एउटा नपत्याउने घटनाको रूपमा मेरो स्मृतिमा यादव थपलियाको नाम आउँछ । ०५७/५८ सालदेखि मित्रताको कसीमा जोडिएका हामीले डेढ दशकसम्म विभिन्न सिर्जनात्मक गतिविधिमा सँगसँगै काम ग¥यौँ । कहिले कलाका विविध गतिविधिमार्फत आफूलाई सक्रिय बनायौँ त कहिले सँगसँगै साहित्यिक प्रकाशन गरेर ।
०५७/५८ सालमा अनामनगरमा कवि तथा लेखकका रूपमा चिनजान भएका मित्र थपलियासँग त्यसयता सिर्जनात्मक कार्यमा लामो संगत भयो । त्यसवेला निकै साहित्यिक गतिविधि गर्ने नागार्जुन साहित्य प्रतिष्ठानमा जोडिएका थपलियाले मलाई पनि त्यसको सदस्य बनाएका थिए ।
०५८ सालपछिको नेपाली राजनीतिक परिदृश्यमा देखापरेको शाहीतन्त्रको कदमका विरूद्धमा प्रतिष्ठानले लोकतान्त्रिक आन्दोलनलाई सिर्जनात्मक रूपमा अगाडि बढाएको थियो । थपलियाले मलाई विभिन्न साहित्यिक कार्यक्रममा उनकै मोटरसाइकलमा चढाएर लैजान्थे ।
हामी एकअर्काका सिर्जनात्मक कामका बारेमा बहस गथ्र्यौ । मेरो चित्रकारिताकर्म र उनको साहित्यिक लेखनका बारेमा हामी दैनिक घण्टौँ छलफल गथ्र्यांै । उनको आलोचनात्मक चेतले मलाई निकै उत्साहित बनाउँथ्यो । त्यसयता सधैं काममा लाग्न अभिप्रेरित गर्ने उनले मलाई पत्रकारिता क्षेत्रमा अगाडि बढ्नसमेत निकै सहयोग गरे ।
उनले वेलावेलामा आफू जोडिएका आबद्ध विभिन्न पत्रपत्रिकामा कार्टुन बनाउन लागि मलाई लगाउँथे । साथै कलाका समाचार लेख्न समेत उनको उत्पे्ररणा हुन्थ्यो । थपलियाले ललितकलाका बारेमा लेख्न मलाई सधैं उत्प्रेरित गरिरहे । कलाको सौन्दर्यबोधलाई निकै गहनताका साथ उठान गर्ने उनको लेखकीय क्षमतासमेत निकै घतलाग्दो थियो । कलाको मर्म र यथार्थ बुझ्ने लेखक साहित्यकारले गहन कृति लेख्न सकछन् भन्ने उदाहरण थपलिया हुन् । उनले यसको महत्वलाई गहिरो गरी बुझेका थिए र यसप्रति निकै लगाव रहेको थियो । उनले कतिपय लेखकका पुस्तकको आवरण चित्र बनाउनका लागि मलाई सिफारिस गरेका थिए । उनले आफूले सम्पादन गर्ने कतिपय साहित्यिक कृतिको आवरणको कन्सेप्ट दिएर चित्र बनाउन लगाउँथे ।
०६० सालतिर मैले ‘ललितकला’ द्वैमासिक पत्रिका निकाल्ने तयारी गर्दा उनले मलाई निकै सहयोग गरे । उक्त पत्रिकाको सम्पादनको कार्यकारी जिम्मा लिएर उनले ललितकला पत्रकारिता र यस क्षेत्रप्रति नै निकै ठूलो गुण लगाए । त्यसवेला नेपालमा ललितकला विषयमा केन्द्रित रहेर निकै कम पत्रिका प्रकाशित थिए । त्यस्तो वेला उनले मलाई यस क्षेत्रको पत्रकारिता गर्न उत्प्रेरित गरे । केही अंक निस्केपछि उनले सम्पादनको जिम्मा लिने र अझ स्तरीय पत्रिका निकाल्ने सल्लाहबमोजिम ‘ललितकला द्वैमासिक’ प्रकाशित भयो । हामीले लगभग ८–१० अंकमा सँगै काम ग¥याँै । उनले पत्रिकामा प्राप्त लेखलाई निकै ओजिलो बनाउन निकै कोसिस गरे । हाम्रा लागि पत्रिका प्रकाशनका ती दिन निकै स्मरणीय छन् ।
