काठमाडौं । बजारमा यति वेला तरकारीको अभाव देखिँदै आएको छ । भारतबाट आउने विषादीयुक्त तरकारीमा सरकारले कडाइ गरेपछि बजारमा अभाव देखिएको हो ।
तरकारी सीमामा रोकिएको विषयमा भारतले भने निक्कै आपत्ति जनाएको छ । नेपालस्थित भारतीय दूतावासले पत्र नै लेखेर सरकारसँग चासो व्यक्त गरेको छ । भारतले विशेषगरी दुई विषयमा चासो राखेपछि सरकारले त्यसको जवाफ दिएको छ । भारतले सीमा नाकामा पर्याप्त उपकरण र जनशक्तिबिना विषादी जाँच्दा समय लाग्ने भएकाले धेरै तरकारी र फलफुल सडेको तथा नेपालबाट जाने तरकारी र फलफुलमा भारतले नियमित विषादी चेकजाँच गर्दैन भने नेपालले किन गर्ने ? भन्ने प्रश्न राखेको छ । सरकारले भने आम नागरिकको स्वास्थ्यको ख्याल गर्दै भारतबाट आयात भइरहेको विषादीयुक्त तरकारीमा रोक लगाइएको जानकारी दिएको छ ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नागरिकको स्वास्थ्यको ख्याल गर्न यो प्रक्रिया अगाडि बढाएको बताए । उनले प्राविधिकरूपमा कुनै समस्या भए सरकारले तत्कालै त्यसलाई हल गर्दै लैजान उल्लेख गरे । ‘तरकारी तथा फलफूल चेकजाँच नियमित प्रक्रिया हो । यसमा अरू कुनै कारण छैन’, प्रवक्ता बाँस्कोटाले भने, नागरिकको स्वास्थ्यको कुरा भएकाले चेकजाँच हुनु राम्रो हो ।
प्राविधिक समस्या परेको भए हल गर्छौं ।’ सरकारले भारतलाई पनि यस्तो चेकजाँच गर्न सक्ने जवाफ दिएको छ । मन्त्री बास्कोटाले चीन र भारत जहाँबाट आएपनि विषादीरहित तरकारी आउनुपर्ने दोहो¥याए । नागरिकको स्वास्थ्यका लागि यो चेकजाँच गर्नु कुरा राम्रो हो । यो त सबैले गर्दा राम्रो हुन्छ’, उनले भने, त्यसमा कुनै प्राविधिक सामग्रीको कारणले झन्झटिलो भएको भए सहज बनाउनुपर्छ । हामी त्यसो गर्न तयार छौँ ।’
मन्त्री बाँस्कोटाले कुनै पनि देशले कसैको पनि स्वास्थ्यमा खेलबाड गर्न नहुने बताए । ‘न हाम्रो उत्पादनले भारतीयको स्वास्थ्यको खेलबाड गर्न मिल्छ । न भारतीय उत्पादनले नेपालका नागरिकको स्वास्थ्यमा खेलबाड गर्न मिल्छ’, मन्त्री बाँस्कोटाले भने, ‘यसबारेमा दुवै सरकार संवेदनशील हुनुपर्छ, यो पहिलो शर्त पनि हो ।’ विषादीरहित तरकारी उत्पादनमा उत्पादक सजग हुनुपर्ने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत जेठ १० गते भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को उक्त निर्णयपछि असार २ गते राजपत्रमा सूचना निकालेर भन्सारमा चेकजाँच थालिएको थियो ।
गुणस्तरहीन वस्तुको आयात रोक्ने उद्देश्यले सरकारले गरेको यो नीतिगत व्यवस्थाको कार्यान्वयनमा भने चुनौती देखिएको छ । हाल कालिमाटी, नेपालगञ्ज र सर्लाहीको हरिवनमा मात्रै फलफूल तथा तरकारीको विषादी परीक्षण हुन्छ । भन्सारहरूमा विषादी परीक्षणको उपकरण नहुँदा आयातकर्तालाई काठमाडौं आई नमुना परीक्षण गराई लैजानु पर्ने बाध्यता छ । कालिमाटी बजारमा आउने तरकारी तथा फलफूलको ४० प्रतिशत भारतले ओगटेको छ भने ६० प्रतिशत स्थानीय बजारले ओगटेको छ ।
प्रतिक्रिया