परम्परागत कलाको महत्व

निशा खड्का

कला भन्नासाथ सायदै यसको अर्थ, परिभाषा, व्याख्या कमै मानिसले मात्र दिन सक्लान् । त्यसमा पनि परम्परागत कलाका बारेमा धेरैलाई रुचिको विषय नहुन सक्छ । परम्परागत कला के हो ? परम्परागत कला विषयलाई लिएर धेरै अन्योलमा परेको पाइन्छ ।  यसलाई पहिले पुर्खादेखि चलिआएको परम्परालाई कलामा उतार्ने शैलीका रूपमा पनि यसको परिभाषा दिन सकिन्छ । अझ भनौँ, पौभा र थांका कलालाई परम्परागत कलाको रूपमा समेत चिनिने गरिन्छ । कलाका धेरै विधा हुन्छन् कतिपय विधा सजिलै बुझ्न सकिने खालका सरल हुन्छन् भने कतिपय विधा यस्तै परम्परागत कलाजस्तै जटिल हुन्छन् ।

परम्परागत कलाकारको जमघट हुँदा यसका बारेमा हामीले चिनिराखेका पौभा÷थांका कलाकारका बीच वादविवाद हुने गरेको पाइन्छ । पौभा मात्रै नेपालको परम्परागत कला हो कि, थांका मात्रै परम्परागत कला हो ? या दुवै ? या कुनै देवीदेवताको चित्र कोर्दा त्यो परम्परागत कला हुन्छ ? के एउटा समसामयिक चित्रलाई देवीदेवतामा संलग्न गरिएको कलालाई हामी परम्परागत कला भन्न सक्छौँ ? थांका र पौभाको आधारभूत विषय एउटै भए पनि यसमा केही विषय भने फरक देखिन्छन् । किनकि, थांका कलाकार र पौभा कलाकारबीचको बहसमै कहिले थांकाको बुट्टा कोर्न गाहे हुने गरेको अनुभव सुनाउँछन् त कहिले पौभामा गरिने काम गाहे हुन्छ भन्छन् ।

जहाँसम्म कला आफैंमा एउटा जटिल विषय हो जसलाई निरन्तर अध्ययन गरेर मात्र बुझ्न सकिन्छ । यिनै वादविवाद र अन्योलका बीचमा ओझेलमा परेको यस कलाका विषयमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको परम्परागत शिल्पकला विभागले पोखरामा अन्तक्र्रियात्मक गोष्ठीको आयोजना ग¥यो । ‘नेपाली परम्परागत थांका÷पौभा चित्रकलामा शिल्प’ विषयक अन्तक्र्रिया गोष्ठीमा सहभागी वक्ताले यी कला एकै भएको तर्क अघि सारे । प्रतिष्ठानले पोखरास्थित हिल प्वाइन्ट मावि माटेपानीमा पोखरेली कलाकार र विद्यार्थीका बीचमा उक्त कार्यक्रम ग¥यो । उक्त माविमा ललितकला विषय केही वर्षदेखि अध्ययन हुँदै आएको छ । साथै नेपालमै पहिलोपटक राजधानी बाहिर खोलिएको कला स्कुलको रूपमा उक्त माविलाई लिन सकिन्छ ।

असार १३ गते उक्त अन्तक्र्रिया तथा गोष्ठीका लागि बिहान ८ बजे तयारीका म लगायत प्राज्ञ बुद्धि गुरुङ, कलाकार तथा लेखक देवेन्द्र थुम्केली, उपप्राध्यापक कृष्ण ओझा, अग्रज परम्परागत कलाकार पूर्णप्रसाद ह्योजु र हामीलाई गन्तव्यसम्म पु¥याउँन मद्दत गर्ने सवारीचालक जिदार लामा हिल प्वाइन्ट पुग्यौँ । विद्यालय पुग्दा विद्यालयका प्राचार्य दिवाकर जैसीसँग उहाँको कार्यकक्षमै भेटघाट र परिचय गर्ने माहोल बन्यो । जहाँ कलासम्बन्धी गहन छलफलसमेत भयो । छलफलको विषय थियो (१) कतिको संघर्षपश्चात् यस विद्यालयमा फाइन आर्टका कक्षा सञ्चालनमा ल्याउन सक्नुभयो ? (२) कति विद्यार्थी आकर्षित भइरहेका छन् ?
प्राचार्य दिवाकरले आफ्नो संघर्ष सरल नभएको कुरा सुनाउँदै भने, ‘फाइन आर्ट विषय अध्ययन गर्नका लागि विद्यार्थीलाई बुझाए अभिभावकले बुझ्दैनन् अभिभावकलाई मात्र बुझाए विद्यार्थीले बुझ्दैनन् । त्यसैले अभिभावक र विद्यार्थी दुवैलाई सँगै राखेर यसका बारेमा बुझाउने कोसिस गरिरहेका छौँ ।’ यसको प्रतिफल पनि राम्रै आएको उनले सुनाए । हरेक वर्ष विद्यार्थीको संख्या बढिरहेको उनले जानकारी दिए ।

