काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन सबै कम्युनिष्ट नेकपामा एकताबद्ध हुनुपर्ने बताएका छन् । नेकपाको पार्टी मुख्यालय धुम्रबाराहीमा आज पार्टी प्रवेश कार्यक्रममा उनले मोहनविक्रम सिंहदेखि नारायणमान बिजुक्छे सम्मका कम्युनिष्ट नेतालाई नेकपामा समाहित भई मुलुकको विकास निर्माणमा लाग्न आग्रह गरे ।
उनले नवप्रवेशीलाई आफ्नै घरमा फर्किको भन्दै पार्टी प्रवेश गर्नु सबै खाले षडयन्त्रमाथि एउटा प्रतिवाद प्रतिनिधित्व गरेको समेत बताए । अध्यक्ष दाहालले पार्टीमा के सम्मान गरे भने सबै कम्युनिष्ट आउँने बताए ।
‘जो जो जहाँ भए पनि वर्षौदेखिको स्कुलिङको कारण एउटै निष्कर्षमा आउँदा रहेछौँ भन्ने पार्टी एकताबाट महसुस भएको छ’, उनले भने, ‘बाँकी रहेका कम्युनिष्ट पार्टीका नेतालाई पनि छिटोभन्दा छिटो समाहित हुन आग्रह गर्दछु, अब ढिला हुन्छ ।’ उनले पार्टीमा समाहित हुनका लागि पुराना पुस्ताका केही नेतालाई कसरी सम्झाउने भन्ने चिन्ता लाग्ने गरेको बताए ।
‘हामीलाई शुरुमा प्रशिक्षित गर्ने मोहनविक्रम सिंह, चित्रबहादुर केसीलाई के र कसरी सम्मान गर्ने होला र के सम्मान गरेदेखि राष्ट्रको एकता र कम्युनिष्ट आन्दोलनको निम्ति आउनुहोला भनेर चिन्ता लागि राख्छ’, उनले भने, ‘राष्ट्रको स्वतन्त्रता र स्वाधिनतालाई सुदृढ गर्न र कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन उहाँलाई के सम्मान गरेदेखि उहाँहरु खुशी हुुनुहुन्छ । उहाँलाई के भन्न मन लागेको छ त्यो भन्न वातावरण यही पार्टीमा दिन हामीले कुनै कन्जुस्याइँ गर्ने छैनौँ तर उहाँहरु आउनुपर्यो ।’
उनले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे पनि एउटा धारा भएकोले नेकपामा आउनुपर्ने बताए । ‘उहाँलाई पनि के सम्मान गरेदेखि कम्युनिष्ट आन्दोलनलाई एकै ठाउँमा ल्याउने र राष्ट्र बनाउने सबै मिलेर विकास र समृद्धिमा लैजानका लागि के गरे ठीक हुने हो उहाँले हामीहरुलाई भनिदिए हुने हो’, उनले भने ।
अध्यक्ष दाहालले मोहन बैद्य पनि पार्टीमा आउनुपर्ने भन्दै उनलाई कसरी बुझाउने भन्नेमा आफूलाई चिन्ता रहेको बताए । यस्तै उनले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पनि कम्युनिष्ट पार्टीको बहुमतको सरकार भएको बेला समाजिक न्याय, समृद्धिका पक्षमा लाग्न आह्वान गरे ।
नेता दाहालले डा. बाबुराम भट्टराईको वौद्धिकता अन्त गएर कहिँ पनि सकारामत्क परिणति नदेखिने भन्दै नेकपामा प्रवेश गर्न आग्रह गरे । उनले भने, ‘कम्युनिष्ट आन्दोलनसँग मात्र जोडिएर उहाँको बौद्धिकताको अर्थ हुन्छ । जतिबेला उहाँ कम्युनिष्ट पार्टीमा हुनुहुन्थ्यो त्यतिबेला उहाँको धेरै नै महत्व र भूमिका थियो ।’
सबैभन्दा अग्लो टाकुरामा कम्युनिष्टको दुई तिहाइ सरकार जुन समृद्धि र विकासको नारा लिएर अगाडि जाने कुरा प्रतिक्रियाका लागि सहिनसक्नु अवस्था भएकोले षडयन्त्र भइरहेको उनको भनाइ छ ।
कम्युनिष्ट पार्टीभित्र झगडाको आविष्कार गरेर तिललाई पहाड बनाउन खोजिएको भन्दै उनले त्यस्ता हल्लाका पछि नलाग्न आग्रह गरे । नेपालको शान्ति प्रक्रिया विश्वको सफल शान्ति प्रक्रिया भएकोले यसलाई एक थरीले भाड्न लागीपरेको उनको तर्क थियो ।
प्रतिक्रिया