प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । सुनुवाइपछि अस्ट्रेलिया, कतार, स्पेन र बंगलादेशका लागि राजदूतमा सिफारिस चारै नामलाई सर्वसम्मत अनुमोदन गरेको हो ।

सरकारले अस्ट्रेलियाका लागि महेशराज दाहाल, वंशीधर मिश्रलाई बंगलादेशका लागि, स्पेनका लागि दावाफुटी शेर्पा र कतारका लागि नेपाली राजदूतमा डा. नारदनाथ भारद्वाजलाई सिफारिस गरेको थियो । सुनुवाइ सकेर चारै जनाको नाम अनुमोदन भएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ ।

सुनुवाइका क्रममा अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत दाहालमाथि अमेरिकाको ग्रिनकार्ड लिएको विषय उठेको थियो । सांसदहरूले दाहालकी श्रीमतीले अमेरिकाको ग्रिन कार्ड लिएको उजुरी परेको भन्दै सांसदले प्रश्न गरेका थिए । त्यसको जवाफमा उनले श्रीमती अमेरिकामा नर्सिङ अध्ययन गरिरहेको र काम गर्नका लागि वर्क पर्मिट मात्र लिएको बताए ।

सन् २००१ मा मसँगै अमेरिका गएको र त्यहाँ अध्ययनमा रहेको उनले जानकारी गराए । ‘म र मेरो परिवारको नाममा कुनै ग्रिनकार्ड फेला परेमा म यो राजदूतको पद स्वीकार गर्ने छैन,’ दाहालले भने, ‘नेपालको संविधान पालना गर्दै आफू देशको कुनै पनि इमान्दारितामा चुक्ने छैन, आजसम्म चुकेको छैन ।’

उनले आफू अमेरिका चारपटक गएको तर ग्रिनकार्डका लागि कुनै पनि आवेदन नदिएको दाबीसमेत समितिमा गरेका छन् । ‘पहिलोपटक म २००१ मा अमेरिका गएको थिएँ । एक महिना बसेको थिएँ,’ उनले भने, ‘२०१५ र पछिल्लोपटक २०१८ मा गरी चारपटक अमेरिका गएको छु । मैले ग्रिनकार्ड लिएको छैन । कहीबाट प्रमाणित भए यो राजदूत पद स्वीकार गर्ने छैन ।’ उनले श्रीमतीले वर्कपर्मिट लिएको स्वीकार गर्दै त्यसको म्याद यही सेप्टेम्बरसम्म मात्र रहेको बताए । सरकारले गरेको विश्वास तोड्न नदिने भन्दै उनले संविधानले दिएको अधिकार प्रयोग गरेर देशको हितमा काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, बंगलादेशका लागि प्रस्तावित राजदूत वंशीधर मिश्रले चुरेका ढुंगा बंगलादेशलाई बेचेर पैसा कमाउने प्रस्ताव गरेका थिए । संसदीय सुनुवाइ समितिको बैठकमा पूर्वसांसदसमेत रहेका मिश्रले ढुंगाका लागि एक खर्बको प्रस्ताव आएकाले बंगलादेशलाई ढुंगा बेचेर ‘एक प्रयास तीन लाभ’ प्रस्ताव अघि सारेका थिए । ‘बंगलादेशलाई डुब्नबाट जोगाउन नेपालका ढुंगा चाहिएको छ । बंगलादेशबाट एक खर्बको प्रस्ताव आएको छ, एक प्रयास तीन लाभले दोहोरो व्यापार हुन्छ’, उनले बैठकमा भने ।

प्रतिक्रिया