हाल राजाजस्ता भएका छन्, कमरेड केपी, प्रचण्ड, बादल र विद्यादेवी भण्डारी जस्ता व्यक्तिहरू । हिजो यिनीहरूको हालत के थियो सबैलाई थाहा छ । आज यिनीहरू बाटामा हिँड्दा पनि जनताले घन्टौ सास्ती भोग्नुपर्छ । नयाँ राजाहरू धेरै जन्मेका छन् । राज्यको आर्थिक स्रोतको दोहन पहिला नारायणहिटीबाट हुन्थ्यो । आज नयाँ राजाहरूले राज्यको स्रोत लुट्नसम्म लुटेर मकैसरी पैसा बाँडिरहेका छन् । कार्यकर्ताहरू आफूखुसी पोसिरहेका छन् । जनताको मत लिएर जनताको करमा जथाभावी मोजमस्ती गरेका उपचार गर्न गराउन विदेश जान्छन् यिनीहरू । कर तिर्ने र भोट हाल्ने जनता खाल्डे सडक, धुलो, हिलो र धूवाँमा महँगो रासन किनेर कठिन जीवन बिताइरहेका छन् ।’
नेपाल आउने विदेशी पर्यटकहरूलाई सबैभन्दा बढी दुःख दिने काठमाडौंको धुलो नै हो । पानी परेपछि सडक हिलाम्मे हुन्छ । घाम लाग्नेबित्तिकै कुहिरो मण्डल धुलो । थोत्रा गाडीले फ्याक्ने धुवाँ मिसिएपछि त झन् सासै फेर्न कठिन । कसरी बाँचिरहेका छौँ हामी । झन् सफा वातावरणमा बसेका विदेशी पर्यटक त धूवाँधुलोकै कारण भ्रमण छोट्याउनसमेत बाध्य छन् । डाक्टरले भन्छन्, धूवाँबाट बच्नु । हामी जाने कता ? यस्तै छ नेपालका अन्य ठूलो सहरका अवस्था पनि । फोहोर व्यवस्थापन भएको पाइँदैन ।
केही दिनअघि यस पंक्तिकार धनगढीबाट फर्कँदै गर्दा काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल नजिक आइसकेपछि धूलोको गन्ध आयो । मलाई मात्रै हो कि ? भनेर सँगै बसेकी विदेशी पर्यटकलाई सोधेँ, उनलाई पनि मलाई जस्तै भएको रहेछ । यस्तो स्थितिमा काठमाडौं महानगरपालिकाले इटालीबाट पाँचवटा ब्रुमर ल्याएर सहर सफा गर्ने काम थालेको छ । ढिलै भए पनि महानगरको होस आएछ । काठमाडांै उपत्यकाका चोक र गल्ली कच्ची छन् । पहिला गल्लीमा इँटा, ढुंगा राखेर मूल सडकमा ब्रुमर दौडाए सडक सफा होला कि ? भन्ने जनताको अपेक्षा छ । धुलोको स्रोत रहेसम्म ब्रुमर कुदाउनुको कुनै अर्थ छैन । ‘माटोको सडकमाथि ब्रुमर कुदाएर धुलोको समस्या समाधान हुनेवाला छैन, फुजुल खर्च मात्रै हो ।’ यो सुझाव त्यतिवेलै पर्यटन व्यवसायीहरूले दिएका थिए । आज पुष्टि भएको छ ।
सरकारले केहीमहिना अघि विदेशी र स्वदेशी लगानीकर्तालाई ललिपप देखाएर नेपालमा लगानी गर्न आग्रह ग¥यो । लगानी सम्मेलन भव्यताका साथ सम्पन्न भयो । तर, लगानी गर्नेलाई कामदार त चाहिएला । स्वदेशका युवायुवती साउदी अरब, मलेसिया, जापान, कोरिया र अस्ट्रेलियालगायतका देशमा पलायन भइरहेका छन् । नेपालमा बहुराष्ट्रिय कम्पनी खुले काम गर्ने कसले ? फेरि चन्दा आतंक, बम बिस्फोट र गोलीकाण्डको बीचमा लगानीकर्ताहरू आकर्षित होलान् ? अर्कोेतिर सधैँ दुर्घटना हुने सडक, बारम्बार बत्ती जाने, झुत्रा तार, भ्रष्ट र घुस्याहा कर्मचारी र भ्रष्टाचारमा लिप्त नेताहरू भएको देशमा लगानी आकर्षित कसरी होला ? मैले सुनेकी छु– ‘कसैले नेपाल बन्दको आयोजना गरेको दिन तोडफोड तथा आगजानी भएका सवारीसाधनलाई बिमा कम्पनीले भुक्तानी दिँदैन रे ।’ यदि यो सत्य हो भने नेपाल बन्दलाई नीतिगत रूपमै प्रोत्साहत गरिएको ठहर्दैन र ?
