खोजखबर

‘हामीलाई कि सास कि लास चाहियो’

बेपत्ता परिवारको माग

चमिना भट्टराई २०७६ असार २२ गते ७:०० मा प्रकाशित

मुलुकमा चलेको १० वर्षे द्वन्द्वले धेरैका परिवार गुमे, कतिका परिवार अहिले पनि बेपत्ता छन्, धेरैले अंगभंग हुनपर्यो । द्वन्द्वका कारण राज्यले बेहोरेको भौतिक क्षति पनि कम छैन । शान्ति सम्झौता भई द्वन्द्व समाधान भएको पनि १३ वर्ष भइसक्यो । तर, द्वन्द्वका कारण राज्य वा विद्रोही पक्षबाट अन्यायमा परेकाहरूले भने अहिलेसम्म न्याय पाएका छैनन् । द्वन्द्वका कारण बेपत्ता भएकाका परिवार आफन्त आउलान् भन्ने आशमा आज पनि छन् । आफन्तको खोजीमा कहिले समाजिक संस्था त कहिले मानवअधिकारका लागि सञ्चालित संस्थामा गुहार माग्न पुग्छन् । कहिले हातमा प्ले–कार्ड लिँदै सडकमा धर्ना दिन्छन् । तर, उनीहरूले आफन्तको अवस्था थाहा पाउन सकेका छैनन् । द्वन्द्वका कारण पति बेपत्ता भएकी बाँकेकी चन्द्रकला उप्रेती भन्छिन्ः

‘हाम्रो नेपालगञ्जको धोम्बोजीमा हार्डवेयर पसल थियो । पति त्यहीँ पसल चलाउनु हुन्थ्यो । त्यसैले हाम्रो परिवार चलेको थियो । ०६० को २३ मंसिरमा पति र उहाँका साथी सुनिल क्षेत्री पसलमा बसिरहेको वेला तत्कालीन शाही सेना आएर सोधपुछ गर्नुछ भन्दै दुवै जनालाई लगेछन् । उहाँहरूलाई पक्राउ गर्न एक ट्रक सेना आएका थिए रे ! उहाँहरूलाई सेनाको पृतना हेडक्वार्टरमा राखेको सुनेँ र खोजी गर्दे त्यहाँ गएँ । सेनासँग पतिका बारेमा सोधेँ, सेनाले हामीले ल्याएका छैनौँ, हामीलाई तपाईंको पतिका बारेमा केही थाहा छैन भन्दै बोल्न चाहेन । त्यस यता आजसम्म उहाँको अवस्था थाहा पाउन सकिएको छैन’, चन्द्रकलाले भनिन् ।

चन्द्रकलाको पति भूपेन्द्रराज उप्रेती पक्राउ पर्दा ३८ वर्षका थिए । उनी परिवारको सबै प्रकारका भरोसा पनि थिए । आज उनको परिवारमा पति, पितासँगै आर्थिक र अभिभावकीय अभाव भएको छ । उनीसँगै पक्राउ परेका सुनील १७ दिनपछि छुटेर आए

नेपाली उखान छ ‘१२ वर्षमा खोलो त फर्कन्छ’ उनको हकमा त्यो लागू भएन । उनले पतिको प्रतिक्षा गरेको १६ वर्ष बिते । यो बीचमा द्वन्द्वको नेतृत्व गर्ने तत्कालीन माओवादी पनि पटकपटक सरकारमा गयो । तत्कालीन शाही सेना नेपाली सेनामा रूपान्तरण भए । मुलुकमा गणतन्त्र आयो, जनताको संविधान बन्यो, धेरै सरकार फेरिए सरकारको नेतृत्व फेरिँदै पिच्छे उनले खोजी गर्ने र अवस्था सार्वजनिक गर्ने आश्वासन पाउँदै आइन् । आश्वासनले उनको मन बुझेको छैन । आफ्नो पतिलाई सेनाले किन लगेको थियो र कहाँ कुन अवस्थामा छन् भन्ने प्रश्नको जवाफ खोजिरहेकी छन् । उनले आफ्ना पीडा सयौँ ठाउँमा सुनाइन्, हजारौँपटक आँसु बगे, कतिपटक पतिको सम्झनामा रोइन् गिन्ती छैन । पति बेपत्ता हुँदा काखमा रहेका छोराछोरी जवान भए । तर, उनले पतिलाई किन पक्राउ गरियो ? कहाँ कुन अवस्थामा छन् भन्ने प्रश्नको जवाफ पाउन सकिनन्, किन ?

