गतसाता तनहुँको भानु नगरपालिका–३ खहरेमा पास्नी भोजमा सहभागीमध्ये ४१ जना एकै चोटी सख्त बिरामी परेपछि ठूलो खैलाबैला मच्चियो । भोजमा जसजसले माछाका परिकार खाएका थिए , उनीहरूलाई झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने समस्या देखियो । भोजमा प्रयोग भएका माछा कहाँबाट ल्याइएका थिए ? भन्ने अनुसन्धान प्रहरीले गरेको छ । केही वर्षअघि तनहुँकै दमौलीमा चनाचटपटे बेच्ने सडक व्यापारी पक्राउ परेपछि निकै सनसनीपूर्ण तथ्य बाहिर आएको थियो । चनाचटपटेमा प्रयोग हुने अमिलो पर्दाथ एसिड मिसाएर तयार गर्ने गरिएको तथ्य बाहिर आएपछि सनसनी मच्चिएको हो । चटपटे बनाउँदा सामान्यतया कगती, निबुवाको अमिलो वा भेनेगर प्रयोग गरिन्छ, तर आर्थिक फाइदाका लागि एसिड प्रयोग गरिने रहेछ । एक गाग्री पानीमा एक चम्चा एसिड मिसाउँदा पूरै पानी चुकजस्तो अमिलो हुने भएकोले उनीहरूले एसिडको प्रयोग गरेका रहेछन् । एसिडको सेवनले ग्याँस्ट्रिकको समस्या त ग्यारेन्टी हुन्छ, पेटमा घाउ तथा क्यान्सरको समस्या पनि त्यतिकै देखिने विज्ञहरू बताउँछन् । यो प्रकरणपछि सुरक्षा निकायले चनाचटपटमा उपभोक्ताले देख्ने गरी कागती निचोरेर राख्नुपर्ने अनिवार्यता गरेको थियो । केही वर्ष यो अभियान लागू पनि भयो तर अहिले चनाचटपटे पसलमा कागती देखिन छाडेको छ ।
सदावहार ग्याँस्टिक र दुई–चार पटक जण्डिसको समस्या नबेहोरेका नेपालीहरू यतिवेला सायदै होलान् । जबकि, विकसित मुलुकहरूमा यस्ता पनि रोग हुन्छन् भन्नेसमेत थाह छैन । किन यस्तो भइरहेको छ त ? चिकित्सकहरूका अनुसार करिब ९० प्रतिशत रोग दूषित खानपानबाटै उत्पन्न हुन्छन् । दूषित खानपानबाट जनतालाई बचाउन सक्ने हो भने राज्यले स्वास्थ्यका लागि खासै ठूलो धनराशी खर्च गर्न नपर्ने यो तथ्यांकले पुष्टि गर्छ । राज्यले यसका लागि प्रयास नगरेको पनि होइन । खाद्य तथा गुण नियन्त्रण विभाग नामक संस्था नै राज्यले खडा गरेको छ । यो विभागका प्राय जिल्लामा डिभिजन कार्यालयहरू छन् । बिक्रीमा राखिएका खाद्य तथा पेय पदार्थहरू कति गुणस्तरीय छन् ? भन्ने परीक्षण गर्ने जिम्मेवारी यो संस्थाको हो । तर संस्थाका कर्मचारीहरू आफ्नो जिम्मेवारीमा इमान्दार नरहेको देखिएको छ । राजमार्गका होटलहरूमा बासी खानेकुरा स्वभाविक मान्ने गरिएको छ । दूरदराजका ठाउँहरूको त कुरा छोडौँ राजधानी काठमाडौं उपत्यकाका कतिपय होटल तथा मिठाइ पसलहरूको दुर्दशाका समाचार वेलामौकामा आउने गरेका छन् । यस्ता अधिकांश होटलहरूले दूषित पानी पिलाई रहेका छन् । मासिक रूपमा प्रहरी र खाद्य तथा गुण नियन्त्रण विभागका कर्मचारीलाई रकम बुझाउने र उपभोक्तामाथि ज्यादती गर्ने क्रम जारी छ ।
मृत शरीर गल्न नदिन अस्पतालको पोष्टमार्टम शाखाले प्रयोग गर्ने औषधि प्रयोग गरेर ताजा जस्तो देखाइएका महिनौ पुराना माछाहरू भारतबाट बिक्रीका लागि नेपाल ल्याइने गरेको रहस्य केही वर्ष अघि खुलेको थियो । फलफूललाई छिटो पकाउन तथा आकर्षक देखाउन प्रयोग हुने रसाइन मानव स्वास्थका लागि घातक हुने चेतावनी चिकित्सकहरूले दिइनै रहेका छन् तर कार्यान्वयन हुन सकेको छैन । मिठाइ रंगाउँन प्रयोग गरिने रसायनको समस्या पनि त्यतिकै छ । तरकारीमा विषादी प्रयोग गरिने समस्या त विकराल बनेको छ । नेपालमा अहिले सबैभन्दा धेरै प्रयोग हुने भनेको बोइलर कुखुराको मासु हो । तर, बोइलर कुखुरालाई खुवाउने दानामा धेरै ठूलो परिमाणमा मानव स्वास्थ्यका लागि घातक हुने औषधि प्रयोग हुने गरेको पनि विज्ञहरूले बताउ“दै आएका छन् । पहिले पहिले आँफैले गरेको उत्पादन प्रयोग गर्ने, आफै“ले पकाएको खाना खाने प्रचलन थियो, तर अहिले यो प्रचलन बदलिएको छ । आफ“ैले गरेको उत्पादन प्रयोग गर्न तथा आफ“ैले पकाएको खाना खान सम्भव छैन । व्यवसायीकै भर पर्नुपरेको छ । व्यवसायीहरूले छिटो पैसा कमाउने नाममा ज्यादती गर्न खोज्नुलाई अस्वाभाविक मान्नु हुन्न । यस्तो प्रवृत्ति नियन्त्रण गर्ने भनेको छ राज्य संयन्त्रले नै हो ।
प्रतिक्रिया