पोखरामा कलासम्बन्धी शैक्षिक संस्था खोलेर कलाको विकासमा योगदान दिएर हिल प्वाइन्टले ललितकलाप्रति जागरण ल्याउने काम गरेको छ । संवादकै क्रममा ललितकला विषयमा स्नातक तहको अध्यापन गराउने वातावरण निर्माणका लागि पहल गर्न कलाकारहरूले सुझावसमेत दिए ।

उक्त अन्तक्र्रियात्मक गोष्ठीमा बोल्ने दुईजना वक्ता पूर्णप्रसाद ह्योजु र पदमबहादुर लामाले परम्परागत कलाका बारेमा जानकारी दिँदै यसको महत्वको चर्चा गरे । वक्ताको प्रस्तुतप्रति देवेन्द्र्र थुम्केलीले टिप्पणी गरेका थिए । परम्परागत कलाका बारेमा गरिएको विमर्शले यसप्रति रहेका विभिन्न संशयलाई दुर गर्ने काम पनि भयो । यसका बारेमा व्याख्या, विकास तथा वर्तमान अवस्थाका बारेमा निकै जानकारी प्राप्त गर्न सकियो । पछिल्लो समय केही ललितकला विषयको स्नातक तहमा पाठ्यक्रम बनेको छ भने कतिपय विद्यालयले यसका बारेमा पाठ्यक्रम बनाउने चर्चा पनि सुनिएको छ । तैपनि नेपालको मौलिक कलाको रूपमा चिनिएको यस कलालाई पाठ्यक्रमका रूपमा समावेश गर्ने पहल निकै कम भएको पाइन्छ ।

कार्यक्रममा यसका बारेमा चर्चा गर्दै उपप्राध्यापक कृष्ण ओझाले भने, ‘नेपाली परम्परागत कला संसारमै एउटा अद्वितीय परिचय बोकेको कला हो ।’ उनले नेवार समुदायका कलाकारले पौभा कला बनाउने गरेको र लामा, तामाङ, शेर्पा तथा हिमाली भेगमा बसोबास गर्ने बौद्ध समुदायका कलाकार यस कला परम्परामा जोडिएको बताए । उनले नेपालको गरिमालाई परम्परागत कलाले संसारभरि चिनाउन मद्दत पु¥याएको धारणा व्यक्त गरे ।

परम्परागत कला संसारभरि नै फैलिएको छ । तर, यो कला बनाउन महिनाँै÷वर्षौं बित्छ । वरिष्ठ कलाकार तथा कार्टुनिस्ट कलाकार दुर्गा बरालले परम्परागत कला नेपाली कलाको जग भएको बताए । उनले धेरै वर्षअघि काठमाडौंमा बस्दा नेपाल ललितकला संस्था (नाफा) ले आयोजना गर्ने गरेको राष्ट्रिय ललितकला प्रदर्शनीमा मात्र परम्परागत कला प्रदर्शित भएको हेर्न पाएको अनुभव सुनाए । त्यस प्रदर्शनीबाहेक परम्परागत कलाका बारेमा खासै चर्चा परिचर्चा भएको नपाएको जिकिर गर्दै बरालले यसको विकासका लागि अब गम्भीर भएर सोच्नुपर्ने वेला आएको बताए ।

कुनै पनि कलालाई विस्तार गर्नको लागि त्यसको विषयमा चर्चा हुन जरुरी हुन्छ । महिनामा एक पटक भए पनि परम्परागत कलाको बारेमा हरेक प्रदेशमा छलफल, गोष्ठी र सम्मेलन जस्ता कार्यक्रम हुनुपर्ने सहभागीले बताए । ‘पौभा’ नेवारी शब्द भएको र हिमाली प्रदेशको भाषाले थांका अर्थात् ‘थांकु’ भनिएको बताउँदै वक्ता पूर्णप्रसाद ह्योजुले भने, ‘शब्द फरक भए पनि पौभा र थाङ्काको मूलमर्म, दर्शन र शास्त्र, बनाउने विधिमा फरक छैन । यसको फरक केवल शिल्प विधि अर्थात् भौतिक संरचनामा मात्रै हो ।’ अर्का वक्ता पदमबहादुर लामाले थांका आर्टमा भनेको एउटा धार्मिक, आध्यात्मिक र हाम्रो मूल परम्परा भएको बताए ।