सधैँ सिर्जनशील कर्मप्रति विश्वास गर्ने थपलियाले कविता, समालोचना, निबन्ध तथा उपन्यासका क्षेत्रमा आफूलाई उभ्याउँदै अगाडि बढेका थिए । फोटोग्राफीमा समेत उक्तिकै रूचि राख्ने उनले केही समय फोटोग्राफीको काम गरेको वेलावेलामा मलाई सुनाउँथे । फोटोग्राफीको कामपछि उनले पत्रकारितामा हात हालेको हामीलाई सुनाउँथे । मसँग रहेको क्यामेरा र फोटोग्राफीका विविध पक्षका बारेमा समेत उनले जानकारी दिइरहन्थे । उनी हामीसँग वेलावेलामा कला, साहित्य तथा संस्कृतिका बारेमा बहस गर्थे । उनका कुरा निकै तर्कपूर्ण र मानिसलाई प्रभावित पार्ने खालका हुन्थे ।
उनको सक्रियतामा स्थापना भएको सिर्जनामझेरी प्रतिष्ठानले नेपाली कला, साहित्य, संगीत तथा नाटकका क्षेत्रमा केही समय काम पनि ग¥यो । सिर्जनाका विविध क्षेत्रलाई समेट्न सके मात्र नेपाली संस्कृतिको विकास हुन सक्छ भन्ने मान्यताका साथ उक्त संस्थाको स्थापना गरिएको थियो । त्यसको सूत्रधार पनि उनै थपलिया थिए । उनले संसथाको अवधारणा ल्याएपछि हामीले विधिवत् रूपमा दर्ता गरेर काम गरेका थियौँ । उक्त संस्थाले कला प्रदर्शनी, गोष्ठी, छलफल, कार्यशालालगायतका विविध कार्यक्रमसमेत ग¥यो । उनकै सक्रियतामा उक्त संस्थाबाट ललितकलासम्बन्धी विभिन्न गतिविधि सम्पन्न भए । मैले काठमाडौं विश्वविद्यालय कला विभागबाट दक्षिण एसियाली कला अध्ययन विषय अन्तर्गत ‘नेपाली कलामा स्वदेशी विम्ब’ विषयमा शोध गरेको थिएँ । जसअन्तर्गत पाँचजना अग्रज कलाकारका कलाकृति प्रदर्शनी गर्नुपथ्र्यो । पाँचजना कलाकारको प्रदर्शनीको संयोजनको जिम्मा थपलियाले सिर्जनामझेरी प्रतिष्ठानबाट लिएर सम्पन्न गर्न सघाएका थिए ।
उनले थुप्रै कलाकारका बारेमा विभिन्न पत्रपत्रिकामा लेखसमेत प्रकाशित गरे । जुन नेपाली ललितकला क्षेत्रका लागि अतुलनीय योगदान रहिरहने छ । उनका लेखमा कलाको गहनताका बारेमा उललेख हुन्थ्यो । कतिपय कलाका शाब्दिक विषयमा उनले मसँग सोधिरहन्थे । लेखनमा प्रयुक्त विभिन्न कलाका शब्दको प्रयोगात्मक तरिकाबाट हेर्नुपर्दछ भनेर उनी विभिन्न कलाकारको स्टुडियोमा जाने गर्दथे ।
