एजेन्सी, फ्रान्स । फिफा महिला विश्वकप फुटबलको फाइनल खेल आइतबार हुँदै छ । नेपाली समय अुनसार राति पौने ९ बजे अमेरिका र नेदरल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । नेदरल्यान्डले स्विडेन र अमेरिकाले इंग्ल्यान्डलाई पराजित गरेका हुन् । सेमिफाइनलमा पराजित भएका स्विडेन र इंग्ल्यान्डले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरेका थिए । जसमा इंग्ल्याण्ड तेस्रो भएको छ ।
१९९१ बाट सुरु भएको महिला विश्वपको यो आठौं संस्करण हो । अहिलेसम्मका सातमध्ये ३ पटकको उपाधि अमेरिकाले उचालेको छ भने एक पटक उप विजेता भएको छ । समग्रमा अमेरिकाले पाँचौँ पटक फाइनल खेल्दैछ । २०११ को विश्वकपमा जापानसँग पराजित हुँदै उपविजेता बनेको अमेरिकाले २०१५मा जापानलाई नै पाखा लगाउँदै उपाधि माथि कब्जा जमाएको थियो ।
२०१९ को विश्वकपमा भने अमेरिकाले नेदरल्यान्ड नयाँ प्रतिद्वन्द्वी पाएको छ । नेदरल्याण्ड्सको भने यो पहिलो फाइनल हो । महिला विश्वकपमा अमेरिकाले सर्वाधिक तीन पटक उपाधि जित्दा जर्मनीले २ पटक उपाधि जितेको छ । जापान र नर्वेले एक पटक उपाधि हात पारेका छन् । अमेरिकाले यो सिजनमा सबै खेलमा अपराजित रहँदै रेकर्ड पनि बनाएकाले फाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।
अमेरिकाको लगातार १२ म्याचमा जित हात पारेको छ । नेदरल्यान्ड टोली पनि जारी प्रतियोगिताको अपराजित टिम हो । उसले पनि अहिलेसम्म शत प्रतिशत नतिजाका साथ फाइनलमा पुगेको छ । नेदरल्यान्डको महिला टिम अमेरिकाको तुलनामा युवा खेलाडीले भरिएको छ । २३ मध्ये १६ खेलाडी २६ वर्ष या त्यो भन्दा पनि कम उमेर समूहका रहेका छन् जसले गर्दा २०२३ को विश्वकपमा पनि उसको दरिलो उपस्थिति हुने अनुमान गरिएको छ ।
नेदरल्यान्ड खेलाडीलाई विश्वकपको फाइनल अनुभव भने छैन । अमेरिकाका केही खेलाडी भने दोस्रो र तेस्रो पटक फाइनल खेल्दैछन् । जसका कारण अमेरिकाका खेलाडीमा आत्मविश्वास भने बढी नै छ । अमेरिकाका खेलाडीमध्ये ६ जना ३० वर्ष माथिका छन् । हिथ, रपिनो र मोर्गनको प्रदर्शनमा अमेरिका उपाधि जित्नेमा ढुक्क छ ।
प्रतिक्रिया