अरूलाई कानूनमा ल्याउने प्रहरी आफै ठीक हुनुपर्छः महानिरीक्षक खनाल

दमौली । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अरूलाई कानूनको दायरामा ल्याउने प्रहरी पहिला आफै पवित्र बन्नुपर्ने बताएका छन् । तनहुँको भानु नगरपालिका–६ टुहुरेपसलमा निर्माण हुन लागेको प्रहरी चौकी भवनको आइतबार शिलान्यास गर्दै उनले जनताको माया र सद्भाव पाउन प्रहरीले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्ने बताए ।

प्रहरीले आफ्नो व्यवहार, शिष्टता र इमानदारिता प्रदर्शन गर्नुपर्ने महानिरीक्षक खनालले बताए । ‘नेपाल प्रहरी जस्तो पवित्र सङ्गठनमा बस्ने प्रहरी पहिला आफै पवित्र हुनुपर्छ, आफै रोलमोडल हुनुपर्छ, अरूलाई कानूनको दायरामा ल्याउने प्रहरी आफै पहिला ठीक हुनुपर्छ’, उनले भने । प्रहरीले इमानदार भएर काम गरे मात्रै नेपाल सरकारले अगाडि सारेका कार्यक्रमले सार्थकता पाउने उनको भनाइ थियो ।

अपराध र अपराधी तह लगाउने प्रहरीको काम भए पनि समाजमा आपराधिक घटना नघटोस् भन्ने प्रहरीको एक मात्र चाहना रहेको महानिरीक्षक खनालले उल्लेख गरे । समुदाय र प्रहरी साझेदारीमार्फत समाजका विकृति र विसङ्गति अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । महानिरीक्षक खनालले भने, ‘प्रहरीलाई छुट्टै रुपमा हेर्ने दृष्टिकोण त्याग्नुपर्छ, प्रहरी जनताका लागि हो भन्ने भावना विकास गर्न जरुरी छ ।’

कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौली, प्रजिअ रुद्रप्रसाद पण्डित तथा नेपाल प्रहरी गण्डकी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले प्रहरी र जनताबीच हातेमालो हुनुपर्ने बताए । विसं २०७७ असार १९ गतेसम्म सम्पन्न गर्ने गरी भवन निर्माण अघि बढाइएको छ । रु एक करोड २३ लाख ३७ हजारको लागतमा भवन निर्माण गर्न लागिएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

यसैबीच महानिरीक्षक खनालले आजै तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुमा समेत प्रहरी चौकी भवनको शिलान्यास गरे । उक्त भवन रु एक करोड ५७ लाखको लागतमा निर्माण हुन लागेको हो ।

प्रतिक्रिया