मोबाइल एप्सबाट ५ मिनेटमै घरमा आउँछ ट्याक्सी

काठमाडौँ । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले मोबाइल एप्समा आधारित ट्याक्सीसेवा दिन सुरु गरेको छ । उपत्यकाका ५ हजार भन्दा बढि स्वरोजगार ट्याक्सी चालकहरु आबद्ध समाजले आफ्ना यात्रुहरुको सुविधाका लागि प्रविधिमा आधारित ट्याक्सी सेवाको सुरुवात गरेको हो ।

प्रविधिको बढ्दो प्रयोगलाई अंगिकार गर्दै समाजले मोबाइल एप्स ‘इजीट्याक्सीनेपाल’ मार्फत वैशाखदेखि नै यात्रुहरुलाई दिने सेवाको परिक्षण गर्दै आएको छ । अब भने समाजले इजीट्याक्सीनेपालमामा आबद्ध ट्याक्सीहरुमार्फत प्रविधिमा आधारित रहेर यात्रुले सेवा लिन सकिने घोषणा गरेको छ । इजीट्याक्सीनेपाल ट्याक्सीसेवा हाल काठमाडौँ उपत्यकाभरी संचालनमा आईसकेको छ ।

यसको लागि ‘इजीट्याक्सीनेपाल एप्सको सेवाका लागि यात्रुले सो एप्स डाउनलोड गरेर आफूलाई दर्ता गर्नपर्ने हुन्छ । यसको लागि कस्टमर लगइन रजिस्टर बनाईएको छ भने यात्रुले लगइन गरेपछि त्यसमा रियलटाइम म्यापमा आफू बसेको स्थान देखिन्छ भने जाने गन्तव्य छनौट गर्नुपर्दछ ।

यात्रुले एप्समा गरेको अनुरोधको आधारमा सो क्षेत्रमा नजिक भएका ट्याक्सी चालकहरुले सोहि एप्समार्फत सो अनुरोधलाई स्विकार गर्नेछन् । त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिनेछन् । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वा छानेले भने, ‘अब नेपालमा पनि प्रविधिमा आधारित ट्याक्सी सेवा सुरु भएको छ ।

सरकारले पर्यटकहरु नेपाल भित्र्याउन भिजिटनेपाल २०२० अभियान गर्दैछ भने इजीट्याक्सीनेपाल एप्सले पनि सोहि अभियानलाई साथ दिन प्रचास प्रसार गर्दै स्वदेशी र विदेशी पर्यटकहरुलाई यात्रुमैत्री सेवा प्रदान गर्नेछौँ ।’ सफ्टवेयर कम्पनीको सहयोगमा तयार पारिएको एप्सबाट यात्रुले अनुरोध गरेपछि ट्याक्सीले यात्रु भएकै स्थानमा ५ मिनेटमा नै पुगेर सेवा दिने अध्यक्ष छानेले स्पष्ट पारे ।

पहिलो चरणमा २७ सय भन्दा बढि ट्याक्सीमार्फत सेवा सुरु गरिएको छ भने अन्य ट्याक्सी तथा चालकहरु सो एप्समा जोडिँदै छन् । हालको लागि यात्रुले सो एप्समा लगइन गरेर यात्रा गर्दा नगदमा नै भुक्तानी गर्न सक्नेछ भने छिटै डिजिटल वालेटमार्फत पनि भाडा भुक्तानी गर्न सक्ने सुविधाको तयारीमा लागेको छ ।

इजीट्याक्सीनेपालको सेवाको लागि आगामी दिनमा कलसेन्टरमार्फत अफलाइन सेवाअन्तरगत बुकिङ गर्नुपरेमा, अन्य स्थानहरुमा विशेष भ्रमण प्याकेज चाहिएमा, लामो अवधिसम्म ट्याक्सीसेवा चाहिएमा सेवा दिईनेछ भने यो एप्स र यसको प्रयोगको बारेमा जानकारी लिन सक्नेछन् ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तान (तामाङ), ले काठमाडौँको अहिलेको सेवा शुल्कमा प्रविधिमा आधारित रहेर ट्याक्सीसेवा संचालन गर्न निकै कठिन भएपनि चालकहरुका साथै सबैको सहयोगमा इजीट्याक्सीनेपाल एप्स संचालनमा ल्याएको बताए ।

‘अहिलेको ट्याक्सीको भाडादर वैज्ञानिक छैन् भने धेरै वर्षदेखि ट्याक्सी भाडादर समायोजन गरिएको छैन्, तर पनि एप्समार्फत यात्रुहरुलाई उचित मूल्यमा सेवा दिने प्रयास गरेका छौं,’ महासचिव मोक्तानले भने । इजीट्याक्सीनेपाल एप्समा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका सबै सदस्य चालकहरु क्रमशः दर्ता हुनेछन् भने यात्रुले दिउँसो र राती दुबै सिफ्टमा सेवा प्राप्त गर्नेछन् ।

त्यसैगरि यो एप्समा आबद्ध भएका चालक र यो एप्समार्फत सेवा लिने यात्रु दुबैको ५ लाख रुपैयाँको दूर्घटना बीमा गरिएको छ । समाजले इजीट्याक्सीनेपाल एप्समा आधारित ट्याक्सीसेवा आगामी दिनमा अन्य शहरी क्षेत्रहरुमा पनि बिस्तार गर्ने योजना लिएको छ । इजीट्याक्सीनेपाल एप्स हाल एन्ड्रोयड प्ले स्टोरमा मात्र रहेको छ निकट भविश्यमा नै एप्पलको एपस्टोरमा उपलब्ध हुनेछ ।

काठमाडौँ उपत्यकाभर आफ्नो सेवा संचालन गरिरहेको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज २०७५ सालदेखि संगठितरुपमा सक्रिय रहेको छ । यसले ट्याक्सीसेवालाई बिकृतीमुक्त बनाउने, चालकहरुलाई जिम्मेबार बनाउने र ट्याक्सीसेवालाई भरपर्दो र विश्वसनिय बनाउन यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ट्याक्सी धनी, ट्याक्सी चालक र नागरिक समाजसँगको सहकार्यमा विभिन्न कार्यक्रम तथा गतिबिधिहरु गर्दै आएको छ ।

प्रतिक्रिया