चित्रमा युगल जोडी

ललितपुर । युगल जोडीका प्रमिल अवस्थालाई चित्रित गरिएका चित्रको प्रदर्शनी भएको छ । युवा कलाकार सविता डंगोलले तयार पारेका चित्रको प्रदर्शनी पाटनस्थित कुमिबाहमा रहेको इमेज आर्क ग्यालरीमा भइरहेको छ । ‘इम्ब्रासेस’ शीर्षकमा भएको पाँचौँ एकल कला प्रदर्शनीमा कलाकार डंगोलले आफूले निरन्तरता दिइरहेको ‘कपल सिरिज’ का चित्र राखिएको छ ।

विभिन्न भावभंगिमा जोडीले आफ्ना प्रेमिल भावलाई प्रस्तुत गरेका चित्रमा रङ र विषयको संयोजनलाई विशेष ध्यान दिइएको छ । युगल जोडीलाई काइँयो बिम्बसँग जोडेर कलाकार सविताले प्रेमले मानिसलाई खुसी र सुखी बनाउने बताइन् । उनले महिला पुरुषबीचको प्रेम र त्यसले संसारमा ल्याउने खुसीलाई क्यानभासमा उधिन्दै आफ्ना भावना व्यक्त गरेको सुनाइन् ।

उनले भनिन्, ‘प्रेमिल जोडी र काइँयोलाई चित्रमा उतारेर संसारमा मानिसको सुखी र खुसीको विषयलाई उतार्ने कोशिस गरेकी हुँ ।’ युगल जोडीका विविध भावभंगिमालाई लिएर चित्र बनाउन रुचाउने उनले यस शृंखलामा राखिएका कलाकृतिमा आफनो जीवनको अभिव्यक्ति पाएको बताइन् । उनले भनिन्, ‘मैले आफूले अनुभव गरिरहेको जीवन र उत्साहलाई चित्रमार्पmत प्रस्तुत गर्दै आएकी छु ।’

त्यस्तै, उनले आफ्ना चित्रलाई बोधगम्य र सिर्जनात्मक बनाउन विभिन्न बिम्बको प्रयोग गर्दै आएकी छन् । उनले अधिक प्रयोग गर्ने बिम्बको रूपमा ‘काइँयो’ रहेको छ । काइँयो प्रयोगमार्फत उनले चित्राभिव्यक्तिलाई सशक्त बनाउने कोशिस गरेको सुनाइन् । उनले काइँयोलाई समस्याको समाधानको प्रतीकको रूपमा आफना चित्रमा प्रयोग गर्दै आएको धारणा व्यक्त गरिन् । उनले जसरी लट्टा परेको कपाललाई एउटा काइँयोले कोरेर त्यसलाई सहज रूपमा ल्याउन सकिन्छ, त्यस्तै गरेर जीवनमा आउने समस्याको समाधान पनि सकारात्मक भई गरेमा सफल हुन् सकिन्छ भन्ने तर्क गर्छिन् । यसैमा केन्द्रित रहेर आफूले चित्रमा काइँयोको अधिक प्रयोग गरेको जनाइन् ।

उनले चित्रमा काइँयोबाहेक अष्टमंगल र नेवारी परम्पराका विभिन्न प्रतीक चिन्हलाई कलात्मकरूपमा प्रयोग गर्दै आएकी छन् । मानिसलाई सकारात्मक बनाई सुखी र खुसी बनाउन आफूले चित्रमा विभिन्न बिम्ब र विषयलाई प्रयोग गर्दै आएको कलाकार सविताले जिकिर गरिन् । सामाजिक मान्यता र त्यसका परिधिलाई चिर्दै उनले समाजमा रहेका विकृतिजन्य विषयलाई कम गर्नुपर्ने तर्क गर्दै चित्रमार्फत सकारात्मक धारणा निर्माण गर्ने कोशिस गरेको सुनाइन् । उनले भनिन्, ‘चित्रमा प्रयोग गरिने विभिन्न संकेत, बिम्ब, विषयले व्यक्ति तथा समाजमा शुभमंगल तथा सकारात्मक सन्देश दिन्छन् । मैले पनि सकारात्मक सोचको विकास गर्नका लागि चित्रमा विभिन्न विषयलाई प्रयाग गर्दै आएकी छु ।’

६ असारदेखि सुरु भएको प्रदर्शनीमा कलाकार डंगोलले एक्रेलिक र पेन एन्ड इन्क माध्यममा बनाएका ३८ चित्र राखेको जानकारी दिइन् । प्रदर्शनी २५ असारसम्म रहने ग्यालरीले जनाएको छ ।

प्रतिक्रिया