नेकपा जिल्ला इन्चार्ज छनौट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले एकताका बाँकी काम टुंगोमा पु¥याउने कामलाई तीव्रता दिन थालेको छ । असार महिनाभित्र एकता सकिसक्ने घोषणा गरेको नेकपाले बाँकी काममा सहमति जुटाउन शीर्ष तहमा छलफल सुरु गरेको हो ।

नेकपाले जिल्ला कमिटिका इन्चार्ज र सह–इन्चार्जमा पुरानै मापदण्डअनुसार चयन गर्ने तयारी गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन शीर्ष नेताको बैठकमा पुरानै नेतालाई जिम्मेवारी दिने विषयमा छलफल भएको छ । अध्याद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानैलाई फेरि जिल्ला इन्चार्ज तोक्ने प्रस्ताव गरेका हुन् ।

वरिष्ठ नेता माधवकुमार नेपालले दोहोरो भूमिका दिन नहुने बताएपछि केही विवाद निस्किएको छ । यद्यपी पार्टी एकतापूर्व जिल्लाका इन्चार्ज रहेका दुवै तर्फका नेतालाई इन्चार्ज र सहइन्चार्ज बनाउने पुरानै मोडल अपनाउने लगभग सहमति जुटेको स्रोतको दाबी छ । ७७ जिल्लाका इन्चार्जमध्ये पूर्व एमालेबाट ६० प्रतिशत र पूर्व माओवादीबाट ४० प्रतिशत रहने गरी जिल्ला इन्चार्ज तोकिने छन् ।

पूर्वएमाले जिल्ला अध्यक्ष रहेको जिल्लामा पूर्वमाओवादी केन्द्रलाई इन्चार्ज बनाउने र पूर्वमाओवादी केन्द्र जिल्ला अध्यक्ष रहेको जिल्लामा पूर्वएमाले इन्चार्ज रहने प्रस्ताव पनि अघि सारिएको छ । इन्चार्ज र सहइन्चार्जमा छनौटमा पनि जिल्ला अध्यक्ष छान्ने विधि नै अपनाउने विषयमा नेता नेपालले आंशिक असहमति जनाएका छन् । ‘साविक (पूर्वएमाले र माओवादी केन्द्र) पार्टीमा जिल्ला इन्चार्ज र सहइन्चार्जको भूमिकामा रहेकालाई नै जिम्मेवारी दिनेगरी प्रस्ताव ल्याइएको छ, त्यसमा सहमति भइसकेको छैन’, नेपाल निकट एक नेताले भने ।

छलफल टुंगोमा पुगिनसकेको नेपाल पक्षको भनाइ छ । अध्यक्षद्वयले ‘एक व्यक्ति एक पद’ को सिद्धान्त अस्वीकार गरिएकाले संघ र प्रदेशमा मन्त्री वा संसाद रहेकाहरू पनि इन्चार्ज बनाउन सक्ने प्रस्ताव गरिएको छ । तर, नेपालले राजकीय पदमा रहेकालाई यस्तो जिम्मेवारी दिन नहुने अडानमा रहेपछि सहमति जुट्न नसकेको बताइएको छ ।

नेता नेपाल पक्षलाई पनि मान्य हुनेगरी प्रस्ताव अघि सारिएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए । ‘उहाँ (माधव नेपाल)को प्रस्तावसमेतलाई मनन् गरी तीनै पक्षलाई मान्य हुनेगरी छलफल भइरहेको छ । सहमति जुटिसकेको छैन । वरीयता र पुरानै कमरेडहरूलाई जिम्मेवारी दिनेगरी छलफल चलेको छ’, उनले भने । नेता नेपाल मंगलबार नै श्रीलंका भ्रमणमा गएपछि यसविषयमा थप छलफल हुन सकेको छैन ।

उनी २९ गते स्वदेश फर्कने र छलफल गरी कार्यविभाजनको टुंग्याइने नेकपाका नेताहरूले जानकारी दिएको छ । असार ३० गते सचिवालय बैठक बोलाउने तयारी अध्यक्षद्वयले गरेका छन् । नेता नेपालसँग सहमति जुटेपछि सचिवालय बैठक बोलाएर टुंगोमा पु¥याउने तयारी गरिएको हो ।

नेकपामा चार सय ४५ केन्द्रीय सदस्यको कार्यविभाजन हुन बाँकी छ । पोलिट्ब्युरो गठन पनि हुन सकेको छैन । पार्टीको अन्तरिम विधानअनुसार नेकपाले केन्द्रीय कमिटीको एकतिहाइ संख्याको पोलिटब्युरो गठन गर्न सक्नेछ । प्रवास कमिटी, ३२ वटा विभाग र केन्द्रीय निकायहरूको गठन पनि हुन सकेको छैन । केही दिनअघि दुई अध्यक्षले राजनीतिक प्रतिवेदन टुंगो लगाएर छाप्ने जिम्मेवारी महासचिव विष्णुप्रसाद पौडेललाई दिइसकेका छन् ।

प्रतिक्रिया