कालीकोट । विप्लव नेकपाका कार्यकर्तामाथि प्रहरीले दमन गरेको, स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएको, कर्मचारी नियुक्तिमा नातावाद हावी भएको र कर्मचारीबाट जनप्रतिनिधिले कमिसन खाएकाले स्थानीय तहमा ताला लगाउनुपरेको विप्लव नेकपाका जिल्ला सेक्रेटरी मनिलाल ऐडी रणद्दीपले बताए । स्थानीय तहमा जनप्रतिनिधिले मानोमानी गरेकाले अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको सेक्रेटरी ऐडीको भनाइ छ ।
नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकताहरूले कालिकोटका नौ वटा स्थानीय तहका ५२ वडा कार्यालयमा ताला लगाएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबार राती कालिकोट जिल्लाका रास्कोट पलाता, पचालझरना र सान्नीत्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।
नरहरिनाथ गाउँपालिकाका २ र ४ बाहेक सबै वडामा तालबन्दी भएकाले दैनिक कामकाजमा समस्या भएको नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले बताइन् । यस्तै रास्कोटका ७ वडा कार्यालयमा ताला लगाएको बताइएको छ । घटनाका बारेमा कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्दबहादुर कार्कीले थाहा नभएको बताएका छन् ।
नेकपा रास्कोट नगरपालिका इन्चार्ज कमलबहादुर शाही कञ्चनले केन्द्रको सर्कुलर भन्दै वडाध्यक्ष र उपभोक्ता समितिलाई पार्टीले आर्थिक सहयोग मागेको बताएका छन् । उनले बताए, ‘पार्टीको निर्देशनअनुसार सहयोगका लागि सबैलाई चिठी दिएका छौँ । यदि, सहयोग भएन भने, भौतिक कारबाही गर्न पनि तयार छाँै ।’
नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले सहयोग स्वरूप चन्दा माग्दा चन्दा नदिएपछि कार्यालयमा ताला लगाइएको हुनसक्ने आशंका गरिएको छ । आइतबार एकै साथ कालिकोटका नौ वटै स्थानीय तहमा आर्थिक सहयोगका लागि चिठी आएको जनप्रतिनिधिहरूले बताएका छन् । कसरी पैसा दिने समस्या आएको छ । नदिउँ भने, कार्यालय तोडफोडको डर, दिउँ भने कसरी, दिउँ ठूलो समस्या आएको नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष तुलाराज विकले बताए । पैसा नदिँदा वडा कार्यालयमा ताला लगाएको हुनसक्ने बताए ।
तर, आर्थिक सहयोग नदिँदा कार्यालयमा ताला नलगाएको नेकपाका जिल्ला सेक्रेटरी रणद्दीप एैडीले बताए । दलाल भ्रष्ट, घुसखोरीका विरुद्धमा कार्यालयमा ताला लगाएको बताए । पलाता र पचाल झरना गाउँपालिकामा अध्यक्षको ठाडो आदेशमा ताला फोडेको भन्ने सुनेका छौँ । यदि हो भने, भष्ट्र जनप्रतिनिधिलाई कडा कारबाही गरिने चेतावनी दिए।
१० असारमा जिल्लाको नरहरिनाथ गाउँपालिकाको कार्यालयमा चन्द समूहले बन्दको अवज्ञा गरेको भन्दै कार्यालयमा आगजनी गरेदेखि कालिकोटका नौ वटै स्थानीय तहका नगरपालिका र गाउँपालिकामा सुरक्षा व्यवस्था कडा पारे पनि चन्द समूहले कार्यालयमा ताला लगाउँदासम्म सुरक्षा निकायले सुरक्षा दिन नसकेको आरोप लागेको छ ।
पचाल झरनागाउँपालिका जारकोटको गाउपालिकाको कार्यालयको नजिकै ३५ जनाको दरबन्दी भए पनि सुरक्षाको महसुस हुन नसकेको भनी स्थानीयले गुनासो गरेका छन् ।
प्रतिक्रिया