अर्घाखाँची । प्रदेश–५ सरकारले ल्याएको नयाँ कार्यक्रमअन्तर्गत ८४ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई चेकजाँच तथा उपचार निकै प्रभावकारी बन्दै गएको छ ।
छत्रदेव गाउँपालिका–७ साविक भगवती गाविसकी ८८ वर्षीया जयकला पाण्डेले घरमै चेकजाँच हुँदा ज्यादै खुसी भइन् । उनले भनिन्, ‘स्वाथ्यचौकी टाढा थियोे, हिँडेर जान पनि गाह्रो भएको बेला घरमै आएर डाक्टरले विनापैसा चेक गर्नु खुसी लाग्यो सरकारले बुढाबुढीलाई माया गर्ने भयो ।’
भगवतीकै ८५ वर्षीया टोपकला पन्थीले पनि घरमै उपचार गर्न पाउँदा खुसी भएको बताइन् । उनले भनिन्, ‘मनमा शान्ति आएको छ अब त केही बिरामी भए पनि घरमा डाक्टर आएर उपचार गर्नु हुनेभयो । पैसा पनि चाहिँदैन भन्छन् । एकपटक उपचार गरे औषधि पनि लिइँ, पैसा लागेन डाक्टर घरमै आउनु यो फेरी केही भए जतिवेला पनि आउँछु भन्नुभएको छ ।’
छत्रदेव गाउँपालिका–७ का अध्यक्ष शोभाखर पाण्डेले भने, ‘गाउँपालिकाबाट पनि वृद्धाभत्ता वितरणसँगै स्वाथ्य चेकजाँच त नियमित गरेको छौँ, तैपनि यो घरघरमै गएर उपचार गर्दा निकै प्रभावकारी हुने देखियो यसलाई अझ व्यवस्थित गर्न वडाबाट योजना बनाउँदै छौँ ।’
प्रत्येक महिनाको दुईपटक ८४ वर्ष पुगेका ज्येष्ठ नागरिकको घरमै गएर अनिवार्य चेकजाँच तथा उपचार गर्न सुरु गरेको भगवती स्वाथ्य चौकीका इन्चार्ज कमल पाण्डेले जानकारी दिए । पाण्डेले भने ‘ज्येष्ठनागरिकको घरमै गएर उपचार गर्दा आपूmहरूलाई सेवाप्रवाहमा सन्तुष्टि मिलेको छ अहिले ४७ जनाको चेकजाँच गरियो अब सबैको नियमित र प्रभावकारी सेवा प्रवाह गर्ने योजना पनि बनाएका छौँ ।’
भगवतीकै स्थानीय जंग परियारले भने, ‘यसरी घरमै आएर बुढाबूढीलाई जाँच गराउँदा घरका सदस्य र टोलका अरूले समेत नियमित उपचार र चेकजाँच गर्न पाइने भयो । यो कार्य स्वाथ्य क्षेत्रको निकै प्रशंसनीय कार्य भयो ।’
भगवतीका स्थानिय कृष्ण पाण्डेले भने, ‘हजुरआमाको जसरी घरमै आएर उपचार भयो यसरी नै सबै नागरिकको पनि घरमै उपचारको व्यवस्था सरकारले गरिदिनुपर्छ ।’
अर्घाखाँची
प्रतिक्रिया