काठमाडौं । पछिल्लो ६ महिनाको अवधिमा १० पटक रात्रिकालीन अभियान चलाएर काठमाडौंका सडकमा पुगेका बालबालिकाको खोजी भयो ।
उक्त अभियानमा उद्धार गरिएका एक सय ५६ बालबालिकामध्ये १५ जना मात्रै परिवारमा फर्किन चाहे । घर जान नमान्ने एक सय ४१ बालबालिका उपत्यकाका विभिन्न पुनःस्थापना गृहमा राखिएको छ । ठमेलमा भेटिएका १५ वर्षीय एक बालकको सडकमा हिँड्न एउटा समूह नै छ । तर, कोही पनि घर जाने मनस्थितिमा छैनन् ।
उनले भने, ‘सडक नै रमाइलो छ, घरमा यस्तो हुँदैन, त्यही भएर जान्नँ ।’ केही वर्षदेखि सडकको फोहरमा रमाउने अनि ‘डेन्ड्राइट–ग्लू’ सुँघेर नशामा बानी परेका बालबालिका भने झन् घरको नामै सुन्न चाहँदैनन् । डेन्ड्राइडलाई प्लास्टिकको थैलोमा राखेर सुँघ्ने अनि नशामा लठ भएर बस्ने, सडकमा मागेर हिँड्ने, चोरी गर्ने, फोहरको थुप्रोबाट खानेकुरा टिपेर खाने, कवाडीका सामग्रीहरू खोजेर बिक्री गर्ने उनीहरूको दैनिकी हो ।
यस्ता बालबालिका घर जानै मान्दैनन् । घर जानुपर्ने कहरले कतिले आफ्नो ठेगाना बताउँदैनन् । घरमा बुबाआमाको कुटाइ खानुपर्ने कारणले पनि घर नजाने अवस्था रहेको र बाबुआमा नै नभएका बालबालिका पनि घर जान मान्दैनन् । केन्द्रीय बालकल्याण समितिका सूचना अधिकारी रामबहादुर चन्द भन्छन्, ‘त्यस्ता बालबालिकालाई घर फर्काउन गाह्रो छ, पुनःस्थापन गरिएका बालबालिकासमेत पुनः सडकमै फर्किएका छन्, हाम्रो प्रयास चाहिँ जारी छ ।’
बालबालिका खोजतलास समन्वय केन्द्रले काठमाडौँ उपत्यकामा भेटिएका घर जान नमान्ने बालबालिकालाई कुलतबाट छुटाउन पुनःस्थापना केन्द्रमा राख्ने गरेको छ । ‘कुलतबाट निस्किएपछि ठाउँ ठेगाना बताउने अवस्थामा पुग्न सक्छन्, अनि परिवार खोजेर जिम्मा लगाइन्छ, नभए उनीहरूलाई बाल संरक्षण केन्द्रमा राखेर शिक्षादीक्षाको कार्यक्रम सञ्चालन हुन्छ’, केन्द्रका प्रमुख प्रहरी निरीक्षक मोहनविक्रम दाहालले भने ।
परिवार भएका ६० प्रतिशतभन्दा बढी बालबालिका सडकमा पुगेको बालकल्याण समितिको अध्ययनले देखाएको छ । कतिपय लहलहैमा लागेर सडकमा पुग्छन् । सडकमा पुग्ने र बालश्रममा पर्ने करिब ६० प्रतिशत बालबालिकाको परिवार विखण्डनमा परेको पाइएको छ ।
बाबु विदेशमा भएको र आमाको दोस्रो बिहे भएपछि कतिपय सडकमा पुगेका छन् । बाबुले अर्को बिहे गरेपछि बालबालिका घर छाड्न बाध्य भएका पनि छन् । बाबुआमा भएकाहरू देखासिकीमा राम्रो खाने, घुम्ने र रमाइलो गर्ने चाहनामा घर छाड्ने पनि छन् ।
मुख्यतः आर्थिक अवस्था कमजोर, पारिवारिक बेमेल, मदिरा सेवन, घरेलु हिंसा, आमा अर्कैसँग गएपछिको समस्या, अशिक्षा तथा वैदेशिक रोजगारीलगायतका कारणले बालबालिकाहरू सडकमा पुग्ने गरेका छन् । अघिल्लो वर्ष काठमाडौँबाट आठ सय ७३ बालबालिकालाई सडकबाट उद्धार गरिएको थियो । तर, सडकमा बालबालिका आउने क्रम भने नरोकिँदा समस्या कायमै छ ।
नेपालको संविधान २०७२ को मौलिक हकअन्तर्गत धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हकको व्यवस्था छ । धारा २९ मा शोषणविरुद्धको हक तथा धारा ३९ मा शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारको हकको व्यवस्था छ । बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ७ मा जोखिममा परेका र सडक बालबालिकाको सुनिश्चित भविष्यका लागि राज्यबाट विशेष संरक्षण पाउने हक हुने उल्लेख छ ।
सडकबालबालिका उद्धार संरक्षण तथा व्यवस्थापन मार्गदर्शन २०७२ ले सडक बालबालिका उद्धार संरक्षण र पुनः एकीकरणलगायतमा सरकारलाई जिम्मेवार बनाएको छ । तर, पनि बालबालिका जोखिममा पर्ने क्रम भने रोकिएको छैन । बालबालिका सडकमा आउन नदिने कार्यक्रमका विषय भने गौण छ ।
प्रतिक्रिया