चट्याङले ८५ भेडाबाख्रा मरे

मुगु । जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–९ चिमाथ गाउँको माथि पाटन लेकमा चट्याङ लागेर ८५ वटा भेडाबाख्रा मरेका छन् । बिहीबार अपराह्न ४ बजे पाटनमा भेडाबाख्रा चराउँदै गरेको अवस्थामा एक्कासि हावाहुरीसँगै पानी परेको र त्यस लगत्तै चट्याङ परेर ८५ वटा भेडाबाख्रा मरेका हुन् ।

चट्याङ लागेर कृष्णबहादुर बुढाका १५, हरिलाल बढुवालका १२, जय सावतका १०, बिर्खबहादुर बढुवालका चार, कालीबहादुर नेपालीका चार लगायत १० जना स्थानीय किसानका ८५ वटा भेडाबाख्रा मरेका सोही गाउँका स्थानीय अक्कलबहादुर बुढाले जानकारी दिए ।

चिमाथ गाउँबाट पाँच घण्टाको पैदल यात्रापछि पुगिने बिसे दहमा स्थानीयले एक महिना अगाडि भेडाबाख्रा पाल्न पाटनमा लगेका र बिहीबार दिउँसो चार बजेपछि चट्याङ लागेर करिब १० लाख बराबरको क्षति भएको अनुमान गरिएको आनन्द आधारभूत विद्यालय चिमाथका प्रधानध्यापक बिर्खबहादुर बढुवालले जानकारी दिए । घटनास्थलतर्फ प्रहरीचौकी पुलुबाट खटिएको प्रहरीको टोली पुगिसकेको जनाइएको छ ।

प्रतिक्रिया