सक्रिय तथा सिर्जनशील व्यक्तित्वका रूपमा परिचित थपलियाको दर्शनप्रति पनि गहिरो अभिरूचि थियो । उनले दर्शन र त्यसका विविध आयामका बारेमा गहकिलो तर्क प्रस्तुत गर्थे । उनको उपन्यास ‘मृत्युचुम्बन’ त्यसको एउटा सशक्त उदाहरण हो । उनले जीवन र जगतको बुझाइलाई निकै गहकिलो ढंगले प्रस्तुत गर्दथे भन्थे, ‘आफ्नो कामबाट खुसी हुने मानिस सधैं सफल हुन्छ ।’
काभ्रेबाट काठमाडौं खाल्डोमा सिर्जनशील भविष्यको यात्रा गर्न झरेका यादवले नेपाली पत्रकारिताका क्षेत्रमा समेत विशिष्ठ योगदान दिएका छन् । उनले पठनीय रूपमा पाठकलाई खुराक पस्कनुपर्दछ भन्ने मान्यता अनुरूप निकै मिहिनेत गर्दथे । उनले कच्चापदार्थलाई प्रशोधन गरेर पढ्नलायक सामग्री उत्पादन गर्थे । उनीसँग काम गर्नुको मज्जा बेग्लै र सिर्जनशील रहन्थ्यो । कसरी सामग्रीलाई पठनीय बनाउन सकिन्छ भन्ने उनको ध्याउन्न र त्यसका लागि गरिने मिहिनेत साँच्चिकै अनुकरणीय रहन्थ्यो हाम्रा लागि ।
साथीभाइका सुखदुःखमा सहभागी भएर उनीहरूप्रति सद्भाव राख्ने थपलिया कर्मशील, मिहिनेती, संघर्षशील, सहृदयी थिए । उनको लगावले सहकर्मीलाई काममा लाग्न सधैँ अभिप्रेरित गथ्र्यो भने निकै ऊर्जा पनि मिल्दथ्यो । संघर्षको बीचबाट हुर्किएको एउटा प्रतिभा जसले दिनरातको दैनिकीको खटनपटनबाट पनि आफ्नो सिर्जनशील यात्रालाई निरन्तर गन्तव्यतर्फ अघि बढाइरहेको थियो । दैनिक जीविकाका लागि गरिने कर्मले जिवन जुजार्न सहजमात्रै हुने बताउने उनले सिर्जनात्मक कर्मबाट सन्तुष्ट बन्ने बाटोमा समेत लागेको सुनाइरहन्थे । उनले कान्तिपुर राष्ट्रिय दैनिक, नेपाल रिपब्लिक मिडिया, नयाँ पत्रिका लगायतका दर्जनौँ पत्रपत्रिकामा काम गरे । यी संस्थामा काम गर्दैगर्दा पनि उनले आफ्नो सिर्जनात्मक ध्याउन्न कहिल्यै रोकेनन् । उनको कर्मशील यात्राका क्रममा गरेका सिर्जनशील कामले अन्य सहयात्रीलाई समेत निकै हौसला र प्रेरणा मिल्दथ्यो ।
यस्ता ऊर्जाशील व्यक्तिको निधन कहिलेकाही निकै अपत्यारिलो र पीडादायी हुने रहेछ । तर, ‘मृत्युचुम्बन’ जस्तै उनको भौतिक रूपमा हामीमाझ छैन । यो कटुसत्यलाई स्वीकार्दै उनको सिर्जनाकर्मको सदैव सम्झनामात्रै हाम्रा मनमा रहने परिस्थिति बनेको छ । उनले नेपाली साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा दिएको योगदान हाम्रा सधैं अनुकरणीय रहने छ । थपलियाले गरेका सिर्जनशील कर्म र कृति नेपाली साहित्याकाशका लागि ऊर्जाका वाहक हुने विश्वासका साथ लामो समयसँगै संगत गरेका अनन्यमित्र यादव थपलियाप्रति असीम सम्झनाका साथ श्रद्धाञ्जली !
प्रतिक्रिया