काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमी, काठमाडौं जिल्ला कमिटीले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जित्न सफल काठमाडौंका खेलाडीलाई सोमबार सम्मान गरेको छ । न्युरोडस्थित विशालबजारमा रहेको सासा बैंक्युटमा आयोजित कार्यक्रममा विभिन्न ६ खेलमा स्वर्ण जितेका १३ खेलाडीलाई सम्मान गरियो । त्यसमा फेन्सिङबाट सर्वाधिक ४ खेलाडी रहेका छन् ।
शारीरिक सुगठन र सफ्ट टेनिसबाट समान ३–३ तथा आईटीएफ तेक्वान्दो, एथलेटिक्स र बक्सिङबाट समान १–१ खेलाडी छन् । फेन्सिङबाट अमित भण्डारी, ओमकार सिंह, पायस योञ्जन र सन्तोष थापा मगर, शारीरिक सुगठनबाट अनिललाल श्रेष्ठ, नरेश मालाकार र आवाज प्याकुरेल तथा सफ्ट टेनिसबाट चन्द्रमाया राई, सुनिरा थापा र निर्मल स्थापित सम्मानित भए ।
सम्मानित हुने अन्यमा आईटीएफ तेक्वान्दोका अनिल तामाङ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र बक्सिङकी सुष्मा तामाङ रहेका छन् । उक्त ६ खेलका प्रशिक्षक आईटीएफका कृष्ण राजथला, फेन्सिङका प्रेमबहादुर पुलामी, शारीरिक सुगठनका ज्ञानेन्द्र नकर्मी, सफ्ट टेनिसकी निरा कायस्थ, एथलेटिक्सकी विमला जोशी र बक्सिङका राज श्रेष्ठलाई पनि त्यसै अवसरमा सम्मान गरियो ।
उनीहरूलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ, सचिव ओमकृष्ण प्रसाईं, आयोजक कमिटीका अध्यक्ष नाजिर उद्दिन मुस्लिमलगायतले प्रशंसा पत्र र ट्रयाक सुट प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।
प्रतिक्रिया