यसैगरी, पर्यटन व्यवसायमा वैदेशिक लगानी आवश्यक छ कि छैन ? आवश्यक छ भने कुन कुन सेक्टरमा आवश्यक छ ? त्यसबारे सरकारले पर्यटन व्यवसायीसँग अन्तरक्रियासम्म गरेको छैन । विदेशीहरूले नेपालमा होटल खोल्ने, त्यो देशका पर्यटकहरू आएर त्यही होटलमा बस्ने, होटलवालाहरूले आफ्नै देशमा सिधै रकम जम्मा हुने गरी पर्यटकबाट कार्ड घोटेर भुक्तानी लिने अवस्था उत्पन्न भयो भने के होला ? पोखरामा चिनियाँ होटलवालाहरूले आफ्नो मुलुकका पर्यटकहरूका लागि यही प्रणाली लागू गरेका कारण आफूहरू आजित भएको स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन् । यस्तो अवस्थामा नेपालले विदेशी पर्यटकबाट पाउने भनेको फोहोर मात्रै हो ।
शान्ति सुरक्षाको व्यवस्था, खानेपानीको प्रचुरता र वातावरण प्रदूषणमा सुधार हुने हो भने नेपालमा पर्यटन व्यसायको भविष्य निकै उज्ज्वल छ । वैदेशिक लगानी आवश्यक नै छैन । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको केही महिनामै सञ्चालनयोग्य हुँदैछ । भैरहवा विमानस्थल निर्माण सम्पन्न हुनासाथ राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले केही महिनाअघि भित्र्याएका नयाँ दुई वाइडबडी विमानले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्नसक्ने सम्भावना छ । पर्यटकीय पूर्वाधारको महत्वपूर्ण पाटो पर्यटकस्तरदेखि तारे तथा चेन होटल धमाधम निर्माण भइरहेका छन् । सन् २०१९ सम्म निर्माणाधीन अधिकांश होटल बनिसक्ने छन् । हालको पर्यटकीय पूर्वाधारबाटै २५ लाख पर्यटकलाई सेवा दिन सकिने पर्यटन व्यवसायीहरूको विश्वास छ ।
होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष अमरमान शाक्य पर्यटन प्रवद्र्धनात्मक गविविधि केही सुस्त देखिए पनि सन् २०२० सम्ममा वार्षिक २० लाख पर्यटक भित्र्याउन गाह्रो नहुने बताउँछन् । उनी भन्छन्– ‘हामी अहिले नै २५ लाख पर्यटकलाई धान्न सक्छौं, तर २० लाखको लक्ष्यले मात्रै पुग्दैन पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्छ, सरकार र निजी क्षेत्रले सक्रियता बढाउनुपर्छ ।’ अहिले होटलको ‘बेड’ संख्या ३७ हजार छ । सन् २०२० सम्म पाँच देखि ६ हजार बेड संख्या थपिने अध्यक्ष शाक्यको भनाइ छ । अहिलेको अवस्थामा एउटा पाँच तारे होटल खोल्न कम्तीमा १० अर्ब लगानी आवश्यक पर्ने हानले जनाएको छ । काठमाडौँ उपत्यका र बाहिर गरी १० वटा पाँच तारे होटल निर्माण भइरहेका छन् ।
केरूङ– काठमाडौं रेल मार्गको लागत करिब तीन खर्ब रूपैयाँ अनुमान गरिएको छ । यदि, यो रेल मार्ग हुँदै वार्षिक १० लाख चिनियाँ पर्यटक आउने सुनिश्चित हुने हो भने तीन खर्ब रूपैयाँ लगानी गर्नु नेपालका लागि ठूलो कुरा होइन । विश्व पर्यटन संघका अनुसार सन् २०१६ मा साढे १३ करोड चिनियाँ पर्यटक देश बाहिर घुम्न निस्के र तिनीहरूले कुल दुई सय ६१ अर्ब अमेरिकी डलर खर्च गरेका थिए । अर्थात् नेपालको कुल गार्हस्थ उत्पादनको करिब ९ गुणा र भारतको जिडिपीको ९ प्रतिशत त चिनियाँहरूले घुमेर खर्च गरे । त्यसैगरी, २०१७ मा तिब्बतमा मात्र साढे दुई करोड पर्यटकले भ्रमण गरे । तीमध्ये १० प्रतिशत मात्र नेपाल आए भने पनि २५ लाख पर्यटक आउनेछन् । चिनियाँहरू बुद्ध धर्मका अनुयायी भएकाले नेपालको लुम्बिनी र भारतको बोधगयासम्म भ्रमण गर्न चाहन्छन् ।
सातौँ शताब्दीमा नै चिनियाँ भिक्षु ह्वाङसानले बुद्धबारे थप जान्न नेपाल र भारतको भ्रमण गरेका थिए । यसकारण सहज यातायातको पूर्वाधार हुने हो भने चिनियाँ पर्यटकहरूको भ्रमणले ल्याउने दिगो आर्थिक विकास रेलमार्ग निर्माणमा लाग्ने खर्चको तुलनामा निकै बढी हुन्छ । पर्यटन मन्त्रालयले ०७१ मा गरेको अध्ययन अनुसार ६ जना पर्यटकले १ जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गरेको देखियो । अर्थात्, यो रेलमार्ग निर्माण गरेका कारणले मात्र ६ लाख थप पर्यटक आए भने १ लाख थप नेपालीले रोजगारी पाउँछन् ।
२५ लाख थपिएमा ४ लाख बढीले रोजगारी पाउँछन् । यस बाहेक अप्रत्यक्ष क्षेत्रहरू कृषि, सेवा र औद्योगिक क्षेत्रमा सिर्जना हुने थप रोजगारीले नेपालको आर्थिक विकासमा कायापलट ल्याउन सक्छ । अरू कुनै उद्योगबाट यतिका रोजगारी सिर्जना गर्न रेलमार्गमा लाग्नेभन्दा ठूलो लगानी आवश्यक पर्छ । जसरी भारतसँगको व्यापार घाटा कम गर्न जलविद्युत् निर्यातको सम्भावना बढी छ त्यसैगरी, चीनसँगको व्यापार घाटा कम गर्न पर्यटकीय सम्भावना बढी छ ।
(लिम्बू पर्यटन व्यवसायी हुन् ।)
प्रतिक्रिया