द्वन्द्वका कारण बेपत्ता भएका र अन्यायमा परेकाका लागि न्याय दिन विस्तृत शान्तिप्रक्रियासँगै सरकारले आयोग बनायो । सत्य निरूपण तथा मेलमिलाप आयोग बन्यो, धेरै प्रतिवेदन बने, आयोगका नाममा धेरैले रोजगारी पाए । तर, पीडितले भने न्याय पाउन सकेन किन ? यसको जवाफ आयोगमा बस्नेले हुँदै छ भन्छन् । सरकारका मान्छे खोज्दै छौँ भन्छ । आखिर कहिले हुन्छ यो समस्याको निकास ? शान्ति सम्झौतापछि बनेको कुनै पनि सरकार यो समस्याको चुरोसम्म पुग्न चाहँदैन ? सकिरहेको छैन ? वा समस्या टुंग्याउँदा आफैँ फस्ने डर छ ? यस्ता आशंका वेलावेलामा उब्जने गर्छ । पीडितको आँखाबाट हेर्ने हो भने यो सामान्य कुरा होइन । मुलुकमा भएको राजनीतिक परिवर्तनका नामका भएको द्वन्द्वका पात्रहरू सत्तामा छन् । तर, त्यही द्वन्द्वका कारण बेपत्ता भएकाहरूको अवस्था किन बेपत्ता उनीहरू प्रश्न गर्छन् ।

कुनै पनि नाम वा बहनामा कसैको परिवार हराउनु सामान्य कुरा होइन । तर, राज्य वा तत्कालीन बिद्रोहीका तर्फबाट बेपत्ता भएका जो भए पनि उनीहरूको अवस्था परिवारले थाहा पाउनुपर्छ । राजनीतिक समस्या समाधान भयो उनीहरूको समस्या कहिले सुल्झन्छ ? पीडितहरूका आवाज कहिले सम्बोधन हुन्छ ? यो समस्या अब टुंग्याउनुपर्ने उनीहरूको माग छ । कसैले कसैलाई बेपत्ता पार्न वा हत्या गर्न पाउँदैन । यदि, कसैले त्यसो गरेको भए कुन विधि र प्रक्रियाबाट टुंग्याउने हो प्रष्ट हुनपर्छ ।

द्वन्द्वको फाइदा धेरैले उठाए । तर, त्यही द्वन्द्वको घाउले धेरैको आत्मा चराइरहेको छ । आफन्तको बिछोडमा मन तडपिरहेको छ । सरकार फेरिँदैपिच्छे आफन्तको टुंगो लाग्ला भन्ने आश मरेको छैन उनीहरूमा । तर, सरकार निरन्तर फेरिरहेको छ उनीहरूले आश्वासन पाइरहेका छन् । ‘समस्या सुनायो, गम्भीर भएर सुन्छन्, अहिले नै पत्ता लगाउलान् भन्ने लाग्छ, द्वन्द्वका सबै मुद्दा टुंग्याउँछौँ, बेपत्ताको अवस्था सार्वजनिक गर्छौं भन्न छाड्दैनन् । तर, त्यो एकातिरबाट सुनेर अर्कोतिरबाट उडाएजस्तै भएको छ ।’ उनले भावुक हुँदै भनिन्, ‘जबसम्म आफन्तको सास वा लास भेटिँदैन हाम्रो आश मर्दैन, हरेक दिन पति आउनुहोला भन्ने आश लाग्छ । कसलाई सुनाए समस्याको समाधान होला भन्ने छटपटी हुन्छ ।’ उनको जस्तै छटपटीमा रहेका हजारौँ बेपत्ता परिवारको साझा समस्या हो यो । चन्द्रकला यो समस्या सुनाउँदा सुनाउँदै थाकेको बताउँछिन् ।

चन्द्रकलाको पति भूपेन्द्रराज उप्रेती पक्राउ पर्दा ३८ वर्षका थिए । उनी परिवारको सबै प्रकारका भरोसा पनि थिए । आज उनको परिवारमा पति, पितासँगै आर्थिक र अभिभावकीय अभाव भएको छ । उनीसँगै पक्राउ परेका सुनील १७ दिनपछि छुटेर आए । सुनील छुटेर आएपछि उनमा पनि पति आउँलान् भन्ने आश लागेको थियो । तर, सुनीलका कुरा सुनेपछि तनाव झनै बढ्यो । ‘सुनील आएपछि पतिका बारेमा उनलाई सोधेँ, उनले भने, तीन दिनसम्म हामीलाई सँगै राखेको थियो, त्यसपछि उहाँलाई कहाँ लग्यो थाहाँ भएन’, उनले भनिन्, ‘सुनीललाई अरू केही थाहा छ भनेको, अरू केही नसोध्नुस् यति धेरै यातना दिए कि त्यो सम्झन पनि चाहन्नँ । सुनीलको कुरा सुनेपछि मन झनै आत्तियो उहाँलाई कति यातना दिए होलान् ? किन पक्राउ गरे ? कहाँ र कसरी राखेका होलान् भनेर ।’

उनको अनुसार उनका पतिले विद्रोहीलाई सहयोग पु¥याएका थिएनन्, सरकारी सेनाको नजरका देखिएको कमजोरी भनेको उनका मामा तत्कालीन माओवादीमा लागेका थिए । द्वन्द्वका समयमा माओवादीमा आफन्त लागेका कारण वा आफन्तले सरकारी सेनामा जागिर खाएका कारण धेरैले यातना भोगे, कैयौँले ज्यानसमेत गुमाए, कैयौँ अहिले पनि बेपत्ताको अवस्थामा छन् । आफन्तले आफ्नो बाटो रोज्नु वा परिवार पाल्नका लागि जागिर खानु अपराध पक्कै होइन तर त्यसको चेपुवामा धेरै मान्छेले दुःख पाए । सेनाका नजरमा उनका पति भूपेन्द्रको गल्ती भनेको उनको मामा विद्रोही हुनु थियो । त्यसैको परिणाम आजसम्म उनका तीन सन्तान, पत्नी र आफन्त उनको प्रतिक्षामा छन् । थाहा छैन यो प्रतिक्षाको जवाफ कस्तो आउनेछ ।

उनले आफ्नो समस्या नेपालमा रहेका मानवअधिकारवादी संस्था र सरकारलाई मात्रै सुनाइनन् । ०६२ सालमा थाइल्यान्डमा समेत गएर गुहार माग्दै आफ्नो पीडा सुनाइन्, जहाँ उनका पतिजस्तै बेपत्ता भएका विभिन्न मुलुकका आफन्त भेला भएर पीडा पोखेका थिए । त्यति टाढा पुगेर दुःखेसो पोखेपछि पतिको अवस्था थाहा पाइएला भन्ने उनलाई आशा थियो । तर, त्यसको परिणाम देखिएन । नेपालदेखि थाइल्यान्डसम्म बगेका उनका आँसुको मूल्य बुझ्नुपर्नेले बुझेनन् वा बुझ्न चाहेनन् ? त्यसको भेउ उनले पनि पाउन सकेकी छैनन् ।

यो १६ वर्षको अवधिमा उनको घरको आर्थिक अवस्था निकै कमजोर भयो । तीन सन्तान हुर्काउनु उनीहरूलाई पढाउनु र पतिको खोजीमा भौँतारिनु उनको दिनचर्या बन्यो । अहिले उनी स्थानीय महिला सहकारीमा रहेर काम गर्दे पति खोजीको अभियानमा छिन् । उनको जस्तै समस्या मुलुकमा अरूका पनि छन् । पीडित बेपत्ता परिवारका सदस्य मिलेर बनेको द्वन्द्व पीडित साझा चौतारीको केन्द्रीय उपाध्यक्ष छिन् उनी । आफू र आफू जस्तैको न्यायका लागि लडिरहेकी छन् । पति बेपत्ता हुँदा उनको सानो छोरो सात वर्षको थियो आज जवान भइसकेको छ । समयले धेरै कोल्टे फेरिसकेको छ । तर, उनको मन भने जहाँको त्यहीँ छ । अभैm उनको आँखा पतिलाई कुरिराखेको छ ।

रसिला आँखा बनाउँदै उनले भनिन, ‘पतिभन्दा नजिक को हुनसक्छ ? मेरो मनले आज पनि उहाँ आउँनुहुन्छ भन्छ । अझै कहिलेकाहीँ नचिनेको नयाँ नम्बरबाट फोन आयो भने उहाँले त कतैबाट गर्नु भएन ? भन्ने लाग्छ । जबजब साँझ पर्छ उहाँ आउनुहुन्छ कि भन्ने लागिरहन्छ ? जबसम्म उहाँको सास वा लास आँखाले देख्दैन तबसम्म हाम्रो आश मर्दैन ।’ आज पनि आफ्ना समस्या सुनाउँदा उनका आँखा मात्रै रसिला छैनन् । अगाडि भएको मान्छेको मुखमा हेरेर कुरा गर्न पनि सक्दिनन् । वेलावेला भक्कानिए झँै गर्दै परपर हेर्छिन् । उनको अनुहार र आँखामा देखिएको पीडा राज्यले अनुभूति गरेको भए आज उनी र उनी जस्तै पीडितको समस्याको निकास निस्किन्थ्यो होला ।

चन्द्रकलाका लागि सुरुका दिनमा आफ्नो समस्या मात्रै ठूलो लाग्थ्यो आज उनी द्वन्द्वपीडित साझा चौतारीको नेतृत्वमा छिन् । आफूजस्तै अरूको पनि अधिकारका लागि बोल्नु छ । अब त उनलाई सबैको समस्या आफ्नै लाग्न थालेको छ । त्यसैले आफू र आफू जस्ताको न्यायका लागि आवाज उठाउँदै छिन् । थाहा छैन उनका आवाज कहिले सुनिने ठाउँमा पुग्नेछ र पीडितले न्यायको अनुभूति गर्नेछन् ।

प्रतिक्रिया