एजेन्सी, लन्डन । आइसिसी विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको छ । शुक्रबार बंगलादेशविरुद्धको खेलमा पाकिस्तानले ठूलो स्कोर गर्न नसकेपछि अस्ट्रेलिया, भारत, इंग्ल्यान्ड र न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाएका हुन् । पाकिस्तान पनि विश्वकपबाट बाहिरिएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले शुक्रबार ४ सय रन बनाएर बंगलादेशलाई ३१६ रनले पराजित गर्न सकेको भए उसको सेमिफाइनल स्थान पक्का हुने थियो । तर टस जिते पनि पाकिस्तानले ४ सय रन बनाउन सकेन् । त्यस्तै शनिबार राती विश्वकपको समूह चरणको अन्तिम खेलअन्तर्गत पहिलो खेलमा भारत र श्रीलंका तथा अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्नेछन् । त्यससँगै समूह चरणका खेल समाप्त हुनेछ । श्रीलंकाविरुद्ध जित निकाल्ने सोचमा रहेको भारत तालिकाको शीर्ष टोली बन्न अस्ट्रेलियाको हार चाहन्छ । रनरेटका आधारमा शीर्ष स्थानमा रहेको अस्ट्रेलिया दक्षिण अफ्रिकासँग पराजित भए भारत शीर्ष टोली बन्नेछ ।
शनिबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दा भारतलाई मध्यक्रमको ब्याटिङ लाइनलाई सुधार गर्ने मौका हुनेछ । यसअघि नै अन्तिम चारमा स्थान बनाइसकेको भारत एक खेलमा पराजित भएको छ । एक खेलमा वर्षाका कारण अंक बाँड्दा अन्य खेलमा जित निकाल्न सफल भएको छ । अघिल्लो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका तत्कालीन कप्तान महेन्द्रसिंह धोनी यो संस्करणमा केही आलोचित भएका छन् ।
मध्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने सक्ने धोनी यो संस्करणमा भने राम्रो चल्न नसक्दा समर्थकबाट आलोचित भएका हुन् । सम्पन्न ८ खेलमध्ये ३ खेलमा मात्र जित निकालेको श्रीलंकाविरुद्ध धोनीले आपूmलाई सच्याउने मौका पाउँनेछन् । धोनीसँगै आलोचित भएका केदार जाधबको स्थानमा अघिल्लो खेलमा दिनेश कार्तिक मैदान प्रवेश गरेका थिए । यद्यपि दिनेश कार्तिकले पहिलो विश्वकपमा प्रभावकारी खेल देखाउन असफल भए ।
उनले मध्यक्रमको ब्याटिङलाइनलाई सोचेजस्तो सफलतातर्फ डो¥याउन सकेनन् । यसअघि नै शीर्ष दुईभित्र स्थान बनाइसकेको भारत श्रीलंकामाथि सहज जितको लक्ष्यमा हुनेछ । खराब लयमा रहेको श्रीलंकाविरुद्ध भारत कुनै दवाबबिना मैदान उत्रिनेछ । अघिल्ला खेलमा पाएको सफलतामा ढुक्क रहेको भारत आफ्ना ब्याट्सम्यानमाथि निकै निर्भर छ । साथै तुलनात्मक हिसाबमा कमजोर आकलन गरेको भारतलाई ब्याटिङ सुधार्ने मौका रहनेछ ।
रोहित शर्मा, विराट कोहली, ऋषभ पन्त, महेन्द्रसिंह धोनीसँगै दिनेश कार्तिक, अलराउन्डर हार्दिक पाण्ड्या, रवीन्द्र जडेजाका लागि राम्रो गर्ने अवसर पनि हुनेछ । तर पछिल्लो खेलमा लयमा देखिएका श्रीलंकाका बलर लाथिस मालिङ्गाको कसिलो बलिङ सामना गर्नु भारतीय ब्याट्सम्यानलाई सहज छैन । यता श्रीलंका पनि इंग्ल्यान्ड विश्वकपको अन्तिम खेल सुखद बनाउँदै घर फर्किन चाहन्छ । संयमित हुँदै दबाबरहित भएर भारतविरुद्ध मैदान उत्रिनेछ ।
तर, खराब लयमा रहेको श्रीलंकन टोलीलाई भारतीय बलर सामना गर्नु निकै कठिन हुनेछ । भारतले अघिल्ला खेलमा जित निकाल्दा बलरको उत्कृष्ट प्रदर्शनबाट प्राय जित निकालेको छ । त्यसैले बलिङ पक्ष अब्बल रहेको भारतलाई सामना गर्नु श्रीलंकाका लागि कठिन मानिएको हो । अनुभवी खेलाडीले भरिएको श्रीलंका दबाबविहीन हुँदै खेल्ने सोचमा छ ।
एकदिवसीय विश्वकपमा भारत र श्रीलंका अहिलेसम्म ८ पटकका प्रतिस्पर्धी हुन् । जसमा श्रीलंकाले सर्वाधिक ४ पटक जित आफ्नो पक्षमा नतिजा निकाल्न सफल भएको छ भने भारत ३ खेलमा विजयी भएको छ । यस्तै एक खेल रद्द भएको छ । भारतले श्रीलंकामाथि २०११, २००३ र १९९९ मा जित निकालेको थियो । श्रीलंकाले भने १९९६ मा दुई पटक र १९७९ तथा २००७ मा हराएको थियो ।
प्रतिक्रिया