नेपालस्थित भारतीय राजदूतावासले यही जेठ १४ गते पत्राचार गर्दै भारतबाट नेपाल आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण नगर्न आग्रह गरेको छ । भारतद्वारा नेपाल आयात हुने फलफूल तथा तरकारीमा विषादीको मात्रा अत्यधिक रहेको जनगुनासो आउन थालेपछि सरकारले राजधानी काठमाडौंका फलफूल तथा तरकारी पसलबाट नमुना संकलन गरी विषादी परीक्षण सुरु गरेको थियो । परीक्षणका क्रममा भारतीय फलफूल तथा तरकारीमा अत्यधिक विषादी प्रयोग गरिएको पुष्टि भयो । यो पुष्टि पछि सरकारले सीमा नाकामै नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं ल्याउने र खान योग्य प्रमाणित भयो भने मात्रै आयातको अनुमति दिने नीति लियो । नेपाल सरकारले लिएको यो नीतिका कारण फलफूल तथा तरकारी बोकेका थुप्रै गाडीहरू सीमा नाकामा रोकिएका छन् । यो समस्याको गा“ठो फुकाउनका लागि भारतीय दूतावासले नेपाल सरकारलाई औपचारिक रूपमै आग्रह गरेको हो । तर, यस्तो आग्रह गरिएको पत्रको भाषा भने दबाबमूलक छ । कुन कुन वस्तु कति परिमाणमा आयात गर्ने ? भन्ने कुरा सार्वभौम राष्ट्रको अधिकारको कुरा हो । त्यसमाथि पनि भारतीय तरकारी विषादीयुक्त भएको भन्दै विश्वका अन्य मुलुकहरूले पनि प्रतिबन्ध लगाइसकेका छन् । नेपालले त कम्तीमा परीक्षण गर्ने र खानका लागि उपयुक्त भए आयात गर्ने नीति लिएको छ । यो नीतिको खिलापमा दबाबमूलक पत्र पठाउनु भारतको हेपाहा प्रवृत्ति हो ।
विषादी परीक्षणका क्रममा नेपाल सरकारका तर्फबाट केही कमीकमजोरी भएका कारणले पनि भारतीय दूतावासले यस्तो व्यहोराको पत्र लेख्ने हिम्मत गरेको हो । सीमा नाकामा आइसकेको फलफूल तथा तरकारीको नमुुना संकलन गरेर काठमाडौं ल्याउनुपर्ने अवस्थाका कारण समस्या उत्पन्न भएको हो । अहिलेको प्रचण्ड गर्मी मौसममा फुलफूल तथा तरकारी भरिएको ट्रक भित्र दुई दिन रोकियो भने कुहिन्छ । त्यसैले सिमा नाकाको जुन विन्दुबाट आयात हुन्छ त्यही बिन्दुमा परीक्षणको व्यवस्था गरिएको भए भारतीय दूतावासले बोल्ने ठाउ“ रहने थिएन । तरकारी र फलफूल कुहियो भने किसान तथा साना व्यापारीले ठूलो नोक्सानी बेहोर्नुपर्छ । आफ्ना देशका किसानको हितप्रति भारतीय दूतावासले चासो देखाउनुलाई अन्यथा रूपमा लिनुहुन्न । सबै नाकामा परीक्षण प्रयोगशाला स्थापना गर्न सम्भव हु“दैन । त्यसैले निश्चित नाकामा परीक्षण प्रयोगशालाका व्यवस्था गर्ने र ती नाकाहरूबाट मात्रै भारतीय फलफूल तथा तरकारी आयात गर्ने प्रावधान बनाइनु उचित हुन्छ ।
भारतबाट फलफूल तथा तरकारी आयात हुन एक दिन बन्द हु“दा पनि नेपालमा हाहाकार हुने जमाना पनि थियो । उदाहरणका लागि ०४६ सालमा भारतद्वारा लगाइएको नाकाबन्दीलाई लिन सकिन्छ । अरू वस्तुमा नाकाबन्दी लगाए पनि फलफूल तथा तरकारीमा नाकाबन्दी नलगाइदिन नेपाल सरकारले त्यतिवेला भारतलाई धेरै पटक अनुरोध गरेको थियो । तर, अहिले ठीक उल्टो अवस्था बनेको छ । भारत नेपालमा निर्बाध फलफूल तथा तरकारी निर्यात गर्न चाहन्छ तर नेपाल भने सकभर भारतबाट फलफूल तरकारी आयात नभइदिए हुन्थ्यो भन्ने चाहन्छ । नेपाल तरकारी, कुखुरा, दुध, माछामा करिब करिब आत्मनिर्भर भइसकेको छ । जुन वस्तुमा मुलुक आत्मनिर्भर छ त्यस्ता वस्तु विदेशबाट आयात गर्नु भनेको आत्मघाती कदम हो । भारतले कृषिमा निकै ठूलो परिमाणमा अनुदान दिने गरेको छ । सिँचाइको सुविधा पनि छ । मल, बिउ धेरै सस्तो छ । नेपाली किसानको भन्दा भारतीय किसानको उत्पादन लागत धेरै नै सस्तो छ । भारतबाट सस्तो मूल्यमा जब फुलफूल तथा तरकारी आयत हुन्छ तब नेपालको कृषि व्यवसाय धरासायी हुन्छ । त्यसैले कृषि उपज आयत गर्ने मामिलामा नेपाल संवेदनशील हुनु जरुरी छ । वर्षायाममा काउली, बन्दा, आलु, मुलालगायतका तरकारीको उत्पादन भारतमा निकै कम हुन्छ भने नेपालमा निकै धेरै उत्पादन हुन्छ । यो सिजनमा भारतले काउली, बन्दा, आलु, मुलालगायतका तरकारी विदेशबाट आयात गर्छ । तर, भारतले नेपाली तरकारी आयात नगरेर अरु मुलुकबाट तरकारी आयात गर्छ । क्वारेन्टाइन, विषादी परीक्षणलगायतका निहु“ बनाएर भारतले आफ्नो मुलुकमा नेपाली तरकारीको बजारलाई हतोत्साहित बनाइरहेको छ । त्यसैले, यो समस्याको गा“ठो फुकाउन दुवै देशका अधिकारीहरूले हार्दिकताका साथ वार्ता गर्नुपर्छ । दबाब र धम्कीले समस्या समाधान गर्दैन ।
प्रतिक्रिया