उनले यस कला परम्परा जसलाई निरन्तरता दिँदै नयाँपुस्तामा पुस्तान्तरण गर्दै जानुपर्ने तर्क गरे । कार्यक्रममा प्रश्नोत्तर गर्नेक्रममा एकजना सहभागीको प्रश्न निकै गम्भीर लाग्यो । उनले सोधेको प्रश्न यस्तो थियो, ‘ड्रइङ कलाकारिताको लागि एकदमै महत्वपूर्ण हुन्छ, यो थांका बनाउँदा आफूभित्रको सोचलाई स्केच गर्नुहुन्छ कि ट्रेस गर्नुहुन्छ ? यदि ट्रेस हो भने त्यसलाई म कमर्सियल थांका भन्छु । एकपटक लेकसाइडको एक पसलमा एकजनाले ट्रेस गरेर थांका बनाइरहनु भएको थियो । त्यसलाई वहाँले कपी गरेर तयार पारिरहनु भएको थियो । उहाँको साइडमा एउटा फोटो पनि थियो । अब म त्यसलाई परम्परागत थांका भनूँ कि कमर्सियल थांका यसबारे प्रष्ट पारिदिनुहोला ।’

त्यसको जवाफमा ह्योजुले एउटा सफल कलाकारको लागि कपी गर्ने कुरै नहुने तर्क प्रस्तुत गरे । उनले भने, ‘आर्टमा मौलिक डिजाइन र सबैकुरा कम्पोज हुन जरुरी हुन्छ ।’ उनले कार्यशालामा पनि सिकाउने तरिका नमिलेको सन्दर्भ जोड्दै ट्रेस गर्ने कला कमर्सियल नै हुने बताए । उनले थपे, ‘आर्टिस हुनका लागि सुरुदेखि अन्तिमसम्म आफैँले चित्र कोर्नसक्ने खुबी हुनुपर्दछ ।’ कार्यक्रमको अन्तमा प्रतिष्ठानका परम्परागत शिल्पकला विभाग प्रमुख प्राज्ञ बुद्धिबहादुर गुरुङले परम्परागत कलाले नेपालको मौलिक परम्परालाई जीवन्त बनाएको बताए । उनले आफू नौलो विधाको प्रमुख हुनुको फाइदा उठाउँदै परम्परागत कलासम्बन्धी अध्ययन गर्ने मौका पाए सुनाए । उनले भने, ‘सुरुमा के–कसरी गर्ने भन्ने विषयमा म अत्तिएको थिएँ । तर, परम्परागत कलाकारसँगको भेटघाटपछि मैले यो कलाका बारेमा जान्ने, बुझ्ने मौका पाएँ ।’ परम्परागत कलालाई देशका सातै प्रदेशमा प्रदर्शनी तथा बिस्तार गर्न आफूले सक्दो प्रयत्न गर्ने उनले जानकारी दिए ।

कार्यक्रमपछि परम्परागत क्षेत्रमा तत्काल गर्नुपर्ने निष्कर्ष यसप्रकार रहेको छ । परम्परागत कलालाई विद्यालयको पाठ्यक्रममा समावेश गराउन पहल गर्नुपर्ने । प्रत्येक महिनामा परम्परागत कलासम्बन्धी गोष्ठी, छलफल र अन्तक्र्रिया कार्यक्रम सञ्चालनमा गर्नुपर्ने । युवापिँढीमा यसका बारेमा जानकारी दिँदै अभिप्रेरित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने देखिन्छ । त्यस्तै, परम्परागत कलालाई जोगाउन शैक्षिक क्षेत्रमा पाठ्यक्रम बनाउनु पर्दछ । साथै विद्यालय तथा विश्वविद्यालयमा यस विषयको अध्ययन अध्यापन गराउन जरुरी छ ।

त्यसैगरी देशका सातओटै प्रदेशमा परम्परागत कला बिस्तार गर्न सम्बन्धित कार्यलयहरूले प्रभावकारी कार्यक्रमको आयोजना गर्न जरुरी रहेको छ । परम्परागत कलाले धार्मिक, सांस्कृतिक र व्यापारमा राष्ट्रकै लागि ठूलो योगदान दिएकाले सरकारले पनि यसको संरक्षण, प्रवद्र्धन तथा विकासमा ध्यान दिन जरुरी । साथै यसको सांस्कृतिक पक्षलाई समेट्दै व्यापारिक प्रवद्र्धनको नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ । अन्त्यमा पौभा÷थांका कला नभनी परम्परागत कला भनेर सबै कलाकारले यसको महत्व र गरिमाका बारेमा सकारात्मक बहस गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया