृत्रिम ताल निर्माण गर्ने तयारीका साथ डिपिआर तयार गरिएको हो ।

करिब ५६ करोड रुपैयाँ लागतमा निर्माण गरिने कृत्रिम तालका लागि प्रदेश नं १ सरकार र साकेला गाउँपालिकाको लगानी हुने गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए । ‘प्रदेश सरकारसँगको सहकार्यमा साकेला गाउँपालिकालाई पर्यटकीय क्षेत्र बनाउने योजनाका साथ अगाडि बढेका छौँ,’ उनले भने, ‘प्रदेश सरकारको क्रमागत योजनामा परेको तावाभञ्ज्याङमा निर्माण गरिने आधुनिक तथा नमुना कृत्रिम तालका लागि यस वर्ष गाउँपालिकाबाट ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।’

समुद्री सतहदेखि करिब दुई हजार २०० मिटरको उचाइमा रहेको तावाभञ्ज्याङमा साढे ६०० मिटर लम्बाइ र ५०० मिटर चौडाइ रहने गरी कृत्रिम ताल निर्माण हुने डिपिआरमा उल्लेख छ । प्राकृतिक रूपमै पर्यटकीयस्थल रहेको तावाभञ्ज्याङमा कृत्रिम ताल निर्माण हुने भएपछि स्थानीयसमेत हर्षित बनेका छन् ।

आगामी तीन वर्षभित्र पूरा गर्ने योजनाका साथ निर्माण गरिने कृत्रिम तालको काम आर्थिक वर्ष लाग्ने बित्तिकैबाट सुरु गरिने गाउँपालिकाले जनाएको छ । ताल निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकलाई करिब तीन घण्टासम्म डुंगा सयर गराउने, पौडी खेल्न मिल्ने, तालभित्र माछा तथा हाँसपालनलगायतका क्रियाकलाप गर्न सहज हुने गाउँपालिका प्रमुख खड्काले बताए ।

प्राकृतिक सौन्दर्य तथा विभिन्न वन्यजन्तु अवलोकन गर्नसमेत सकिने ठाउँमा रहेको तावाभञ्ज्याङको तल्लो भेगमा पर्यटकलाई थप आकर्षित गर्न रेन्बोट्राउटको स्रोत केन्द्र बनाउने काम सुरु गरिएको छ । गत वर्ष प्रदेशसभा सदस्य रामकुमार राईको संसदीय विकास कोषको आठ लाख रुपैयाँबाट सुरु गरिएको स्रोत केन्द्रका लागि यस वर्ष प्रदेश सरकारबाट २५ लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।

भोजपुरको पाँचधारे तथा टेम्केको फेदमा पर्ने तावाभञ्ज्याङको माथिल्लो भेगमा सहिद उद्यान निर्माण गर्ने योजना प्रदेश सरकारबाट स्वीकृत भएर आएको गाउँपालिकाले जनाएको छ । सहिद उद्यानका लागि प्रदेश सरकारबाट १५ लाख बजेट प्राप्त भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले बताए ।

नेपाल सरकारले निर्धारण गरेको १०० मुन्धुम ट्रेल (पदमार्ग) पर्ने टेम्के, मैँयू, पाँचधारेलगायतका रमणीय स्थान नजिकै रहेको तावाभञ्ज्याङमा निर्माण गरिने कृत्रिम ताल आवतजावत गर्न सडकसमेत निर्माण गरिएको छ । चारैतिरबाट राष्ट्रिय सडक सञ्जालमा जोडिएको तावाभञ्ज्याङमा कृत्रिम ताल बनेपछि तराईका जिल्लाबाट समेत पहाडी भूगोल अवलोकन गर्न पर्यटक आउने अपेक्षा गरिएको छ ।

तावाखोलाको शिर थुनेर निर्माण गरिने कृत्रिम ताललाई (मुन्धुम ट्रेल) पदमार्गसँग समेत सम्बन्ध जोड्ने योजना बनाइएकाले यसको भविष्य उज्ज्वल रहेको पर्यटन व्यवसायीले बताएका छन् । आधुनिक तरिकाले निर्माण गरिने कृत्रिम तालको आसपास रहेको पर्यटकीयस्थल पुग्न पदमार्गसमेत निर्माण गरिने जनाइएको छ ।

ताल निर्माणपछि आसपासमा पानीको स्रोत बढ्नुका साथै पर्यावरणमा समेत सघाउ पुग्ने विज्ञहरुले बताएका छन् । मुहान संरक्षण अभावमा अधिकांश पानीका स्रोत सुक्दै गएको अवस्थामा कृत्रिम ताल निर्माणले आसपासका पानीको स्रोत पुनः बढ्ने अनुमान गरिएको गाउँपालिकाले जनाएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने तावाभञ्ज्याङ वरिपरि राष्ट्रिय फूल लालीगुँरास, चिमाल, सुनाखरी, चाँप, सुनपाती, भैरुङपातीलगायतका फूल तथा जडीबुटी प्रशस्तै पाइन्छन् । लेकाली जीवजन्तु तथा चराचुरुंगी हरिण, मृग, घोरल, खरायो तथा मुनाल, सिमकुखुरा, कालिज, प्युरा, हलेसो, ढुकुरलगायत प्रशस्तै भेटिने पर्यटकीयस्थल तावाभञ्ज्याङमा अहिले पनि दैनिक आन्तरिक तथा बाह्य पर्यटक घुम्न र वनभोज खान आउने गरेको स्थानीय रामकृष्ण राईले बताए ।

आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएपछि बजारसमेत विस्तार भएको तावाभञ्ज्याङमा अहिले सत्र घर स्थानीयको बसोवास रहेको छ । होटल तथा अन्य व्यवसाय गर्दै आएका १७ घरमध्ये कृत्रिम ताल निर्माण गर्दा छ घर विस्थापित हुने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ । बहुउद्देश्यीय योजना रहेको कृत्रिम ताल निर्माणले विस्थापित हुने घरपरिवारलाई उचित क्षतिपूर्ति दिएर सुरक्षित ठाउँमा सार्ने पहलसमेत सुरु गरिएको गाउँपालिका प्रमुख खड्काले बताए । उनीहरुलाई आगामी दिनमा घरवास (होमस्टे) सञ्चालन गर्न तालिमको व्यवस्था गरिएको जनाइएको छ ।

तावाभञ्ज्याङ आसपास होमस्टे सञ्चालनका लागि डिपिआर गर्ने कामसमेत सुरु गरिएको गाउँपालिकाले जनाएको छ । रेन्बोट्राउटको लागि निर्माणाधीन स्रोत केन्द्र आसपास होमस्टे सञ्चालन गरिने जनाइएको छ ।

प्रतिक्रिया